• २०८३ श्रावण १० आइतबार
  • Sunday, 26 July, 2026

डिम्ब कारोबारमा डा. नूतनले बिचौलियासँग आर्थिक कारोबार गरेको पुष्टि

काठमाडाैं । नाबालिका किशोरीको अवैध डिम्ब कारोबार प्रकरणमा पक्राउ परेकी बिचौलिया राधिका गोतामे र वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आइभिएफ (इन–भिट्रो फर्टिलाइजेसन) विशेषज्ञ डा. नूतन शर्माबिच आर्थिक कारोबार भएको देखिएको छ । अनुसन्धानका क्रममा फेला परेका ह्वाट्सएप सन्देश र मोबाइल बैंकिङ कारोबारका विवरणले दुवैबिच आर्थिक लेनदेन भएको प्रारम्भिक पुष्टि भएको प्रहरीको भनाइ छ ।

गत आइतबार पक्राउ गरेकी गोतामेमाथि अवैध डिम्ब कारोबारका लागि नाबालिका खोजी गर्ने बिचौलियाको भूमिका खेलेको आरोप छ । डा. शर्मा भने ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा सञ्चालित आइभिएफ सेन्टरकी सञ्चालिका हुन् । प्रहरीको अनुसन्धानअनुसार गोतामेले नाबालिका उपलब्ध गराउने र त्यसबापत प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिने गरेको प्रारम्भिक प्रमाण फेला परेको छ ।

नयाँ पत्रिकालाई प्राप्त ह्वाट्सएप सन्देशले पनि यस्तो आर्थिक कारोबार भएको देखाउँछ । प्राप्त विवरणअनुसार डा. शर्माले गोतामेको बैंक खातामा मोबाइल बैंकिङमार्फत पटक–पटक ५०–५० हजार रुपैयाँ पठाएको देखिन्छ । प्राप्त सन्देशअनुसार डा. शर्माले गोतामेलाई ५० हजार रुपैयाँ मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । डा. शर्माले उक्त रकम २५ डिसेम्बर २०२५ को साँझ ६ः३१ मा गोतामेको बैंक खातामा मोबाइल बैंकिङमार्फत पठाएको देखिन्छ । त्यस्तै, २२ डिसेम्बर २०२५ को साँझ ७ः५८ मा पनि डा. शर्माले गोतामेको बैंक खातामा ५० हजार रुपैयाँ नै पठाएको देखिन्छ । प्रहरीका अनुसार गत १४ असारमा १६ वर्षीया नाबालिकाको डिम्ब कारोबार गर्ने क्रममा पनि डा. शर्माले मोबाइल बैंकिङमार्फत नै गोतामेलाई ५० हजार रुपैयाँ पठाइदिएकी थिइन् । प्राप्त रकममध्ये ३० हजार रुपैयाँ उनले नाबालिकालाई उपलब्ध गराएकी थिइन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले अनुसन्धानका क्रममा डा. शर्मा र गोतामेबिच डिम्ब कारोबारसँग सम्बन्धित आर्थिक लेनदेन देखिएको बताए । ‘अवैध डिम्ब कारोबारमा संलग्न एक बिचौलिया पक्राउ परेकी छिन् । उनी र घटनामा संलग्न एक चिकित्सकबिच आर्थिक कारोबार भएको देखिन्छ । पीडित नाबालिकाको बयानले पनि यो तथ्यलाई समर्थन गरेको छ । उनले डिम्ब दिएबापत ३० हजार रुपैयाँ पाएको बताएकी छिन् । घटनाको अनुसन्धान जारी छ र थप तथ्य खुल्दै गएका छन्,’ उनले भने ।

प्रहरीका अनुसार घटनामा डा. शर्मा, गोतामे र अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने देखिएको छ । हाल उपलब्ध प्रमाण संकलन गर्ने र थप संलग्न व्यक्तिको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । ‘यो अवैध कारोबारमा संगठित गिरोह संलग्न रहेको प्रारम्भिक संकेत देखिएको छ । अनुसन्धान जारी छ र पर्याप्त प्रमाण जुटेपछि सम्बन्धित व्यक्तिविरुद्ध कानुनी कारबाही अघि बढाइनेछ,’ उनले भने ।

प्रहरीका अनुसार गोतामेलाई बी एन्ड बी अस्पताल परिसरबाट पक्राउ गरिएको थियो । घटनाका समयमा डा. शर्मा फिलिपिन्सको मनिलामा रहेकाले उनलाई तत्काल पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार गोतामेले आर्थिक अवस्था कमजोर रहेकी १६ वर्षीया किशोरीलाई आर्थिक प्रलोभन देखाएर डिम्ब दान गर्न राजी गराएकी थिइन् । त्यसपछि ती किशोरी बी एन्ड बी अस्पतालस्थित आइभिएफ सेन्टर पुगेकी थिइन्, जहाँ उनलाई डिम्ब उत्पादन बढाउने उद्देश्यले इन्जेक्सन लगाइएको आरोप छ । सात दिनपछि पुनः आउन भनिएपछि घर फर्किएकी किशोरीको स्वास्थ्यमा प्रतिकूल असर देखिएको थियो । त्यसपछि मात्र यो घटना प्रहरीकहाँ पुगेको हो ।

यसअघि पनि लिंग पहिचान गरी गर्भपतन गराएको अभियोगमा नेपाल मेडिकल काउन्सिलले डा. शर्माको चिकित्सकीय इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरेको थियो । उक्त निर्णयविरुद्ध उनले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले काउन्सिलको निर्णय कार्यान्वयन रोक्ने अन्तरिम आदेश दिएको थिएन । नयाँ पत्रिकाबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर