चिकित्सकको माग के हो ? स्वास्थ्यमन्त्रीले भनिन्ः दोषीमाथि कारबाही हुँदैछ
काठमाडाैं । चिकित्सकहरुको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको हो ।
संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ ।
चिकित्सकहरुको आन्दोलनका कारण अस्प्तालका सेवा बन्द भएपनि उपचारका लागि पुगेका बिरामीहरु थप समस्यामा परेका छन् ।
यसैबीच चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नगर्न सबै अस्पताललाई अपिल गरेको छ।
मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्रभावित नपार्न सबै अस्पताल र स्वास्थ्यकर्मीलाई अनुरोध गरेका हुन्। मन्त्रालयका अनुसार स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुनेमा जोड दिइएको छ।
विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट, तोडफोड र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि मन्त्रालयले जनाएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै राष्ट्रिय ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। मन्त्री मेहताले दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निरन्तर पहल गरिरहेको मन्त्रालयले जनाएको छ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नपुर्याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अपिल गरिएको छ।







प्रतिकृया दिनुहोस