• २०८३ भदौ ३ बुधबार
  • Wednesday, 19 August, 2026

डा.केसीसँग सरकारले आज औपचारिक वार्ता गर्ने

धनगढी । चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय)मा उपकुलपति र रजिस्टार नियुक्ति गैरकानुनी भएको भन्दै अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता सुरु गरेको छ । धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेललाई पठाएको हो ।

डा. केसीका सहयोगी अमृत जैसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गरेका छन् । डा. केसीले आफ्नो बटमलाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको उनले बताए । 

‘सचिवज्यूसँग डाक्टरसाबले मेरो बटमलाइन पाँचबुँदे माग हो, त्यो पूरा गर्ने गरी आउनोस् भन्नुभयो,’ जैसीले भने, ‘वार्ता टोलीको संयोजक भोलि आउनुहुन्छ, थप छलफल भोलिको औपचारिक वार्तामा होला ।’ 

सरकारका तीन प्रतिनिधिले डा. केसीसँग आइतबार औपचारिक संवाद गर्ने तयारी छ । शिक्षामन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास कोइराला धनगढी जाने सामाजिक सञ्जालबाटै जानकारी दिएका छन् । मन्त्री पोखरेलले शुक्रबार केसीका सहयोगी जैसीसँग उनका मागबारे फोनमा कुरा गरेका थिए ।

रक्तचाप र शरीरमा ग्लुकोजको मात्रा कम भएपछि अस्पताल भर्ना भएका केसीलाई आइसियूमा राखिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राखेर विगतमा पनि कयौँपटक अनशन बसेका डा. केसीले अहिले पनि चिकित्सा शिक्षा आयोग र गेटा मेडिकल कलेजमा भएको नियुक्ति बदरसँगै चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, गत वर्ष २३ र २४ भदौमा जेन–जी आन्दोलनका क्रममा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशमा संलग्नलाई कारबाही गर्न र ०४६ देखि हालसम्म उच्चपदस्थ, राजनीतिक पदाधिकारीबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर