राति पक्राउ पर्ने त्रास, देउवा अब दिउँदै काठमाडौं ओर्लने
काठमाडौं । कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्कने तालिका संशोधन गरिएको छ । यसअघि २६ साउन राति ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुग्ने तय भएकामा अब उनी २८ साउन दिउँसो नेपाल आउने भएका छन् ।
स्वास्थ्य उपचारका लागि देउवा गत १३ फागुनमा सिंगापुर गएका थिए । उनी त्यसबेला प्रतिनिधिसभा निर्वाचनमा मतदानसमेत नगरी उपचारका लागि सिंगापुर गएका थिए । करिब पाँच महिनापछि उनी स्वदेश फर्कन लागेका हुन् ।
फर्कदा विमानस्थलमा देउवालाई स्वागत गर्न ठूलो संख्यामा नेता–कार्यकर्ता उपस्थित गराउने तयारी रहेकाले रातिको समयलाई यताबाट संशोधन गर्न आग्रह गरिएको थियो । त्यसैअनुसार उनको टिकट सारिएको हो ।
‘पहिला २६ गते राति ९ बजेर ४५ मिनेटको थियो । सबैले दिउँसो आउनुपर्छ भनेपछि संशोधन भयो,’ कांग्रेस नेता प्रकाशरण महतले भने, ‘अब २८ गते बैंकक हुँदै थाई एयरलाइन्सबाट दिउँसो १२ बजेर २५ मिनेटमा ल्याण्ड गर्ने तालिका छ । हामी १२ बजेभन्दा अगाडि नै एयरपोर्ट पुग्छौं ।’
तत्कालीन केन्द्रीय कार्यसमितिका मुख्य सचिव कृष्ण पौडेलले पनि देउवा २८ साउन दिउँसो नेपाल आउने निश्चित भएको बताए । उनका अनुसार देउवा दिउँसो १२ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
देउवा लामो समयपछि नेपाल फर्कन लागेकाले उनको स्वागतका लागि ठूलो संख्यामा नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित गराउने तयारी भइरहेको छ । स्वागतका लागि उपयुक्त समय मिलाउनकै लागि यसअघि तय भएको २६ साउन राति ९ः४५ बजेको उडानको टिकट संशोधन गरिएको नेताहरूले बताएका छन् ।
देउवाविरुद्ध पक्राउ पूर्जि जारी भएकाे थियाे । विदेशमा रहेक उनलाई रेड नाेटिस जारी गरेर नेपाल झिकाउने तयारी पनि सरकारकाे थियाे । तर उनले अदालतबाट पक्राउ नगर्नु भन्ने अन्तरिम आदेश पनि लिएकाले विमानस्थलबाट पक्राउ पर्ने सम्भावना कम रहेकाे स्राेतकाे दावी छ ।
यसैबीच भेलालाई पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । कांग्रेसका नेता डा. शशांक कोईरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।
उनले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोमा खुशी पनि व्यक्त गरे । नेता कोईरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट दायर न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले २१ साउन २०८३ अनुमति प्रदान गरेको जानकारी दिए । उनले अदालतको उक्त निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताए । सर्वोच्चको पछिल्लो निर्णयले भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कार्यकर्ताहरूमा थप उत्साह जगाउने उनको दाबी छ ।
पार्टीको आन्तरिक एकता र भावी कार्यदिशा तय गर्न आयोजना गरिएको राष्ट्रिय भेलाका बारेमा प्रष्ट पार्दै नेता कोईरालाले भने, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकतावद्ध बनाउन यो भेला कोशेढुङ्गा सावित हुनेछ । पहिले हामीले १० देखि २० हजारको सहभागिता हुने अनुमान गरेका थियौँ तर अदालतको यो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ, जसका कारण भेलामा उल्लेख्य सहभागिता हुने देखिएको छ, । पूर्णजी अस्वस्थ हुनुहुन्छ र शेखर दाइ विराटनगरमा आफ्नै काममा व्यस्त हुनुभएकोले उपस्थित हुन नसक्नुभएको हो तर यो अभियानमा उहाँहरूको पूर्ण समर्थन र ऐक्यवद्धता रहेको छ ।’







प्रतिकृया दिनुहोस