लिपुलेक विवाद चीनसँग कुरा गरेपछि रिसायो भारत, प्रधानमन्त्रीको भ्रमण अनिश्चित !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अनिश्चित बनेको छ । लामो प्रयासपछि बल्ल तय भएको भ्रमण प्रधानमन्त्रीको चीन भ्रमण लगत्तै अनिश्चित भएको नेपालको परराष्ट्र मामिलाको विज्ञहरू बताउन थालेका छन् ।
ओलीले चीनका राष्ट्रपति सी चीनफीङसँग नेपाल र भारतबीच विवाद रहेको लिपुलेकको जमिनबारे कुरा गरेका थिए । यस क्षेत्रको प्रयोग गर्न चीन र भारतले सहमति गरेका थिए ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने मिति तय भएको थियो। उक्त मिति सर्न सक्ने भनेर भारतीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन्।
भारतीय अनलाइन द प्रिन्टले सेप्टेम्बरमा प्रधानमन्त्री ओलीको भारत नहुने सम्भावना रहेको भनेर बिहीबार समाचार लेखेको छ।
लिपुलेक नाकाबाट व्यापार गर्न चीन र भारतले सहमति गरेपछि नेपालले उक्त भूमि आफ्नो भएको प्रतिक्रिया दिएको थियो। सोही कारणले भ्रमण अनिश्चित भएको समाचारमा उल्लेख छ।
चीन र भारतबीच लिपुलेकबाट व्यापार गर्न सम्झौता गरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी उक्त भूभाग नेपालको अभिन्न भूभाग रहेको भनेको थियो।
त्यसपछि भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उक्त भूभागमा नेपालको दाबी नपुग्ने बताएको थियो।
प्रधानमन्त्री ओलीको सचिवालयले भने भारत भ्रमणको मिति नै तय नभएकाले पर सर्ने भन्ने विषय नै नहुने दावी गरेकाे छ ।
२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको छैन।
भ्रमणका लागि नेपालले विभिन्न कुटनीतिक प्रयास गर्दा पनि यसअघि भारतले निम्ताे नै पठाएकाे थिएन ।
प्रतिकृया दिनुहोस