शंकरलाल अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अभियोग लागेका व्यवसायी शंकरलाल अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बयान र थुनछेक बहस सकिएपछि न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।

गत जेठ २८ गते जिल्ला सरकारी वकिल कार्यालयले ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबी गर्दै इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शंकरलाल अग्रवाल, सुलभ अग्रवाल र साहिल अग्रवालविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरेको थियो।

अदालतको आदेशअनुसार जगदम्बा स्टिल लिमिटेडले नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा सहवित्तीयकरण (कन्सोर्टियम) बैंकहरूबाट लिएको ‘वर्किङ क्यापिटल लोन’ उत्पादन तथा व्यवसाय सञ्चालनमा प्रयोग नगरी जग्गा खरिद र त्यससँग सम्बन्धित कारोबारमा प्रयोग गरिएको देखिएको छ। अदालतले उक्त ऋण अन्ततः सहप्रतिवादी दीपक भट्टको स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्स प्रालिमा सेयर लगानी गर्न प्रयोग भएको प्रारम्भिक प्रमाणबाट देखिएको उल्लेख गरेको छ।

आदेशमा जगदम्बा स्टिल लिमिटेडको बैंक खाताबाट जारी भएका चेकमा हस्ताक्षर गर्ने अधिकार भएका व्यक्तिमध्ये शंकरलाल अग्रवाल पनि रहेको उल्लेख गर्दै कम्पनीले प्राप्त गरेको धातुपुँजी तथा अल्पकालीन कर्जाको योजनाबद्ध रूपमा दुरुपयोग गरिएको प्रारम्भिक आधार भेटिएको भनिएको छ।

अदालतले शंकरलाल, सुलभ र साहिल अग्रवाल एउटै परिवारका सदस्य तथा कम्पनीको बैंक खाता सञ्चालनमा समान जिम्मेवारीमा रहेकाले रकम दुरुपयोगबारे शंकरलाललाई जानकारी नभएको भन्ने दाबी विश्वासयोग्य नदेखिएको निष्कर्ष निकालेको छ।

त्यस्तै, शंकरलाल अग्रवालको बैंक खाता प्रयोग गरी जटिल वित्तीय कारोबार गरिएको, कम्पनीका नाममा लिएको कर्जा सहप्रतिवादीको कम्पनीमा सेयर खरिदका लागि प्रयोग भएको तथा त्यसबाट वित्तीय प्रणालीमा गम्भीर जोखिम सिर्जना भएको देखिएकाले थुनामा राख्नु आवश्यक रहेको अदालतले आदेशमा उल्लेख गरेको छ।

अदालतले उक्त कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ मा रहेको ‘कर्जाको दुरुपयोग गर्न नहुने’ व्यवस्थाविपरीत भएको प्रारम्भिक रूपमा देखिएको जनाएको छ। आदेशमा नेपाल राष्ट्र बैंकले तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदन तथा सहप्रतिवादी सुलभ अग्रवाल र दीपक भट्टले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयानलाई पनि महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर