• २०८२ असोज २२ बुधबार
  • Wednesday, 8 October, 2025

राजनीतिमा देउवाको सक्रियता फेरि बढ्यो, नेताहरुसँग टेलिफोन सम्बाद

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग चर्को रुपमा उठेको छ। मुलुकका ठुला राजनीतिक दलहरुमा नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला कांग्रेसमा नयाँ नेतृत्व छान्न विशेष महाधिवेशन बोलाउन विभिन्न तहमा बहस भएको हो।

यस विषयमा सभापति शेरबहादुर देउवाले नेताहरुसँग टेलिफोनमा कुराकानी गरिरहेका छन्। जेन-जी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले भौतिक रुपमा नेताहरुसँग भेट नगरी टेलिफोनबाट संवाद गरिरहेका हुन्।

असोज २६ गते केन्द्रीय समिति बैठक बोलाइएको छ। त्यसअघि नै महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन डाक्ने हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश राख्दै विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म हस्ताक्षर गरिसक्न महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन्।

‘हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गते भित्रै गर्नुस्,’ शर्माले मंगलबार भिडियो सन्देशमा भनेका छन्। उनको यो सन्देशले कांग्रेस चाँडै नै विशेष महाधिवेशनमा जाने संकेत गरेको छ। विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने महामन्त्री शर्माको विश्वास छ।

जेन-जी आन्दोलनपछि सभापति देउवाले असोज २६ गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियान थालेको हो।

नेतृत्व परिवर्तनको बहसमा रहेको कांग्रेस केन्द्रीय समिति बैठकपछि यस मामिलामा औपचारिक रुपमा अघि बढ्ने नेताहरुले बताएका छन्। कांग्रेसको एउटा समूह विशेष महाधिवेशन माग गर्दै असोज २५ मै हस्ताक्षर बुझाउने तयारीमा छ।

जेन-जी आन्दोलनपछि सभापति देउवाले नेतृत्व छाड्नुपर्ने भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालाले छुट्टाछुट्टै लविइङ गरिरहेका छन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व भने गुरुराज घिमिरेले गरिरहेका छन्। उनले असोज पहिलो साताबाटै यो अभियान थालेका हुन्।

पार्टी रुपान्तरणका लागि एमालेका विभिन्न तह र तप्कामा भेला र बैठक भैरहेका बेला कांग्रेस केन्द्रीय समिति बैठकअगावै नेतृत्व बदल्न महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी बुझाउन लागिएको हो।

कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्मा पार्टी पुनर्संरचना र नेतृत्व परिवर्तनका लागि विभिन्न तहका छलफल र बैठकमा जुटेका छन्। थापाले पार्टी पुनर्गठनका लागि आवश्यक परे आफू महामन्त्री पदसमेत त्याग्न तयार रहेको बताइसकेका छन्।

असोज ६ गते नेता कोइराला र महामन्त्री थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै हस्ताक्षर संकलन अभियान थालेका थिए। अहिले कांग्रेसका ४७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्।

विधानअनुसार महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले हस्ताक्षर गरेर बुझाएमा महाधिवेशन डाक्न सक्ने प्रावधान छ। यसै प्रावधानमा टेकेर महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर संकलन गरिरहेका छन्।

कांग्रेसमा केन्द्रीय समितिले निर्णय गरेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेमा त्यस्तो प्रक्रिया आरम्भ गर्न सकिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर