• २०८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025

‘देशमा शोक छ, खण्डहर बनेको शीतल निवासमा 'भोज' छ’

काठमाडौं । देशमा व्याप्त भ्रष्टाचार लगायतका विषयमा जेनजी आन्दोलन उठेको धेरै भएकै छैन । आन्दोलनका क्रममा ७० भन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाए ।

सरकारले शोकका लागि एक दिन सार्वजनिक बिदासमेत दियो । भदौ २३ र २४ गते नेपाली नागरिकले ज्यान मात्रै गुमाएनन् तोडफोड र आगलागीबाट राज्यका सैनिक ब्यारेक बाहेक कुनै पनि निकाय सग्लो छैनन् भन्दा हुन्छ । 

देशकै अवभिावक राष्ट्रपति कार्यालयसमेत जेनजी आन्दोलनका क्रममा अगलागीमा पर्दा अहिले पनि खण्डहर जस्तै अवस्थामा छ । तर आज त्यही शीतल निवासमा भोज भत्तेर चलिरहेको छ । संविधान दिवसको नाममा । 
देश यो अवस्थामा पुगेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले के यसरी उत्सव र भोज भत्तेरका रुपमा यो दिवस सम्झनुपर्ने थियो त ? भन्ने प्रश्न राजनीतिक र सामाजिक बृत्तमा उठिरहेको छ । 

यस्तो बेला राष्ट्रपति र सरकारका विभिन्न निकायहरुले परम्परागत शैलीका कार्यक्रम गर्ने र उत्सव मनाउने भन्दा पनि सांकेतिक रुपमा दिवसहरु मनाउनु पर्ने र सम्पूर्ण ध्यान देशको पुनर्निर्माणमा लगाउनु पर्ने विज्ञहरुको मत छ । 

जेनजी आन्दोलनका क्रममा जलेर खण्डहर जस्तै भएको शीतल निवासको नजलेको एकातिरको भागमा कार्यक्रम आयोजना गरिएको छ । शीतल निवासकै खरानीसमेत उठाईनसक्लै यस्ता कार्यक्रम नगरेको भए राम्रो हुने विश्लेषकहरुको मत छ । 

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमअनुसार प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिका आधारमा नयाँ सरकार गठन गरेको बताए । 

‘प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले यो कदम चालिएको कुरा सबैले बुझौँ र ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव गर्न सबै लागौँ’, राष्ट्रपति पौडेलको आह्वान छ । 

उनले भदौ २३ र २४ गतेको आन्दोलनले अपुरणिय क्षति बेहोरेको भन्दै मुलुकका कर्णधार युवाहरू गुमाउँदाको क्षतिबारे आफू जानकार रहेको समेत बताएका छन् ।  

आन्दोलनपछि उत्पन्न असहज परिस्थितिलाई सम्हाल्नुपरेको भन्दै उनले जे जति सकिन्थ्यो त्यति गरेको समेत बताए ।  ‘मुलुक नयाँ सपनाका साथ नवमार्गमा प्रवेश गरेको छ’, राष्ट्रपतिले भने, ‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्छ भन्ने विश्वास लिएको छु ।’ 

उनले  अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको मूल्याङ्कन र पुननिर्माण गर्दै ६ महिनामा निर्वाचन गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने समेत बताए । ‘यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो’, राष्ट्रपतिको भनाई छ । 

राष्ट्रपतिले आयोजना गरेको कार्यक्रममा परम्परागत शैलीमा सरकार प्रमुख तथा मन्त्रीहरु, राजनीतिक दलका प्रमुख तथा नेताहरु, विभिन्न कुटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, निजामती तथा सुरक्षा अंगका प्रमुख तथा प्रतिनिधिलगायतको जम्बोरी भेला भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर