थप ग्यास ल्याउँदा पनि किन देखियाे अभाव ?
जनकपुरधाम । केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिए पनि वीरगन्ज नाका भएर भित्रिने ग्यास बुलेटको सङ्ख्या भने बढेको छ । वीरगन्ज नाका भएर साउन १ देखि २० गतेसम्मको २० दिनको अवधिमा ग्यास बोकेका ९७९ बुलेट भित्रिएका छन् । २०८२ सालको सोही अवधिमा वीरगन्ज नाका भएर ८५९ ग्यास बुलेट भित्रिएका थिए ।
२०८३ साउन १ गतेदेखि २० गतेसम्म गत वर्षको सोही अवधिभन्दा १२० बुलेट बढी अर्थात् ९७९ बुलेट भित्रिएका हुन् । नेपाल आयल निगमको वीरगन्ज कार्यालयका प्रमुख मोहनप्रसाद साहका अनुसार मुलुकको झन्डै ६० प्रतिशत खाना पकाउने ग्यास भित्रिने वीरगन्ज नाकाबाट निर्बाध रूपमा ग्यास बोकेका बुलेट भित्रिइरहेका छन् ।
नेपाल आयल निगमको वीरगन्ज कार्यालयका अनुसार पूरा सिलिन्डर ग्यास दिन थालिएपछि असारमा वीरगन्ज नाका भएर एक हजार ४२९ ग्यास बुलेट भित्रिएका थिए भने त्यसअघि आधा सिलिन्डर ग्यास वितरण गरिँदा जेठमा ९३४ र वैशाखमा ९७४ ग्यास बुलेट वीरगन्ज नाका भएर भित्रिएका थिए ।
साउनको २० दिनमा अन्य ८२२ ग्यास बुलेट वीरगन्ज नाका भएर आयात गर्न पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) दिइसकिएको र अझ ८८ वटाको दुई दिनभित्र पिडिओ दिने तयारी गरिएको कार्यालय प्रमुख मोहनप्रसाद साहले जानकारी दिए ।
साउनको २० दिनमा वीरगन्ज नाका भएर नेपाल ग्यास उद्योगले सबैभन्दा बढी ८३ वटा बुलेट भित्र्याएको छ भने सगरमाथा ग्यास इन्डस्ट्रिजले ७२ बुलेट, नोबेल ग्यास उद्योग प्रालिले ५७ वटा, बाबा ग्यास उद्योगले ५१ वटा, जानकी ग्यास उद्योगले ५० वटा र एभरेस्ट ग्यास उद्योगले ४२ वटा ग्यास बुलेट भित्र्याएका हुन् । भारतको दुर्गापुर, हल्दिया, बरौनी र परादीपमा रहेका रिफाइनरीबाट ग्यास भरेर बुलेट वीरगन्ज नाका भएर नेपाल भित्रिने गरेका छन् । आगलागी भएर असार २६ गतेदेखि दुर्गापुर र हल्दिया रिफाइनरीबाट ग्यास आउन छाडेको प्रमुख साहले बताए ।
आधा सिलिन्डर ग्यास बाँडिन थालेपछि सर्वसाधारणले घरमा रहेका ग्यास सिलिन्डरको सङ्ख्या बढाएका र पूरा सिलिन्डर आएपछि भएका सबै सिलिन्डर भरेर राख्न खोजेपछि बजारमा अभाव सिर्जना भएको प्रमुख साहले दाबी गरे ।







प्रतिकृया दिनुहोस