• २०८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025

जेन–जीकाे मन्त्री छान्ने तरिका छुट्टै, यसरी छान्दै छ

काठमाडाैं । भ्रष्टाचारविरुद्धको आन्दोलनबाट सत्तापलट गरेका जेन–जी युवाले अनलाइन भोटिङमार्फत सबैभन्दा रुचाइएका ‘क्यान्डिडेट’लाई प्रधानमन्त्री छनोट गरेका थिए ।

उनीहरूले यही विधिबाट मन्त्रीहरू छान्दै छन् । केही नेता कोठाभित्र बसेर कोटको खल्तीबाट मन्त्री छान्ने पुराना दलको अभ्यासविपरीत जेन–जीले आमनागरिकबाट प्रस्ताव गरिएका व्यक्तिलाई सामाजिक प्लाटफर्म ‘डिसकर्ड’मार्फत भर्चुअल र खुला मत लिएर मन्त्री छान्ने भएका हुन् । 

प्रधानमन्त्री सुशीला कार्कीलाई पनि २५ भदौमा डिसकर्डमा १० हजारभन्दा बढी युवाहरूको प्रत्यक्ष भर्चुअल सहभागिता र खुला मतदानमार्फत छनोट गरिएको थियो । युवाहरूको मतदानलाई लाखौँ जनताले विभिन्न सामाजिक सञ्जालबाट हेरेका थिए । प्रतिस्पर्धामा सागर ढकाल, हर्क साम्पाङ, महावीर पुनलगायत रहेकामा कार्कीले ५० प्रतिशत मत पाएर प्रधानमन्त्री बनेकी थिइन् । 

जेन–जीका अगुवा सुदन गुरुङ सुशीला कार्कीलाई प्रधानमन्त्रीमा छनोट गर्दा अपनाइएकै विधिबाट मन्त्रीहरू पनि छानिने बताउँछन् । ‘सुशीला म्यामलाई पनि डिसकर्डमा पोलिङ गरेर छनोट गरेको हो । यसले सम्पूर्ण जेन–जी युवाको भावना प्रतिनिधित्व गरेको छ । हजारौँ जनताले प्रत्यक्ष हेरेको छ । जनताले छानेको हो,’ उनले भने, ‘प्रधानमन्त्री जसरी छानियो मन्त्रीहरू पनि त्यही प्रोसेसबाट चुन्ने कुरा भएको छ ।’

गुरुङका अनुसार अनलाइन मतदान गर्न युवाहरूको आइटी टिम सक्रिय छ । उक्त टिमले सबै युवालाई जोडेर पोलिङ गराउँछ । तर, मतदान गर्नुअघि सम्भावित उम्मेदवारहरू तय गर्न उनीहरूको पृष्ठभूमि, विज्ञता, दलीय आबद्धतालगायत जाँच गरिन्छ । यी परीक्षणमा पास भएपछि मात्रै मन्त्रीको उम्मेदवारका रूपमा भोटिङका लागि प्रस्ताव गरिने उनले बताए । 

‘सबैभन्दा पहिले कसलाई मन्त्री बनाउँदा ठिक हुन्छ भनेर आमनागरिकलाई सार्वजनिक आह्वान गर्छौँ । विभिन्न माध्यमबाट उहाँहरूले प्रस्ताव गर्नुहुन्छ । नागरिकले प्रस्ताव गरेकामध्येबाट सम्भावित उम्मेदवारबारे हाम्रो मापदण्डअनुसार स्क्रिनिङ गर्छौँ । पृष्ठभूमि, विज्ञता, दलको मान्छे हो कि होइन, के कस्तो हो सबै हेरिन्छ । पार्टीगत हुनुभएन, स्वतन्त्र हुनुपर्‍यो भन्ने हाम्रो मापदण्ड छ । त्यस्तै, उच्च छवि भएको, जनताको समस्यालाई बुझेर समाधान गर्न सक्ने व्यक्ति हुनुपर्छ,’ गुरुङले भने, ‘यस आधारमा स्क्रिनिङमा छनोट भएपछि पोलिङ (भोटिङ) सुरु हुन्छ ।’ 

पोलिङमा सबैभन्दा धेरै भोट प्राप्त गर्ने उम्मेदवार मन्त्री बन्ने उनले बताए । ‘डिसकर्डमार्फत भोटिङ हुन्छ । प्रतिस्पर्धीमध्ये जसको धेरै भोट आउँछ, उही मन्त्री बन्छ । मानौँ स्वास्थ्यमन्त्रीका लागि स्क्रिनिङमा पाँचजना छनोट भए भने पोलिङमा जसको धेरै भोट आउँछ, उही मन्त्री बन्छ,’ गुरुङले भने, ‘स्वच्छ छवि र स्वतन्त्र व्यक्तित्व भएका विज्ञहरू राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिइन्छ । प्रधानमन्त्रीको चाहना पनि यही छ ।’ मन्त्रिपरिषद् सकेसम्म सानो आकारको बनाउने योजना रहे पनि निर्णय भइनसकेको उनले बताए । 

गुरुङले युवाहरूको सहभागितामा योग्य व्यक्तिहरूलाई मन्त्री बनाउने बताए । ‘हामीलाई पहिला सुशीला कार्की को हो भन्ने थाहा थिएन । हाम्रो उमेरको ल्याउनुपर्छ भनेर लागेको हो । युवाहरूले देश बनाउँछ, तर अभिभावक चाहियो भनेर युवा साथीहरूले नै पारदर्शी हिसाबले उहाँलाई छनोट गर्नुभयो । उहाँ कठोर अडानमा बस्ने मान्छे हो भनेर चुनिनुभएको हो,’ उनले भने, ‘अब मन्त्रीहरू पनि जेन–जी युवाकै सहभागितामा छान्छौँ ।’ गुरुङले आफू मन्त्री नबन्ने घोषणासमेत गरिसकेका छन् । 

अन्तरिम सरकारमा मन्त्रीका लागि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ, अधिवक्ता ओमप्रकाश अर्याललगायतको नाम चर्चामा छ । त्यस्तै, प्रधानमन्त्री बन्ने प्रयास गरेका धरानका मेयर हर्क साम्पाङले पनि जेन–जीले रोजे मन्त्री बन्ने इच्छा देखाएका छन् । 

तर, घिसिङले मन्त्री बन्ने विषयमा आफूसँग कसैले प्रस्ताव नगरेको बताए । ‘जेन–जीसँग मेरो सम्पर्क भएको छैन । त्यस्तो प्रस्ताव आएको पनि छैन । आयो भने सोच्छु,’ आन्दोलनमा मारिएकाहरूको द्वीप प्रज्वलन कार्यक्रममा उनले भने । त्यस्तै, अधिवक्ता अर्यालले पनि आफू मन्त्री बन्ने निचोडमा नपुगेको बताए । ‘मेरो बारेमा आएका कुरा साँचो होइन । मेरो निर्णय भएको छैन । के कस्तो जिम्मेवारी लिने भन्ने होला,’ उनले भने, ‘समग्रतामा हेरेर विचार गर्ने कुरा हो । निचोडमा पुगेको छैन ।’

प्रधानमन्त्री कार्कीले जेन–जी पुस्तालाई निराश नबनाउने र उनीहरूकै सल्लाहमा मन्त्रिपरिषद् बनाएर काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । ‘मैले हाम्रो जेन–जी युवालाई निराश बनाउँदिनँ । जेन–जीले मलाई प्रधानमन्त्री बनाएको हो । युवाले शासन गर्ने हिसाबले देश बनाउँछु । तपाईंको पूर्ण साथ चाहिन्छ,’ कार्कीले जेन–जी प्रतिनिधिसँगको छलफलमा भनेको गुरुङले बताए । 

शुक्रबार शपथ लिएर आएकी प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी छैनन् । उनी मन्त्रिपरिषद् विस्तारपछि मात्रै पदभार ग्रहण गरेर मन्त्रिपरिषद् बैठक राख्ने योजनामा रहेको स्रोतले बतायो । शनिबार उनले अस्पताल गएर आन्दोलनका घाइतेलाई भेटिन् भने आन्दोलनमा आगजनी भएको महाराजगन्ज प्रहरी वृत्तको निरीक्षणमा पुगिन् । जेन–जी युवाले सुरुमा सहिदका परिवार र घाइतेलाई भेटेर उनीहरूका कुरा सुन्ने र सम्बोधन गर्नुपर्ने माग राखेका थिए । त्यसैअनुसार कार्कीले घाइतेलाई भेटेर उनीहरूको कुरा सुनेकी थिइन् । 

जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ भन्छन्–स्वच्छ छवि र स्वतन्त्र व्यक्तित्व भएका विज्ञहरू राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिइन्छ
सबैभन्दा पहिले कसलाई मन्त्री बनाउँदा ठिक हुन्छ भनेर आमनागरिकलाई सार्वजनिक आह्वान गर्छौँ । विभिन्न माध्यमबाट उहाँहरूले प्रस्ताव गर्नुहुन्छ । नागरिकले प्रस्ताव गरेकामध्येबाट सम्भावित उम्मेदवारबारे हाम्रो मापदण्डअनुसार स्क्रिनिङ गर्छौँ । पृष्ठभूमि, विज्ञता, दलको मान्छे हो कि होइन, के कस्तो हो सबै हेरिन्छ । पार्टीगत हुनुभएन, स्वतन्त्र हुनुपर्‍यो भन्ने हाम्रो मापदण्ड छ । त्यस्तै, उच्च छवि भएको, जनताको समस्यालाई बुझेर समाधान गर्न सक्ने व्यक्ति हुनुपर्छ । यस आधारमा स्क्रिनिङमा छनोट भएपछि पोलिङ (भोटिङ) सुरु हुन्छ । डिसकर्डमार्फत भोटिङ हुन्छ । प्रतिस्पर्धीमध्ये जसको धेरै भोट आउँछ, उही मन्त्री बन्छ । मानौँ स्वास्थ्यमन्त्रीका लागि स्क्रिनिङमा पाँचजना छनोट भए भने पोलिङमा जसको धेरै भोट आउँछ, उही मन्त्री बन्छ । स्वच्छ छवि र स्वतन्त्र व्यक्तित्व भएका विज्ञहरू राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिइन्छ । प्रधानमन्त्रीको चाहना पनि यही छ ।

शीतलनिवासमा यसरी जुटेको थियो सहमति 

जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौको दिउँसो केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै सेनाले शान्ति सुरक्षाको जिम्मा लिँदै अन्तरिम सरकारको नेतृत्व तय गर्न समन्वयको भूमिका पनि खेल्यो । लगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी अगुवाहरूलाई फेसबुकमा सम्बोधन गर्दै, ‘सेनासँग वार्तामा बस्न तयार रहनू, वार्ताअघि संसद् विघटन हुनुपर्छ’ भनेर लेखेका थिए । त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले जेन–जी प्रतिनिधिलाई वार्तामा आउन अपिल गरेका थिए । 

२५ भदौमा जेन–जीका छुट्टाछुट्टै समूह वार्ताका लागि जंगी अड्डा पुगे । उनीहरूले संसद् विघटन र अन्तरिम सरकार गठनलाई बटमलाइनका रूपमा प्रस्तुत गरे । त्यही दिन अनलाइन भोटिङबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि अनुमोदन गरेर सेनालाई पठायो । तर, धरानका मेयर हर्क साम्पाङले प्रधानमन्त्री बन्न इच्छा देखाए । उनले सोही दिन प्रधानसेनापतिलाई भेटेर आफ्नो पक्षमा सडकमा युवा पनि उतारे । तर, सेनाले जेन–जीको सिफारिसअनुसार कार्कीको नाम राष्ट्रपति पौडेलकहाँ पठाइदियो । 

२६ भदौमा राष्ट्रपतिले कार्की, सभामुख देवराज घिमिरे, कानुनविद् र प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरे । कार्कीलाई प्रधानमन्त्री बनाउन त सबै तयार भए, तर संसद् विघटन नगर्न दबाब दिए । संविधान र संसद्भित्रैबाट निकास खोज्न दलका नेताहरूको दबाब थियो । त्यसपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउन राजी भए पनि संसद् विघटन गर्न तयार भएनन् । राति ३ बजेसम्म पौडेल, कार्की, प्रधानसेनापति र अधिवक्ता ओमप्रकाश अर्यालबिच छलफल चल्यो । तर, राष्ट्रपति संसद् विघटनमा सहमत नभएपछि थप परामर्श गर्ने भनेर बिहानीपख उठे । 

‘कार्कीलाई प्रधानमन्त्री बनाउन सबै पक्ष तयार भए, तर जेन–जीले मुख्य माग बनाएको संसद् विघटन गर्न राष्ट्रपति तयार हुनुभएन । उता कार्कीले जेन–जीको माग पूरा नभएसम्म प्रधानमन्त्री नबन्ने अडान लिनुभयो,’ अधिवक्ता अर्यालले भने, ‘संसद् कसरी विघटन गर्न सकिन्छ भन्ने सबै विकल्पमा छलफल भए पनि राष्ट्रपति सकारात्मक नहुँदा १६ घण्टा लामो बैठकले निष्कर्ष निकाल्न सकेन ।’

शीतलनिवासमा म्याराथन बैठक चलिरहँदा जेन–जी युवाले बाहिरबाट खबरदारी गरिरहेका थिए । जेन–जीका अगुवा सुदन गुरुङले छलफलमा बसेका सेनाका अधिकारीलाई राति नै फोन गरेर ‘युवाहरू गोली खान तयार रहेको र राष्ट्रपतिलाई थुतेर सडकमा ल्याउने’ चेतावनी दिएका थिए । निर्णय ढिला भइरहँदा राजा ल्याउन लागेको हल्लाबिच गुरुङले छलफलमा बसेका अधिवक्ता अर्याललाई पनि फोन गरेर ‘राजाको हल्ला के हो ? संसद् विघटनको मुद्दा छाड्दैनौँ’ भन्दै सचेत गराएका थिए । जेन–जीको खबरदारीले राष्ट्रपति दबाबमा परे । सेनाले पनि युवाहरूको माग सम्बोधन नभए संकटकाल लगाएर आफूले ‘टेकओभर’ गर्नुपर्ने विकल्प राष्ट्रपतिसमक्ष राख्यो । राष्ट्रपतिपछि फेरि दलहरूसँग परामर्श गर्ने निष्कर्षमा पुगे ।

२७ भदौको बिहान ९ बजे बोलाइएको सर्वपक्षीय बैठक सारेर राष्ट्रपतिले परिस्थितिबारे दलका शीर्ष नेतालाई ब्रिफिङ गरे । बिहान ९ बजे नै राष्ट्रपति कार्यालय पुगेका जेन–जी अगुवा गुरुङ राष्ट्रपतिका प्रतिनिधिसँग वार्ता नगर्ने अडानमा बसे । राष्ट्रपतिले दलका नेताहरूबाट ग्रिन सिग्नल पाएपछि संसद् विघटनमा जानुपर्ने मनस्थिति बनाए । सोही दिन साँझ राष्ट्रपति, कार्की र जेन–जी प्रतिनिधिबिच भएको निर्णायक वार्तामा संसद् विघटन गर्ने सहमति जुटेको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । 

‘एकातिर जेन–जी युवाको माग, अर्काेतिर दलहरूको दबाबले सम्माननीयज्यू (राष्ट्रपति) चेपुवामा पर्नुभयो । निकास नदिए संकटकाल लगाएर टेकओभर गर्ने आर्मीको दबाब संवेदनशील थियो । यी सबै परिस्थितिमा सम्माननीयज्यू जेन–जीको मागअनुसार संसद् विघटन गर्न तयार हुनुभयो,’ ती अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय शक्तिको पनि चर्को दबाब थियो ।’ 

२७ भदौकै साँझ अन्तरिम सरकार गठन र संसद् विघटनमा सहमति जुटेपछि कुन धारा प्रयोग गर्ने भनेर मस्यौदा तय गरियो । धारा ६१ (४) अनुसार राष्ट्रपतिले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेर शपथ खुवाए । लगत्तै कार्कीले प्रतिनिधिसभा विघटन सिफारिस गरिन्, राष्ट्रपतिले स्वीकृत गर्दै २१ फागुनका लागि निर्वाचन तोकिदिए ।

संसद् विघटनका लागि धेरै फाइट गरेँ : सुदन गुरुङ
जेन–जीका अगुवा एवं ‘हामी नेपाल’का अभियन्ता सुदन गुरुङ सेना र राष्ट्रपतिसँग भएका वार्तामा सुरुदेखि नै अप्रत्यक्ष र प्रत्यक्ष संलग्न थिए । शुक्रबार (२७ भदौ) दिनभर राष्ट्रपति कार्यालयमा बिताएका उनले त्यहाँ संसद् विघटनका लागि लड्नुपरेको बताए । 

‘हामीले संसद् विघटनका लागि एकदमै फाइट गरेको हो । हाम्रो प्रधानमन्त्री, ओमप्रकाश अर्याल र आर्मी चिफसाबले पनि एकदम साथ दिनुभयो । अन्तत: गरेरै छोड्यौँ,’ उनले भने । गुरुङले संसद् विघटन गराउन आफू राष्ट्रपति कार्यालयमा पानीसमेत नखाएर अनशनमै बसेको बताए । ‘संसद् विघटन नभएसम्म केही खान्न भनेर बसेँ,’ उनले सुनाए । 

राष्ट्रपतिले दलहरूसँग बसेर छलफल गर भनेर सुशीला कार्की र आफूहरूलाई पटक–पटक भनेको गुरुङले बताए । ‘उहाँले दलहरूसँग बसेर वार्ता गर, संसद्बाटै ल्याउनुपर्छ भन्नुभयो,’ उनले भने, ‘हामी लडेर आएको हो । तपाईं को हो र हामीलाई अर्डर दिने ? हामीले धरातल टेक्नुपर्छ, तपाईंले कुन तरिकाले देश चलाउन खोजेको हो भनेर प्रश्न गर्‍यौँ ।’

राष्ट्रपतिले दलहरूसँग कुरा गर्न र संसद्बाट प्रधानमन्त्री ल्याउनुपर्छ भनेपछि युवाहरू थप आक्रोशित भएको उनले सुनाए । ‘संसद् विघटन भएन भने नयाँ रिभोलुसन हुन्छ, भ्रष्ट नेताभन्दा आर्मीबाट गोली खान तयार छौँ, त्यसपछि कसरी हुँदैन रिभोलुसन भन्यौँ,’ उनले भने । 

संसद् विघटनका लागि राष्ट्रपतिलाई राजी गराउन प्रधानसेनापतिको पनि ठुलो भूमिका रहेको गुरुङले बताए । ‘आर्मीको चिफसाबको रोल ठुलो थियो । उहाँहरूले गरेर खाउ भनेर युवाहरूलाई देश सुम्पेको छ । आर्मीको सपोर्टविना केही पनि हुने थिएन । युवाहरूलाई सपोर्ट गरेको छ,’ उनले भने । 

राष्ट्रपतिलाई केपी ओली, शेरबहादुर देउवा, प्रचण्डदेखि अन्तर्राष्ट्रियस्तरबाट समेत दबाब आएको सुनेको भन्दै नेताहरूको दबाबमा आफूहरूको माग सम्बोधन नगरिए ठिक नहुने भनेको गुरुङको भनाइ छ । ‘ओली, देउवा र प्रचण्डको दबाबमा तपाईं टेक्नुभयो भने राम्रो हुँदैन, उनीहरूको कुशासनको घर ध्वस्त भयो, पत्तासाफ भयो, उनीहरू अब आमनागरिक हो, उनीहरूको कुरा सुन्ने होइन भनेर राष्ट्रपतिलाई दबाब दिएको हो,’ उनले भने । 

गुरुङले अझै पनि प्रतिनिधिसभा विघटन लागू हुन नदिन षड्यन्त्र भइरहेको भन्दै फेरि युवाहरूलाई सडकमा आउन बाध्य नपार्न चेतावनी दिए । ‘नेताहरूको ज्यान जोगाएर छाडेका छौँ, संसद् विघटन उल्ट्याउन कोही लाग्यो भने, कसैले बाधा गर्‍यो भने धुलोपिठो बनाउन तयार छौँ,’ उनले चेतावनी दिए, ‘तिनीहरूसँग हतियार होला, हामीसँग बन्दुक नभए पनि खुकुरी छ । मेरो देशप्रति कसैले नराम्रो गर्छ भने जेन–जीले सिध्याउँछ ।’ 

नेताहरूले लुकाएर राखेको करोडौँ पैसा जनताले निकालेको भन्दै गुरुङले स्विस बैंकमा राखेको पैसा नेपाल ल्याएर सिंहदरबार पुनर्निर्माण गर्ने दाबी गरे । ‘नेताहरूले फाइल मेटाउन सर्वोच्च जलाए, सिंहदरबार जलाए,’ उनले भने, ‘भ्रष्टाचारविरुद्धको लडाइँ बाँकी नै छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर