अहिलेकाे अवस्थामा निकास संविधानभित्र खोज्न सकिन्छ: देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताएका थिए।
उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट संविधान जारी भएको बताएका हुन्। उनले संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको बताएका छन्।
संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितीमा उत्पन्न राजनीतिक जटिलताको समाधान दिने बताएका हुन्।
'मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै छ,' उनले भनेका छन्।
संविधानबाहिर गए मुलुक अझै अस्थिरतातर्फ धकेलिने देउवाले बताएका छन्।
' राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ ,' उनले भनेका छन्।
उनले असोज ३ र संविधान नेपाली जनताले पटक–पटक गरेको क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए।
संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महशुस गर्दै प्रत्येक वर्ष हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएको उनको सन्देशमा उल्लेख छ।
प्रतिकृया दिनुहोस