• २०८३ श्रावण १० आइतबार
  • Sunday, 26 July, 2026

जीवनमा धर्म कि विज्ञान ? पुस्तक नियाल्दा 

    सांस्कृतिक विषयवस्तुमा कलम चलाउँदै आउनुभएका लेखक चुडामणि गिरीको नयाँ पुस्तक “जीवनमा धर्र्म कि विज्ञान ?” लाई भर्खरै गहिरो गरी अध्ययन गरें । लेखक चुडामणि गिरीसँग व्यक्तिगत चिनजान भएको धेरै भएको छैन तथापि वहाँका पूर्व प्रकाशित कृतिहरुका बारेमा म पहिलेदेखि नै जानकार थिएँ । पाटन क्याम्पसका अंग्रजी बिषयका प्राध्यापक डा. तिलक के.सी. खत्रीले तीन चार बर्ष अघि वहाँसँग परिचय गराइदिनुभएको हो । लेखकका यस अघि किरिया विद्रोह, धर्मका अधर्महरु, मेरो किरिया लगायतका पुस्तकहरु प्रकाशित भइसकेका छन् ।     

चुडामणि गिरी विज्ञानको पक्षमा वैचारिक रुपले दृढ र सैद्यान्तिक रुपले प्रतिबद्ध व्यक्ति हुनुहुन्छ । वहाँका पुस्तकहरुले धर्मभित्रका पाखण्ड, भेदभाव र अनैतिकताको भण्डाफोर गर्ने गरेका छन् । लेखक आफैंले मृत्युपर्यन्त आफ्नो अङ्गदान गर्नुभएको छ, जसले मृत शरीरलाई अनेक कर्मकाण्ड गराउने धार्मिक विधि उपर नै औंलो ठड्याएर स्वास्थ्य विज्ञानको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउनुभएको छ । मोरङ्ग जिल्लाको खप्टोली, बेलबारीमा जन्मिनुभएका गिरीले स्नातकोत्तर सम्मको अध्ययन गर्नुभएको छ ।   

 यस पुस्तकमा लेखकले बाल्यकालदेखिको आफ्नो जीवनयात्रालाई समेट्दै जीवनमा धर्मका सम्बन्धमा भोगेका घटना वृतान्त पोख्नुभएको छ । पुस्तकभित्र उन्नाइस वटा लेखहरु समेटिएका छन्, जुन “मेरी आमाले बुझेको धर्म” बाट शुरु भएर “वैज्ञानिक सोच र संस्कृति निर्माण अभियानका बारेमा केही कुरा” मा आएर सकिएको छ । पुस्तकमा समेटिएका प्रसङ्गहरु निकै नै घतलाग्दा छन् । सिलसिलेवार ढंगले लेखिएका लेखहरुमा घटना सन्दर्भलाई रोचक किसिमले पस्किएको देखिन्छ । ग्रामिण वर्ग संघर्षको कथाचित्र प्रस्तुत गर्दै सोझा सिधा गाउँलेहरु धर्मको प्रभावमा परेर शोषणको शिकार हुनुपरेको यथार्थको समेत कलात्मक चित्रण भएको देखिन्छ ।    

धर्मशास्त्रमा “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर ः” भनेता पनि ती ब्रह्मा, विष्णुहरुलाई कसैले देखेन अनि नदेखेको गुरुले के शिक्षा दिन्छ ? भन्ने प्रश्न गर्दै लेखकले देखिएको गुरु (पुरोहित) ले न आमालाई अक्षर चिनाए, न परिवारलाई शिक्षा दीक्षा नै दिए तर पनि उनी गुरुबाट सम्बोधित हुन्थे भन्ने कुरालाई रोचक किसिमले प्रस्तुत गरेको देखिन्छ ।    

आमा भन्ने शब्द हरेक मानिसहरुको प्रिय हो । लेखकको आमाले जीवनभर कयौं भगवानहरुको पूजा गर्नुभयो, ब्रत र धार्मिक संस्कारहरु गर्नुभयो तर धर्मले आमाको साधारण प्रेसरसम्म पनि नियन्त्रण गरेन, निको पारेन । यो मन छुने अभिव्यक्तिले धर्मको उपदेयतामाथि कडा प्रहार गरेको देखिन्छ ।     

गाउँका विद्यालयहरुमा विज्ञानका शिक्षकहरुले पुस्तकको कुरा बाहेक अन्य वैज्ञानिक सोच र दृष्टिकोण दिएको देखिन्न । बरु जान्ने बुझ्नेहरुले भुतप्रेत, बोक्सी र चुडेल्नीका कुरा गरेको चैं प्रसस्त देखिन्छ । गाउँका धार्मिक प्रवृत्तिका दाजु काशीनाथ दाहालले मनमोहन अधिकारी र भरतमोहन अधिकारी सँगबाट ईश्वर र धर्मका बारेमा प्रशिक्षण लिएपछि दिनहुँ पूजा गर्ने शालिग्राम, शिवलिङ्ग, त्रिशुल, ईश्वरका तस्वीरहरु पोको पारेर सर्दु खोलामा फालेर पूर्ण नास्तिक बनेको घटनाक्रम अनुकरणीय रहेको देखिन्छ ।    

लेखकले स्कुल पढ्दा राजाको जन्मोत्सवमा जुलुस लिएर हिंडेको प्रसङ्गदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदासम्मको फेहरिस्त पढौं पढौं लाग्ने गरी प्रस्तुत गर्नुभएको छ । दिनहुँ शंख बजाएर पूजापाठ गर्ने निलप्रसाद बाबैले महाराज थानको जमिनमा आँखा गाडेर देखाएको आसक्ति र त्यो आसक्तिले पैदा गरेको राजनैतिक दाउपेचले धार्मिक आवरणमा चल्ने निमुखामाथिको राजनैतिक शोषणको राम्रो उदाहरण पेश गरेको छ ।    

म बिराटनगरमा रहँदा विभिन्न आन्दोलनका क्रममा नेकपा (मसाल) का नेताका रुपमा मेघराज आचार्य नै अघि सरेको देख्थें । बिराटनगर बसपार्कको उत्तरतिर घर भएका मेघराज आचार्यले बन्दुकबाट मात्र राज्यसत्ता प्राप्त गर्ने अब्बल कम्युनिष्टको रुपमा आफूलाई देखाउने गर्थे । यो पुस्तकलाई नियालेर हेर्दा बिराटनगरमा घोर सर्वाहारावादी देखिन खोज्ने मेघराज आचार्य त बेलबारी खमार पुग्दा महासामन्ती चरित्रका देखिँदा रहेछन् । लेखकसँग उनको वास्तवमै चर्को वर्ग संघर्ष चलेको रहेछ । हामीले सुनेका थियौं मेघराजलाई गाउँमा मानिसहरुले कुटेर खुट्टा भाँचिदिएका थिए रे । वास्तवमै त्यो घटना घट्नुमा चुडामणि गिरीजीको परिवार र समाजसँग मेघराज आचार्यको द्वन्द नै मुख्य कारण रहेछ भन्ने कुरा पुस्तकले छर्लङ्ग पारेको छ ।    

पुस्तकको परिवेश मुलतः बेलबारी, सुन्दरपुर, बाहुनी, हरैंचा, पचाम वरपर घुमेको छ । स्कुलको उन्नति गर्न पुराण लगाएको तर पुराण लगाएपछि त झन स्कुल उल्टै आर्थिक भार र न्यून विद्यार्थी चापले गर्दा आठ कक्षाबाट पाँच कक्षामा झरेको रोचक प्रसङ्ग देखिन्छ । बषौंदेखि ट्युववेलको पानी खाएका शिक्षक, विद्यार्थीहरु स्वस्थ नै रहेको अवस्थामा पुराण वाचन गर्ने पण्डितहरुले भने मिनरल वाटर खाएको भन्दै लेखकले भगवानको नाम दिनमा १०८ पटक जप्यो भने पाप हरण हुन्छ, रोगब्याध लाग्दैन भन्ने सुनेकोमा ट्युववेलको पानी समेत खान नसक्ने अवस्थामा पो पण्डितहरु पुगेका रहेछन् भनेर कथित पुराण वाचन र पुरेत्याईँको धज्जी उडाएको भेटिन्छ । सबै प्रसङ्गहरु तर्कपूर्ण छन् र विज्ञानबाट पुष्टि गरिएका छन् ।


  

 लेखकले आफूभित्र बाँचेको भुतप्रेत र बोक्सीको भय कसरी म¥यो भन्ने विषयवस्तु पनि आफ्नै जीवनका अनेकौं घटनाहरुबाट पुष्टि गर्नुभएको छ । मानिसहरु घरपूजा गरे घरमा शान्ति छाउँछ भन्छन् । तर लेखकले देखेका घटनाहरु पढ्दै जाँदा घरपूजा गरेको घरमा नै परिवारहरु झन बिरामी पर्ने, घरका विजुलीको सामान, पानीको पाइप÷धारा, मोटर, कमोड पूजा नगर्नेको घरमा भन्दा बढी विग्रिएको उदाहरण पेश गर्दै पूजाले शुभ हुँदैन भन्ने तथ्यलाई कलात्मक मिठासका साथ प्रस्तुत गर्नुभएको देखिन्छ ।    

गीतामा चर्चा गरिएका राजा पसेनादि (प्रसेनजित) ले धार्मिक विधि अनुसार पाँच सय बाछी, पाँच सय बहर र पाँच सय गोरु काटेर तिनीहरुको मासु यज्ञको आगोमा पोलेर प्रसादका रुपमा आमन्त्रित पाहुनाहरुलाई खुवाएर धर्म कमाएको भनेर शास्त्रमा लेखिएता पनि उनकै छोराले उनलाई कैदी बनाई भोकै मारेको घट्नालाई देखाउँदै पुस्तकले सँधै धार्मिक कर्म र विधिविधान पालना गर्ने कथित कलियुगका राजा वीरेन्द्रको हत्यासँग तुलनात्मक अध्ययन गरेको छ । यज्ञ, हवन, पूजापाठ, ग्रह नक्षत्र, साइत जस्ता कुराहरुलाई मानिसको अन्धविश्वास मात्र रहेको प्रमाणित गर्न पुस्तकले पर्याप्त उदाहरण पेश गरेको छ । पशुपतिको मूलभट्ट जसले सर्वसाधारणले राम्ररी देख्न समेत नपाउँने शिवलिङ्गलाई मिचिमिचि धुन्छन, तर उनै मूलभट्ट भने आफ्नो सुरक्षा पशुपतिले गर्न नसक्ने देखेर सरकारले खटाएको हतियारधारी सुरक्षागार्डलाई राख्छन् भनेर लेखक चुडामणि गिरीले धार्मिक प्रपञ्चको भण्डाफोर गरिदिनुभएको छ ।   

 चाहे हिन्दुका पण्डित हुन्, चाहे क्रिश्चियनका पोपहरु हुन्, चाहे इस्लामका गुरुहरु नै किन नहुन्, सबैलाई बुढेस्काल लाग्छ, थला पर्छन्, ओछ्यानमै दिसापिसाब चुहिने अवस्था बन्छ र अरु सर्वसाधारण जस्तै गरी मर्छन् । कसैलाई कसैको परमात्माले सोझै स्वर्ग÷जन्नत÷हेभेन लग्दैन । तसर्थ यी धर्मगुरुहरु भनेका सबै सर्वसाधारणलाई ईश्वरको भय देखाएर लुट्ने र यो वर्ग विभाजित समाजमा बर्ग संघर्ष चर्कनबाट रोक्ने दाउपेचका पात्रहरु मात्र हुन् । पुस्तक पढेपछि पाठकहरु यसरी नै सोच्न बाध्य हुन्छन् ।   

 लेखकले अन्त्यमा भौतिकवादी समाज गठन भएको र त्यसैलाई देशव्यापी बनाउँदै समाजलाई भौतिकवादतर्फ आकर्षित गर्दै लैजाने कुरा गरेर पुस्तकलाई बिट मार्नुभएको छ ।

    पुस्तकमा भएका व्याकरण सम्बन्धी त्रुटीले सचेत पाठकलाई अलिकति खल्लो महशुस गराउँछ । आफ्ना लेखहरुलाई पुष्टि गर्ने खालका प्रख्यात लेखक, नेपाली अध्ययनकर्ता, वैज्ञानिकहरुको भनाइहरुलाई ठाउँ ठाउँमा राख्न सकेको भए अझ मिठास् आउँने थियो भन्ने मेरो बुझाइ रहेको छ । पुस्तक समग्रमा पढनीय छ । मूल्य पाँच सय भएता पनि सो मूल्य बराबरको शोधभर्ना पुस्तकले गर्न सक्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर