थपिए ४ मन्त्रीः जेनजीको उपस्थिति शुन्य

काठमाडौं । अन्तरिम मन्त्रिपरिषद्मा सोमबार चार मन्त्री थपिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिन् । यद्यपि, २३ र २४ भदौको जेन–जी आन्दोलनको जगमा बनेको सरकारमा अहिलेसम्म नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित भएको छैन ।
सोमबार अनिलकुमार सिन्हाले उद्योग, कानुन र भूमि व्यवस्था, महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मदनप्रसाद परियारले कृषि तथा पशुपन्छी विकास र पत्रकार जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिएका हुन् ।
कार्की प्रधानमन्त्री बनेको तीन दिनपछि अर्थविद् रामेश्वर खनालले अर्थ, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास र ओमप्रकाश अर्यालले गृहमन्त्रीको शपथ लिएका थिए ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, जलवायु तथा कृषि विज्ञ मदनप्रसाद परियार र पत्रकार जगदीश खरेल मन्त्री नियुक्त भए ।
पूर्वन्यायाधीश सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका छन् । स्वास्थ्यमन्त्रीमा आइतबार सिफारिस गरिएकी डा. संगीता कौशल मिश्राको नियुक्ति भने स्थगन भएको छ ।
जेन–जी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् । कार्कीले ३० भदौमा रामेश्वर खनाललाई अर्थमन्त्री, ओमप्रकाश अर्याललाई गृहमन्त्री र कुलमान घिसिङलाई भौतिक पूर्वाधारसहित ऊर्जामन्त्री बनाएकी थिइन् ।
संविधानतः मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन मिल्छ तर प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने भन्दै आएकी छन् । त्यति संख्या पुर्याउन पनि कार्कीले अझै तीन मन्त्री नियुक्ति गर्नुपर्नेछ । प्रधानमन्त्री कार्कीको जिम्मेवारीमा परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छन् ।
नवनियुक्त चारै मन्त्रीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर पदभार ग्रहण गरेका छन् । तीन मन्त्रालयको जिम्मेवारी पाएका सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए । त्यस क्रममा उनले सहिद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिका लागि रोजगारी व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । सरकारी निकायमा फर्निचर तथा अन्य निर्माण सामग्री स्वदेशी उत्पादन प्रयोग गर्ने निर्णयमा पनि उनले हस्ताक्षर गरेका छन् ।
प्रतिकृया दिनुहोस