• २०८३ श्रावण १० आइतबार
  • Sunday, 26 July, 2026

नेपाल टेलिभिजन र हिमालयले विश्वकप फाइनल निःशुल्क देखाउने 

काठमाडौं । विश्वकप फुटबलको फाइनल खेल नेपाल टेलिभिजनको 'एनटिभी प्लस' र हिमालय टेलिभिजनबाट नि:शुल्क प्रसारण हुने भएको छ।

आज आइतबार राति १२:४५ बजे हुने अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल एनटिभी प्लसबाट नि:शुल्क प्रसारण गर्न लागेको सञ्चार तथा सूचना मन्त्री विक्रम तिमिल्सिनाले बताएका छन्।

त्यस लगत्तै यसअघि ९ सय ९९ रुपैंया लिएकाे हिमालय टिभीले पनि आज रातिकाे अन्तिम खेल निःशुल्क देखाउने घाेषणा गरेका हुन् । फाइनल खेल हेर्नबाट कोही पनि वञ्चित हुन नपरोस् भनी हिमालय टिभी व्यवस्थापनले यो निर्णय गरेको कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

यसअघि हिमालय स्पोर्टस् र डिगो एप सब्स्क्राइब नगरेकाहरूले पनि फाइनल खेल भने नि:शुल्क हेर्न पाउने गरी व्यवस्था गरिएको हो ।

मन्त्री तिमिल्सिनाले विश्वकपका अन्तिम दुई खेल नि:शुल्क प्रसारण हुन लागेको जानकारी दिँदै फेसबुकमा लेखेका थिए, 'फिफा वर्ल्ड कप २०२६ तेस्रो स्थान र फाइनल खेलको नि:शुल्क प्रत्यक्ष प्रसाण एनटिभी प्लसले गर्नेछ।'

यस वर्ष विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारण गर्न एस्प्रो मिडियाले फिफाबाट अधिकार प्राप्त गरेको थियो। त्यसैअन्तर्गत टेलिभिजनतर्फ हिमालयन स्पोर्ट्स र ओटिटी/मोबाइल एपतर्फ डिगो एपलाई प्रसारण अधिकार दिने गरी सम्झौता गरिएको थियो।

फिफामा बिडिङ गरी प्रत्यक्ष प्रसारणको अधिकार प्राप्त गरेपछि नेपालभित्र क-कसले प्रसारण गर्ने भन्ने जिम्मेवारी त्यही मिडिया मातहत रहन्छ। प्रतियोगिता सुरू भएदेखि नै नेपाल टेलिभिजनमार्फत नि:शुल्क देखाउनुपर्छ भन्ने माग पनि हुँदै आएको थियो। संसदमा समेत यसबारे कुरा उठ्यो। तर बिडिङ गरी प्रसारण अधिकार लिनुपर्ने भएकाले त्यो सम्भव थिएन।

सरकारले गरेको अनुरोध अनुसार फिफाबाट अधिकारप्राप्त एस्प्रो मिडिया र नेपाल टेलिभिजनबीच सहमति भएर नि:शुल्क देखाउन सम्भव भएको हाे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर