• २०८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025

साउदीमा पनि नेपालीलाई श्रमिक भिसा बन्द 

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा पर्खेर काठमाडौंमा रहेका दोलखाका श्यामबहादुर श्रेष्ठ शनिबार घर फर्किए । रोजगारीका लागि यूएई जान भन्दै उनी घरबाट बिदा भएर आएका थिए । ‘मेरो कम्पनी टुंगो लागिसक्यो । कम्पनीसँग करारपत्रमा हस्ताक्षर पनि भइसक्यो ।

मेडिकल पास भए । भिसा मात्रै आउन बाँकी थियो । भदौ अन्तिम साता उड्ने तय भइसकेको थियो,’ उनले कान्तिपुरसँग भने, ‘एक्कासि भिसा नै बन्द भयो भन्ने खबर आयो । म्यानपावरले अहिले घर जानू, पछि खबर गरौंला भनेको छ ।’

टाउकामा ऋणको भारी परेपछि उनी यूएई जान लागेका थिए । म्यानपावर व्यवसायीहरूका अनुसार यूएईका लागि असोजमा मात्रै अन्तर्वार्तामा छानिएर भिसा पर्खेर बसेका नेपालीको संख्या १० हजारभन्दा बढी छ । पछिल्लो दुई वर्षयता यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । हरेक महिना सरदर ३० हजार नेपालीले रोजगारी पाइरहेका छन् ।

जेन–जी आन्दोलन र हिंसात्मक प्रदर्शनीपछि यूएईले एक्कासि भिजिट भिसा र रोजगारी भिसा दिन रोक लगाएको छ । यसबारे यूएईले नेपाललाई अनौपचारिक जानकारी दिएको छ ।  

२४ भदौमा देशका विभिन्न जिल्लामा रहेका जेलबाट भागेका कैदीहरू र देशव्यापी रूपमा राष्ट्रिय र व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजानी भएको घटना सार्वजनिक भएपछि यूएईले भिसा दिन छाडेको हो । 

जेन–जी आन्दोलन र हिंसात्मक प्रदर्शनीपछि यूएईले एक्कासि भिजिट भिसा र रोजगारी भिसा दिन रोक लगाएको छ । यसबारे यूएईले नेपाललाई अनौपचारिक जानकारी दिएको छ । तीन वर्षअघिसम्म यूएईमा काम गर्ने नेपालीको संख्या तीन लाख मात्रै थियो । कोभिडका बेला डेढ लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएर फर्केका थिए ।

जब यूएईले विदेशी श्रमिकको संख्यालाई सन्तुलन गर्ने नीति लियो, तबदेखि नेपालीको संख्या ह्वात्तै बढ्न थालेको हो । यूएईको परराष्ट्र मन्त्रालयका अनुसार काममा सबैभन्दा बढी भारतीय, बंगलादेशी र पाकिस्तानका छन् । उनीहरू कुल विदेशी श्रमिकको २८ देखि १२ प्रतिशत छन् । यूएईले बंगलादेशलाई २०२० को डिसेम्बर र पाकिस्तानलाई २०२४ को मध्यदेखि भिसा दिन छाडेको छ । जसको औपचारिक घोषणा भने भएको छैन ।

दुई देशका नागरिकलाई भिसा दिन छाडेपछि नेपालीले कोटा बढी पाउन थालेका हुन् । पछिल्लो दुई वर्षमा मात्रै भिजिट र रोजगार भिसा लिई यूएईमा काम गर्ने नेपालीको संख्या ८ लाख पुगिसकेको छ । 

जेन–जीको आन्दोलनपछि साउदी अरबले पनि भिसा जारी गरेको छैन । साउदी नेपालको अर्को दोस्रो प्रमुख गन्तव्य हो । गत वर्ष मात्रै साउदी अरबमा १ लाख ५२ हजार नेपाली साउदी गएका थिए । भदौ २२ यता भिसा लागेको राहदानी प्राप्त नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेशकुमार बस्नेतले बताए । 

व्यवसायीका अनुसार दूतावास रियादको निर्णय पर्खेर बसिरहेको छ । साउदीले भिसा दिन बन्द गरेको सूचना आफूहरूले औपचारिक रूपमा नपाएको साउदीका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले बताए ।  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर