रोल्पा पहिरोः नेता पुनले प्रधानमन्त्री बालेन भेटेर गरे उद्धार र राहतकाे आग्रह
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा राेल्पाका जनप्रतिनिधि वर्षमान पुनले राेल्पामा गएकाे भयानक पहिराे र त्यसमा भएकाे क्षेतीबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका छन् ।
नेता पुनले भने:
निरन्तरको बाढी तथा पहिरोका कारण हाम्रो रोल्पाले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरिरहेको छ। यही साउन २७ गते थबाङ गाउँपालिका–५, उवामा गएको पहिरो तथा बाढी र हिजो राति सुनछहरी गाउँपालिका–२, भित्रीगामका विभिन्न स्थानमा गएको पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। केही हप्ताअघि सुनछहरी गाउँपालिका–सेरममा समेत पहिरोबाट मानवीय क्षति भएको थियो।
रोल्पामा निरन्तर भइरहेको विपद्बाट भएको जनधनको क्षतिबारे आज सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूसँग भेट गरी जिल्लाको जनप्रतिनिधिका रूपमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु।
प्रधानमन्त्रीसमक्ष मैले मुख्यतः निम्न विषय राखेको छु :
१. पछिल्ला दिनमा आएको बाढी तथा पहिरोबाट रोल्पामा धेरै मानिसको मृत्यु, बेपत्ता र घाइते भएका छन्। कतिपय बस्ती नै बगेका छन्। घर–आवास, पशुचौपाया तथा खाद्यान्नमा क्षति पुगेको छ भने सडक, खानेपानी, विद्यालयलगायतका सार्वजनिक संरचना भत्किएका छन्। यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने कुरा राखेको छु।
२. उवा घटनामा बेपत्ताको खोज तथा उद्धारमा संघीय सरकारसहित विभिन्न तहका सरकार र सुरक्षा निकायले देखाएको तदारुकता सराहनीय छ। उवा तथा भित्रीगामका पहिरोमा अझै बेपत्ता रहेकाहरूको खोज तथा उद्धारलाई प्रभावकारी र तीव्र बनाउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको छु।
३. बाढी–पहिरोमा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, आवासविहीन भएकाहरूलाई तत्काल अस्थायी आवास तथा राहत र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न आग्रह गरेको छु। सडक, खानेपानीलगायत अवरुद्ध सार्वजनिक सेवा तत्काल सञ्चालन गर्न तथा दीर्घकालीन रूपमा सडक, खानेपानी, विद्यालयलगायतका संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छु।
४. वर्षायाम अझै बाँकी रहेको र थप बाढी–पहिरोको जोखिम कायमै रहेकाले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि रोल्पाको भौगोलिक विकटतालाई समेत ध्यानमा राखी आवश्यक उद्धार टोली तथा हेलिकोप्टर तयारी अवस्थामा राख्न आग्रह गरेको छु।
प्रधानमन्त्रीज्यूले उवाको घटनामा उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको र पीडितलाई राहत उपलब्ध गराउन निर्देशन दिइसकेको बताउनुभयो। उहाँले बेपत्ताको खोजीका लागि थप निर्देशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, बाढी–पहिरोका कारण अवरुद्ध सार्वजनिक सेवा तत्काल सञ्चालन तथा पुनःस्थापना गर्ने र जाजरकोट–रुकुम भूकम्पपछि अपनाउन लागिएको पुनर्निर्माणको नेपाली मोडलअनुसार रोल्पामा भएको क्षतिको पनि पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्रीसँगको भेटमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालमगर, नेपाली कम्युनिष्ट पार्टीका लुम्बिनी प्रदेश संयोजक अब्दुल हुसेन खाँ र सहसंयोजक कृष्ण अधिकारी पनि सहभागी हुनुहुन्थ्यो।
लगातारका विपद्ले सिंगो रोल्पालाई गहिरो शोकमा डुबाएको छ। यस दुःखद् घडीमा बाढी–पहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
पहिरो तथा बाढीपीडितहरूको तत्काल उद्धार, उचित राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न प्रदेश तथा स्थानीय सरकारको पनि गम्भीर ध्यानाकर्षण गराउँदछु। रोल्पाका बाढी–पहिरोपीडितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि म निरन्तर लागिरहनेछु।
यसै क्रममा, तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढी–पहिरोपीडितका लागि प्रदान गर्ने जानकारी गराउँदछु। साथै, विपद्पीडितहरूको अन्य राहत व्यवस्थापनका लागि समेत आवश्यक पहल अघि बढाइसकेको छु। पीडित परिवारसम्म राहत यथाशीघ्र पुर्याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिनेछ।
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई यस विपद्मा परेका परिवारहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सक्दो सहयोग गर्न हार्दिक आह्वान गर्दछु।
वर्षायाममा सम्भावित प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सतर्कता अपनाउन, जनस्तरमा सचेतना फैलाउन तथा उद्धार र राहतको पूर्वतयारीलाई प्रभावकारी बनाउन सबैमा आग्रह गर्दछु। विपद्को यस कठिन घडीमा उद्धार, राहत तथा सहयोगमा जुटिरहनुभएका स्थानीय सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, स्वयंसेवक तथा स्थानीयवासी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।´
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबीच भेटवार्ता भएको उनकाे सचिवालयले जनाएकाे छ ।
भेटवार्ताका क्रममा नेता पुनले रोल्पाका गएको पहिरो र क्षतिका विषयमा जानकारी गराएका थिए। उनले पहिरो पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री शाहसँग आग्रह गरेको नेता पुनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले पहिरो पीडितको उद्धार र राहतमा सहयोग गर्ने बताए। उनले पीडित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
यससँगै उनीहरूबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ।







प्रतिकृया दिनुहोस