ओलीलाई कोशीबाट शंकरको जवाफः तिलकुमार हैन, हिक्मतनै मुख्यमन्त्री
- राईलाई कार्कीले भनेः निर्देशन हैन निर्णय ल्याउनुस
विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चुलिएसँगै नेकपा (एमाले)भित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने विषयले आन्तरिक शक्ति संघर्षको रूप लिएको छ। पार्टीको कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र केन्द्रको नीतिअनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढाएका छन्।
यता एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्की भने तत्काल राजीनामा दिने पक्षमा देखिएका छैनन्। एमाले नेतृत्वकै सरकारलाई बीचमै परिवर्तन गर्दा जनमानसमा नकारात्मक सन्देश जाने उनको तर्क छ। उनले पार्टीको औपचारिक र संस्थागत निर्णयबिना आफूले पद नछाड्ने अडान राख्दै आएका छन्।
स्रोतका अनुसार कार्कीले नेतृत्व परिवर्तन आवश्यक ठानिए पार्टीको विधि र प्रक्रियाबाट निर्णय गर्नुपर्ने सन्देश दिएका छन्। 'हटाउनुपर्छ भने पार्टीको विधि र प्रक्रियाबाट हटाउनुस्' भन्ने उनको धारणा रहेको स्रोतको भनाइ छ।
उनले आफ्नो विकल्पका रूपमा नयाँ ‘कार्ड’ पनि अघि सारेका छन् ।
ओलीले नयाँ मुख्यमन्त्रीका लागि तिलकुमार मेन्याङ्बोको नाम अघि सारेपछि चिढिएका मुख्यमन्त्री कार्कीले आफूले छोड्नु परे इलामका राम राना मगरलाई मुख्यमन्त्री बनाउनुपर्ने सर्त अघि सारेका छन् ।
स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले आफू निकटस्थहरू र पार्टीका केही जिम्मेवार नेताहरूसँग संवादमा भनेका छन् ‘यदि पार्टीले मलाई नै हटाउने निर्णय गर्छ र मैले मार्गप्रशस्त गर्नुपर्ने हो भने मेरो प्रस्ताव राम राना मगर हो । उनलाई मुख्यमन्त्री बनाउने सुनिश्चितता हुन्छ भने म विचार गर्न तयार छु ।’
इलामका राम राना मगर मुख्यमन्त्री कार्कीका विश्वासपात्र मानिन्छन् ।
एमाले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई यतिबेला अध्यक्ष ओलीको योजना कार्यान्वयन गर्न विराटनगरमा केन्द्रित छन् । ओलीले मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने ग्रिन सिग्नल दिएपछि राईले सांसदहरूको हस्ताक्षर संकलन र लबिङ तीव्र पारेका छन् ।
कोशी जानुअघि प्रदेश इन्चार्ज शेरधन राईलाई अध्यक्ष ओलीले भेटेर आवश्यक निर्देशन दिएका थिए। ओलीको निर्देशनपछि राई मुख्यमन्त्री परिवर्तनको पहलमा सक्रिय बनेका हुन्।
तर कोशी प्रदेश सरकार गठनको संवैधानिक आधार भने नेतृत्व परिवर्तनका लागि चुनौतीपूर्ण देखिएको छ। संविधानको धारा १६८(५) अन्तर्गत गठन भएको सरकारमा दलको ह्विप प्रभावकारी नहुने भएकाले मुख्यमन्त्रीले स्वेच्छाले राजीनामा नदिएसम्म नयाँ सरकार गठन प्रक्रिया जटिल हुने संवैधानिक जानकारहरूको भनाइ छ।
मुख्यमन्त्री कार्की ओलीकै निर्वाचन क्षेत्रका लामाे समयदेखि विश्वासपात्रका रुपमा काम गरेका झापाका नेता थिए । तर पछिल्लो समय दुई नेताबीच दूरी बढेको एमाले स्रोतको दाबी छ। स्रोतका अनुसार ओली कार्की नेतृत्वको प्रदेश सरकारसँग असन्तुष्ट छन्। कार्की सरकारले ल्याएको बजेट असफल बनाउने प्रयाससमेत भएको दाबी गरिए पनि त्यो सफल हुन नसकेको स्रोतको भनाइ छ।
अध्यक्ष ओलीले कार्कीलाई हटाएर एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेको दाबी पनि स्रोतले गरेको छ।
यता, पछिल्लो समय मुख्यमन्त्री कार्की एमाले महासचिव शंकर पोखरेलसँग निकट देखिएका छन्। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका कार्कीलाई महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितका प्रभावशाली नेताहरूको समर्थन रहेको एमाले वृत्तमा चर्चा छ।
यसरी कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषय केवल प्रदेश सरकारको पुनर्गठनमा सीमित नभई एमालेभित्रको आगामी शक्ति सन्तुलनसँग समेत जोडिएको देखिएको छ।







प्रतिकृया दिनुहोस