• २०८३ श्रावण २५ सोमबार
  • Monday, 10 August, 2026

आज तीन शक्ति राष्ट्रका राजदूतसँग एक्लै भेट्दै बालेन, पहिलाे प्राथामिकतामा भारत

काठमाडौं । आफ्नै अडानबाट पछि हट्दै प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज शक्ति राष्ट्रका तीन राजदूतहरुसँग भेट्ने तयारी गरेका छन् । 

यसअघि सामूहिक रूपमा भेट गरेर प्रशंसासमेत कमाएका उनले अब भने एक्लाएक्लै भेटघाट गर्न थालेका हुन् ।

उनले प्रधानमन्त्री बालेनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्न अस्वीकार गर्दै आएका थिए । सोमबारदेखि उनले विभिन्न देशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्दै छन् । सुरुवातमा भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटघाट हुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग भेट्ने र त्यसपछि अमेरिकालगायतका राजदूतहरूसँग भेट्ने योजना छ ।

चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाइ दिन राजदूतहरूले समय माग गरेका थिए । यद्यपि उनले कसैलाई नभेटी चैत २५ गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गरेका थिए । सोही क्रममा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारेमा पनि जानकारी गराएका थिए ।

सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियोग प्रमुखहरू उपस्थित थिए ।

त्यसपछि उनले जेठ १२ गते नेपालस्थित युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेमटवार्ता गरेका थिए ।

समूहमा भेटिसकेका राजदूतहरूले त्यसपछि पनि प्रधानमन्त्री बालेनसँग छुट्टै भेट्ने प्रयास गरेका थिए । तर उनले त्यस्तो भेटवार्ताका लागि समय दिएका थिएनन् । उनले विदेशबाट आउने उच्चस्तरयीय कुटनीतिज्ञहरूसँग पनि भेट्न मानेका थिएनन् ।

अमेरिका र चीनबाट आएका विशिष्ट अतिथिहरूलाई पनि प्रधानमन्त्री बालेनले भेट दिएका थिएनन् । प्रधानमन्त्री बालेनले भेट्न नमानेपछि भारतका विदेश सचिव विक्रम मिस्रीले आफ्नो भ्रमण नै स्थगित गरेका थिए ।

कूटनीतिक क्षेत्रका व्यक्तिहरूसँग भेटघाट गर्नुपर्छ भनेर प्रधानमन्त्री बालेनलाई धेरै ठाउँबाट सुझाव आइरहेको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले पनि भेटघाट तथा भ्रमणका लागि थुप्रैपटक प्रयास गरेका थिए, तर प्रधानमन्त्री बालेनले सिधै इन्कार गर्दै आएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर