शिक्षामन्त्री महावीर पुनलाई आजदेखि मन्त्रालयमा खाने-बस्ने व्यवस्था

काठमाडौं। शिक्षामन्त्री महावीर पुनलाई आजदेखि नै मन्त्रालयमा खाने-बस्ने व्यवस्था गरिएकाे छ।
जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा रहेको मन्त्रालय आगजनीबाट ध्वस्त भएपछि तत्कालका लागि मन्त्रालय केशरमहलमा सारिएको छ । शिक्षा उपसचिव केदार कोइरालाले मन्त्री पुनको आग्रहअनुसार मंगलबारदेखि नै मन्त्रालयभित्रै खाने र बस्नेको व्यवस्था मिलाइएको बताए । उनले भने, 'मन्त्री ज्यूले मन्त्रालयमै बसेर काम गर्ने भने अनुसार भोलि (मंगलबार)देखि खाने र बस्ने समेतको व्यवस्था केशरमहलमै हुन्छ ।'
मन्त्री पुनले सोमबार नै जिम्मेवारी सम्हालेका छन् । सम्भावनाहरु प्रशस्तै भएर पनि विज्ञान मन्त्रालयले काम गर्न नसकेको बताउँदै मन्त्री पुनले यसमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो क्रममा उनले वैज्ञानिक खोज तथा अनुसन्धानको विकासका लागि एक समिति बनाउने निर्णयमा हस्ताक्षर गरेको उपसचिव कोइरालाले जानकारी दिए ।
यसअघि युवालाई 'जे सुकै गर' भन्ने सुझाव दिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री पुनले आफ्नो विवेकले काम गर्न युवाहरूलाई भनेको बताए।
'जे सुकै गरु भनेर सुतिराखु भनेको होइन क्या। जेसुकै गर, आफ्नो बुद्धिले गर, अर्काको झोला बोकेर नहिँड, चाहे आफ्नो लागि गर, समाजको लागि वा देशको लागि गरु भनेको हो ।' उनले आफ्नो भनाइबारे प्रस्ट पारे ।
शिक्षामन्त्री पुनले विद्यालय शिक्षा ऐनका विषयमा आफूले विज्ञहरूको सल्लाहअनुसार मात्रै निर्णय लिने बताएको उपसचिव कोइरालाले जनाए ।
'शिक्षा ऐन कस्तो ऐन बनाएको हो, के गरेको हो, विज्ञहरूको टोली बनाउँछु, उहाँहरूले के कस्तो सल्लाह दिनुहुन्छ। विज्ञहरूको सल्लाहअनुसार निर्णय लिने हो,' पदभारपछि भनेका हुन् ।
पदभार सम्हाल्नुअघि उनले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रतिकृया दिनुहोस