• २०८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025

जेनजी आन्दोलनबारे प्रचण्डले भनेः प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले नै व्यवस्था गर्न सकिन्थ्याे (भिडियाे)

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश र जनताविरूद्धका षड्यन्त्र नसकिएको र अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरू भएको बताएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले नै व्यवस्था गर्न सकिने अवस्था भएपनि हुन नसकेकाे उनले टिप्पणी गरे ।

बिहीबार संविधान दिवसकाे सन्दर्भसमेत पारेर उनले एक भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘देश र जनता विरुद्धका षड्यन्त्र सकिएका छैनन्। अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरू भइसकेको छ। चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुन सक्छ। हामी घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं।’

सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधि सभा चुनाव घोषणा गरेको छ।

अध्यक्ष प्रचण्डले  देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि अबका दिन निरन्तर चुनौतीपूर्ण हुने पनि बताएका छन्।

‘हाम्रो स्पष्ट मत छ, संविधान र लोकतान्त्रिक गणतन्त्र एवं यसका आधारभूत मान्यताभन्दा पछाडि फर्केर हामी समाधानमा होइन, थप संकटमा पुग्छौं,’ उनले भने, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। इतिहासको चिहानमा मिल्काइएकाहरूले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन्। त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको छ।’

उनले संविधान र लोकतन्त्रको रक्षामार्फत् राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताए। 

जेन–जी आन्दोलनको बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भए पनि त्यसो हुन नसकेको उनले बताए।

‘देशका अरू आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्थ्यो। त्यसपछि बरु संसद विघटनबारे सोच्न सकिन्थ्यो तर आज जेन–जी आन्दोलनको उपलब्धि  केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरुप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो,’ संविधान दिवसको पूर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले भने।

उनले दस वर्षअघि माओवादीले दर्ज गरेका फरक मत र अहिले जेन–जी आन्दोलनले राखेका मागमा समानता रहेको पनि बताए।

‘त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन, हामीले सम्झौता गर्नुपर्यो तर, हामीले हाम्रा असहमतिहरूलाई लिखित फरक मतका रुपमा इतिहासको अदालतमा दर्ज गरेका थियौं। अहिले जेन–जीले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिबेलैको सबैभन्दा मुख्य फरक मत थियो। पैसाको खोलो बग्ने र भुइमान्छेले चुनाव लड्ने कल्पनै गर्न नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौं। हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौं,’ उनले भने।

पूर्वप्रधानमन्त्रीका रुपमा वा प्रमुख प्रतिपक्षी दलको नेताका आफूले कांग्रेस र एमालेका नेतृत्वलाई जनताको आवेग र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरेको पनि उनले बताए।

‘प्रतिपक्षका रूपमा संसदमा हाम्रो जत्रो आकार थियो, त्योभन्दा धेरै नै ठूलो प्रतिरोध हामीले गर्यौं। कुशासन, भ्रष्टाचार, पक्षपात, शासकीय दम्भ र अत्याचारविरुद्ध हामी सडकदेखि सदनसम्म लड्यौं। राजनीतिक दलका रुपमा जेन–जी आन्दोलनका मागमा पहिलो समर्थन पनि हामिले नै गर्यौं। आन्दोलनमा चरम दमनपछि २३ गते साँझ नै हामीले प्रधानमन्त्रीको राजीनामा मागेका हौं,’ उनले भने, ‘संसद विघटनको विधि र प्रक्रियामा असहमत हुँदाहुँदै पनि अन्तरिम सरकारको नेतृत्वका लागि राष्ट्रपतिज्यूसँग सहजीकरणमा प्रचण्ड र माओवादी केन्द्रको के कस्तो भूमिका रह्यो त्यो सबैमा स्पष्ट नै छ। म यत्ति भन्छु, मेरा लागि जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेबलबाट पूरा गर्न नसकेका एजेण्डाहरूकै अभिव्यक्ति हो।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर