महेश बस्नेतलाई सुदन गुरुङको चेतावनी: तपाईं नैतिक रूपमा असुरक्षित हुनुहुन्छ

काठमाडाैं । जेनजी आन्दोलनको अगुवाको परिचय बनाएका सुदन गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता महेश बस्नेतले आफूसँग संवाद गरेको र आफ्नो पार्टीमा प्रवेश गर्न इच्छुक भएको भनेर गरेको दाबी निराधार भएको बताएका छन्।
उनको संस्था हामी नेपालले आज (शनिबार) विज्ञप्ति जारी गरी त्यस्ता भ्रमपूर्ण अभिव्यक्तिलाई विश्वास नगर्न आग्रह गरेको हो।
वक्तव्यमा भनिएको छ, ‘सुदन गुरुङले कहिल्यै महेश बस्नेतसँग कुरा गरेका छैनन्। यस्तो संवाद कहिल्यै भएको छैन र कहिल्यै हुने पनि छैन। हामी उनलाई चिन्दैनौँ, सम्मान गर्दैनौँ।’
सुदनले वक्तव्यमार्फत महेशलाई भनेका छन्, ‘झुट नफैलाउनू। संविधानले तपाईंलाई संरक्षण दिएको छ भन्ने अर्थ यो होइन कि तपाईं नैतिक रूपमा पनि सुरक्षित हुनुहुन्छ। इतिहासले र जनताले तपाईंलाई जिम्मेवार ठहर गर्नेछन्।’
‘यी बनावटी दाबीबाट भ्रमित नहुनुहोस्। सतर्क रहनुहोस्, एकताबद्ध रहनुहोस्। सुदन गुरुङ र हामी नेपाल सुरुदेखि नै जनताको पक्षमा उभिएका छौँ र सधैँ उभिनेछौँ। यो आन्दोलन जनताको हो, भ्रष्ट राजनीतिका लागि होइन।’
महेशका क्रियाकलापलाई वक्तव्यमा फोहोरी खेल, निर्लज्ज प्रयास र जनताप्रतिको धोका भनेर आरोप लगाइएको छ।
‘हामी महेश बस्नेतलाई अस्वीकार गर्छौं। उनले गर्ने प्रत्येक झुट, प्रत्येक प्रपञ्च, प्रत्येक भ्रामक दाबीलाई हामी अस्वीकार गर्छौं। हामी उनको राजनीति, उनका फोहोरी खेल र जनतालाई धोका दिन खोज्ने निर्लज्ज प्रयासलाई अस्वीकार गर्छौं’, विज्ञप्तिमा भनिएको छ।
सुदनले आफू सधैँ यो आन्दोलन र जनताका पक्षमा रहने प्रतिबद्धता जनाउँदै राजनीतिक खेलमा सहभागी नहुने उल्लेख गरेका छन्।
यसबीच सुदनले एमालेका पोलिटब्युरो सदस्य बस्नेतले आफूलाई पछ्याइरहेको आशंका गरेका थिए भने बस्नेतले चाहिँ उनी आफ्नो पार्टीमा आए अचम्म नमान्नु भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए।
शनिबार प्रेस विज्ञप्ती जारी गरेर हामी नेपालले एमाले नेता बस्नेतसँग संयोजक गुरूङको कुराकानी नै नभएको जानकारी गराएको हो।
शुक्रबार एमाले नेता महेश बस्नेतले सुदन गुरूङ एमालेमा प्रवेश गर्ने लागेको भनेर दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका थिए।
‘उनी एमाले आउँछन् जस्तो लाग्छ। अलिअलि कुराकानी भएको थियो। मलाई सुरक्षा थ्रेट भयो भनेर उनी र उनीसँगै हिँड्ने बब्लु लगायत ठूलो टिम हामीसँग सम्पर्कमा छन्। उनीहरू चाँडै नै एमाले आए भने तपाईंहरू अचम्मित नमान्नुस्,’ बस्नेतले भनेका थिए।
‘सुदन गुरूङले महेश बस्नेतसँग अहिलेसम्म कुराकानी गरेका छैनन् । गर्ने पनि छैनन्,’ विज्ञप्तीमा भनिएको छ।
परिवर्तनका लागि सम्पूर्ण राष्ट्र एकताबद्ध भएको समयमा भ्रम नछर्न पनि हामी नेपालले नेता बस्नेतलाई आग्रह गरेको छ। नेता बस्नेतको दाबीबाट प्रभावित नहुन सबैलाई हामी नेपालले अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस