नेकपा एसमा पनि माधव नेपालले नछाेड्ने, बरु कुरा मिल्नेसँग एकता गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले जनाएको छ ।
केन्द्रीय सचिवालय बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल समेत गरेको छ । १० बुँदे निर्णयमा सो पार्टीले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग पार्टी एकताका लागि पहल गर्ने समेत उल्लेख छ ।
‘पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णयसमेत गर्दछ’, एकीकृत समाजवादीको निर्णयमा भनिएको छ ।
एकीकृत समाजवादीले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएकाले सो मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकार, राजनीतिक दलहरू, नागरिक समाज एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गरेको छ ।विगतका कामको समग्र समीक्षा गरेर निष्कर्ष निकाल्न र गल्ती कमीकमजोरीहरू सच्याउँदै व्यापक सुधारको प्रक्रियाका साथ राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने सो पार्टीको प्रतिबद्धता छ ।
‘साथै, आ–आफ्ना कामहरूको समीक्षा गरेर कमी कमजोरीहरू सच्याउँदै अघि बढ्न नेपालका हरेक राजनीतिक पार्टीहरूलाई आव्हान समेत गर्दछ’, निर्णयमा भनिएको छ । एकीकृत समाजवादीले अन्य पार्टीलाई समेत सच्चिन आह्वान गरेको छ ।
मुलुक गम्भीर मोडमा रहेको स्थितिमा सिङ्गो पार्टी पङ्क्तिलाई निराश नभई उच्च मनोबलका साथ अगाडि बढ्न, आ– आफ्नो क्षेत्रको पार्टी काम नियमित रूपमा अगाडि बढाउन र अन्य राजनीतिक दल, नागरिक समाज एवं आम जनसमुदायसँग हातेमालो गर्दै अगाडि बढ्न समेत बैठकले निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस