प्रिमियर लिगमा आर्सनल र सिटीले खेले बराबरी

काठमाडाैं । ग्याब्रियल मार्टिनेलीले इन्ज्युरी टाइममा गरेको गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ । यस नतिजापछि आर्सनल शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछाडि परेको छ ।
इमिरेट्समा इर्लिङ हल्यान्डको गोलमा सिटीले नवौं मिनेटमा अग्रता लिएको थियो । सिटी विजयनजिक पुगिसकेको अवस्थामा इजेको लामो पासमा मार्टिनेलीले गोल गरेका थिए । सिटीका नयाँ गोलरक्षक डोनारुम्मा अगाडि बढेको अवस्थामा मार्टिनेलीले चिप गर्दै गरेको प्रहार गोलमा परिणत भयो । सिटी ७ अंकसहित नवौं स्थानमा छ ।
त्यस्तै इंग्लिस प्रिमियर लिगमा सन्डरल्यान्ड पहिलो हाफमै १० खेलाडीमा सीमित भए पनि एस्टन भिल्लाले त्यसको फाइदा उठाउन सकेन । जसको कारण भिल्लाले प्रिमियर लिगमा पहिलो विजय हात पार्न अझै कुर्नुपर्ने भएको छ । एक खेलाडी कम लिएर झन्डै १ घन्टा खेलेको सन्डरल्यान्डले भिल्लालाई १–१ को बराबरीमा रोकिदियो ।
रक्षक रेइनिल्डोले ३३ औं मिनेटमा सिधा रातो कार्ड पाए । म्याटी क्यासले ६७ औं मिनेटमा पेनाल्टी बक्सबाहिरबाट गोल गरी भिल्लालाई अग्रता दिलाए । विल्सन इसिडोरले ७५ औं मिनेटमा गरेको गोलले सन्डरल्यान्डलाई अंक दिलाएको हो ।
अर्को खेलमा पनि जित हारको नतिजा आएन । बर्नमाउथ र न्युकासलबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । बर्नमाउथ १० अंकसहित तेस्रो स्थानमा छ । पहिलो खेलमा लिभरपुलसँग पराजित बर्नमाउथले त्यसपछि लगातार ३ खेल जितेको थियो । न्युकासललाई पराजित गरेको भए टोली दोस्रो स्थानमा पुग्थ्यो । लिभरपुल १५ अंकसहित शीर्षस्थानमा छ ।
म्यानचेस्टर युनाइटेडले शनिबार राति चेल्सीलाई २–१ ले हराएको थियो । यो जितले युनाइटेड र प्रशिक्षक रुबेन एमोरिमलाई राहत मिलेको छ । चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजले पाँचौं मिनेटमा रातो कार्ड पाएपछि खेलले नाटकीय रूप लिएको थियो ।
ओल्ड ट्राफोर्डमा युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलमा १४ औं मिनेटमा अग्रता लियो । ३७ औं मिनेटमा कासेमिरोले दोस्रो गोल थपे । तर उनै कासेमिरोले पहिलो हाफको इन्ज्युरी टाइमको पाँचौं मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड पनि १० खेलाडीमा झरेको थियो । खेलको अन्त्यतिर ट्रेभोह चालोबहले चेल्सीबाट एक गोल फर्काए, जुन सान्त्वनामात्र बन्यो ।
यो जितपछि युनाइटेडको ७ अंक भएको छ । टोली दसौं स्थानमा उक्लेको छ । चेल्सी भने ८ अंकसहित छैटौं स्थानमा छ । शनिबारै अन्य खेलमा फुलहमले ब्रेन्टफोर्डलाई ३–१, लिड्स युनाइटेडले उल्भसलाई ३–१ र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई २–१ ले हराए । ब्राइटन र टोटनहमले २–२ तथा बर्नली र नटिङ फरेस्टले १–१ को बराबरीमा खेल टुंग्याए ।
प्रतिकृया दिनुहोस