राजीनामाका लागि २४ घण्टे अल्टिमेटम दिनेलाई राउतले भनेः ‘पार्टी छोडेहुन्छ’

काठमाडौं । मधेश केन्द्रीत नयाँ दल जनमत भित्रको रडाको एक पछि अर्को गरि सतहमा आइरहेको छ ।
अमेरिका छोडेर नेपालको राजनीति गर्न आएका भनेर सुरुमा रुचाइएका डा सीके राउत नेतृत्वको जनमत पार्टी विभाजनको डिलमा पुगेको छ ।
पार्टीका केही प्रभावशाली नेताहरुले आज संयुक्त रुपमा राउत र उनका सहोदर दाजु संगठन विभाग प्रमुख जेके राउतलाई २४ घण्टा भित्र राजीनामा दिन आव्हान गरेका थिए । त्यसको केही घण्टा नबित्दै अध्यक्ष सीके राउतले सामाजिक सञ्जालबाट जवाफा फर्काउँदै आफूलाई अल्टिमेटम दिनेहरुले पार्टी छोडेहुने प्रतिक्रिया दिएका छन् ।
उनले अगाडि भनेका छन्,'प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन। किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेनजी आन्दोलन छ, युवाहरूको रापताप छ।'
उनले पार्टीलाई स्वच्छ, वफादार, इमानदार र क्रियाशील सदस्यहरूको पार्टी बनाई शुद्धीकरण अभियानमा सहयोग गरिदिन आग्रह गरे ।
जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राउतकाे राजीनामा माग गरिएकाे थियाे ।
केन्द्रीय प्रवक्ता डा.शरतसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी, र राष्ट्रिय परिषद् सदस्य विक्रम बहादुर बमले राउतको राजीनामा मागेका हुन् ।
प्रतिकृया दिनुहोस