सम्मानजनक बहिर्गमनको बाटो खोज्न थाले देउवा, गगन र विश्वप्रकाशसँग आज वार्ता

काठमाडौं । विशेष महाधिवेशन बोलाउन आवश्यक ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटिसकेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो ‘सम्मानजनक’ बहिर्गमनको बाटो खोज्न थालेका छन् । उनले बहिर्गमनका लागि विशेष महाधिवेशनबाहेकको विकल्पबारे संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् ।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाले लामो समयसम्म राजनीतिक भेटघाट गरेका थिएनन् । केन्द्रीय कार्यसमिति बैठक नजिकिएकै बेला विशेष महाधिवेशन बोलाउन हस्ताक्षर संकलन थालिएपछि देउवाले राजनीतिक भेटघाट अघि बढाएका हुन् । ‘विशेष महाधिवेशनमा जाँदा सम्मानजनक बहिर्गमन नहुने देखिएपछि देउवाले आफू निकटवर्तीसँग विभिन्न उपायमा छलफल गरिरहनुभएको छ,’ एक नेताले भने, ‘पार्टीभित्र एकता कायम पनि होस् भन्ने उहाँले चाहनुभएको छ ।’
ती नेताका अनुसार देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई विश्वासमा लिन खोजिरहेका छन् । त्यसका लागि उनीहरूसँग बुधबार संयुक्त छलफल गर्ने योजना देउवाको छ । जेन–जी आन्दोलनपछि दुवै महामन्त्रीले सभापति देउवालाई तत्कालै कार्यवाहक सभापति तोक्न आग्रह गरेका थिए । देउवाले तत्काल नेतृत्व छाड्ने संकेत नदिएपछि महामन्त्रीद्वय थापा र शर्माको समर्थनमा पार्टीका युवा नेताहरूले दसैं अगाडि नै विशेष महाधिवेशनका लागि देशव्यापी हस्ताक्षर थालेका थिए ।
देउवानिकट एक नेताका अनुसार विशेष महाधिवेशन रोक्न मंसिर मसान्तभित्र सम्पन्न हुने गरी नियमित महाधिवेशन बोलाउने, तत्काल कार्यवाहक सभापति दिएर आफू नेतृत्वबाट बाहिरिने वा अहिलेको कार्यसमिति भंग गरेर कुनै नेताको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने गरी तीन विकल्पमा छलफल भइरहेको छ । महामन्त्रीद्वयले विशेष वा नियमित जे भए पनि मंसिर भित्रै महाधिवेशन हुनुपर्ने अडान लिइरहेका छन् ।
महामन्त्री शर्माले अहिलेको जटिल राजनीतिक परिस्थितिमा पार्टी पुनर्गठनका लागि मंसिर मसान्तभित्रै नियमित महाधिवेशन सर्वोत्तम विकल्प हुने बताए । यसका लागि केन्द्रीय कार्यसमिति तयार नभए विशेष महाविधेशनमा जानुपर्ने उनको भनाइ छ । शर्माले केन्द्रीय कार्यसमिति बैठक अगाडि इच्छुक सबै प्रतिनिधिलाई हस्ताक्षर गरिसक्न आह्वान गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २६ असोजलाई तोकिएको छ । ‘हस्ताक्षरसहित विशेष महाधिवेशनसम्बन्धी निवेदन केन्द्रीय कार्यसमितिमा दिने तयारी भइरहेको छ,’ शर्माले भने ।
केन्द्रीय कार्यसमिति बैठक अगाडि नै विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको भन्दै संस्थापन पक्षका नेताहरू भने दुई महामन्त्रीप्रति असन्तुष्ट छन् । पार्टी प्रवक्ता प्रकाशशरण महतले विशेष महाधिवेशन बोलाउन प्रतिनिधिहरूको हस्ताक्षर गराएर पार्टी सभापतिलाई अपमानपूर्ण ढंगबाट हटाउन खोजिएको भन्दै आक्रोश पोखे ।
‘हामीले पनि पार्टी सुधार नहोस्, यस्तै अवस्थामा अघि बढ्नुपर्छ भनिरहेका छैनौं तर कसरी सुधार गर्ने र अहिलेको अवस्थामा कुन बाटो लिने भन्नबारेमा कार्यसमितिमा छलफल नगरी बाहिरबाहिरै हस्ताक्षर गराउनु भनेको संस्थागत मर्यादाभित्रको कुरा होइन,’ उनले भने, ‘सभापतिको के कुरा हुन्छ भन्नेबारे केन्द्रीय कार्यसमितिमा छलफल गर्न सकिन्थ्यो । त्यसपछि कसरी अघि बढ्ने, त्यहींबाट निर्णय लिन सकिन्थ्यो । धैर्य नगरी हाम्रो हातमा नेतृत्व आइहाल्नुपर्छ, त्यसपछि मात्रै सबै ठीक हुन्छ भन्नेजस्तो व्यवहार उहाँहरू (महामन्त्री) मा देखियो ।’ महतले सत्तामा हुँदा मिलेमतो गर्ने र अहिले सबै दोष सभापतिको टाउकामा मात्रै हाल्ने कार्य उचित नभएको पनि बताए ।
महामन्त्री शर्माले भने विशेष महाधिवेशनले पार्टीलाई कमजोर बनाउँछ भन्ने संस्थापन पक्षको भनाइको खण्डन गरेका छन् । ‘विशेष महाधिवेशन विधानविपरीत होइन । पार्टीको विधानमै यसको व्यवस्था छ । परिपक्व ढंगले यसलाई प्रयोग गर्दा पार्टी कमजोर हुँदैन । मान्छेमा अप्रेसन गरिँदा त्यसले थोरै असर निश्चय नै गर्छ, तर सफल अप्रेसनपछि मान्छे बिस्तारै तन्दुरुस्त हुन्छ,’ शर्माले मंगलबार एक भिडियो सन्देशमा भनेका छन् ।
महामन्त्री शर्माले ४० प्रतिशत हस्ताक्षर नबुझाउँदै पार्टी केन्द्रीय कार्यसमिति आफैंले विशेष महाधिवेशन बोलाउन सक्ने प्रावधान पनि सुरक्षित रहेको बताए । केन्द्रीय कार्यसमितिले त्यसबारे निर्णय लिन चाहेन भने ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशनमा जान सकिने विधानको अधिकार प्रयोग गर्न सकिने उनको भनाइ छ । ‘अहिलेको विषम परिस्थितिमा हामी जमेको पोखरी जस्तो बस्न सक्दैनौं, उपयुक्त निष्कर्षमा हामी सबै पुग्न चाहन्छौं, त्यसका लागि १५ औं महाधिवेशन आयोजना गर्नु सर्वोत्तम बाटो हो,’ उनले भनेका छन् ।
पुरानै सदस्यता नवीकरण नसकिएको र नयाँ क्रियाशील सदस्यता वितरण नै नभएको अवस्थामा मंसिरभित्रै नियमित महाधिवेशन गर्ने सम्भावना नभएको तर्क संस्थापन पक्षको छ । महामन्त्री शर्मा भने नेतृत्वले चाहे मंसिरमै नियमित महाधिवेशन सम्भव रहेको तर्क गर्छन् । ‘जेन–जी युवाको दुई–अढाई दिनको प्रदर्शनले पूरै सत्ता उलटफेर गर्न सक्यो भने दुई/अढाई महिनामा कांग्रेसको महाधिवेशन गर्न किन सकिन्न ?’ शर्माले भनेका छन्, ‘सकिन्न कसैले भन्नुभए तपाईंको हस्ताक्षरले हामी सबैलाई स्वागत गर्नेछ– विशेष महाधिवेशनमा । बदलिएको कांग्रेस तपाईं र मेरा लागि कम, देशका लागि बढी जरुरी छ, मैले भन्ने गरेको छु– जो बदलिन्छन्, तिनले नेतृत्व लिन्छन् । जो बदलिन्नन्, तिनले बिदा लिन्छन् ।’
संस्थापन पक्ष मंसिरभित्रै नियमित महाधिवेशन गराउने पक्षमा नरहे विशेष महाधिवेशनको सामना गर्न इतरपक्षलाई एकजुट पार्ने प्रयाससमेत भइरहेको छ । त्यसका लागि नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीचमा अविश्वास हटाउन पहल भइरहेको कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए । कोइराला र थापाबीच पछिल्लो पटक सोमबार लामो वार्ता भएको थियो ।
केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनबारे निर्णय लिन नसके मात्रै विशेष महाधिवेशनका लागि अगाडि बढ्नु उपयुक्त हुने धाराणा कोइरालाको छ । त्यसका लागि केन्द्रीय कार्यसमिति बैठक अगाडि नै हस्ताक्षर बुझाउने कि बैठकको परीक्षण गरेर अगाडि बढ्ने भन्नेबारेमा इतरपक्षमा पनि दुई थरी विचार छन् ।
हस्ताक्षर अभियानमा संलग्न नेता देवराज चालिसेले बैठकको परीक्षण गरेर हस्ताक्षर बुझाउन सकिने बताए । ४० प्रतिशतभन्दा बढीको हस्ताक्षर भइसकेको उल्लेख गर्दै ५१ प्रतिशतभन्दा बढीको हस्ताक्षर पुर्याएर विशेष महाधिवेशनलाई लोकप्रिय एजेन्डाका रूपमा अघि बढाउन चाहेको उनले जानकारी दिए । ‘संख्या बढ्दै छ । यसमा अभूतपूर्व सहभागिता बढ्दै छ । पार्टीको निर्णय र सुधार प्रक्रियामा हाम्रो पनि सहभागिता होस् भनेर जिल्ला–जिल्लाबाट फोन आइरहेको छ । चाडपर्व र प्राकृतिक विपद्का कारण धेरै साथीले हस्ताक्षर गर्न नै बाँकी छ । हामी इच्छुक सबैको सहभागिता सुरक्षित होस् र यसलाई नेता विशेष र समूहको नभएर पार्टीको साझा एजेन्डा बनाएर जनतामा स्थापित गराउन चाहेका छौं,’ उनले भने ।
नेता चालिसेले केन्द्रीय कार्यसमिति आफैंले विशेष महाधिवेशन बोलाउनेमा आशंका भएका कारण हस्ताक्षर अभियान चलाउनुपरेको बताए । ‘पार्टीलाई अनिर्णयको बन्दीमा राख्न हुँदैन भनेर हामीले आफ्नो कर्तव्य र जिम्मेबारीबोध गरेर विधानले दिएको अन्तरनिहित अधिकार प्रयोग गरी यो अभियान चलाएका हौं,’ उनले भने, ‘यसलाई कोही नेतासँग जोड्न जरुरी छैन । मंसिरमा नियमित महाधिवेशन गराउने नैतिक दायित्व केन्द्रीय कार्यसमितिको हो । केन्द्रीय कार्यसमितिले यो दायित्व पूरा गर्न सकेन भने हामी मूकदर्शक हुँदैनौं । विशेष महाधिवेशनको माग गर्ने हाम्रो अधिकार हो ।’
चालिसेले जनताको मन र मतलाई आधार बनाएर पार्टीका नीति र एजेन्डा तय हुनुपर्ने बताए । ‘२३–२४ भदौअघि र पछिको स्थिति एउटै होइन । अब यथास्थितिवाद र अनिर्णयको बन्दी भएर बस्न सकिन्न । परिवर्तन एकातिर खोजिएको हो, अर्कातिर समस्या देखाएर हुन्न । पुल एकातिर बनाउने, खोला अर्कातिर बग्ने अवस्था भयो भने के हुन्छ ?’ उनले भने, ‘जनताको मन विभाजित बनाएर पार्टीलाई अघि बढाउने कुरा केही व्यक्तिको होला र तर आम जनताको पार्टी बनाउन सकिन्न ।’
संस्थापन पक्षबाटै नियमित महाधिवेशनको चर्चा भइरहे पनि मंसिरभित्रै सम्पन्न गर्न अहिलेकै प्रक्रियाबाट सम्भव देखिँदैन । आधा जिल्लामा पनि क्रियाशील सदस्यताको नवीकरण सकिएको छैन । नयाँ क्रियाशील सदस्यताको वितरण भएको छैन । टोल, गाउँ/नगर गाउँपालिका र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनपश्चात् मात्रै केन्द्रीय महाधिवेशनको ढोका खोल्छ । यी सबै काम गर्न कम्तीमा ६ महिना लाग्ने कांग्रेसका एक पदाधिकारी बताउँछन् । कांग्रेस प्रवक्ता महत पदाधिकारीले क्रियाशील सदस्यताको काममा ध्यान नदिएकाले नियमित महाधिवेशन समयमै हुन सक्ने अवस्था नरहेको बताउँछन् ।
कान्तिपुर दैनिकबाट
प्रतिकृया दिनुहोस