'म न गँजडी, न जड्याहा, न ड्रगिस्ट, के खोज्या हो ?'
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हवाइ यात्रा गर्दा विमानस्थलमा कडा चेकजाँच गरिएकोप्रति आपत्ति जनाएका छन् ।
हिजो इलाम पुगेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बैठकलाई सम्वोधन गर्ने क्रममा आफूलाई अपराधिको जस्तो व्यवहार गरिएको गुनासो गरे ।
मेटल डिटेक्टरको सहयोगले शरीरमा खानतलासी गरिएको भन्दै उनले रोष प्रकट गरे ।
ओलीले भने, ‘मेटल डिटेक्टर लगाएको छ, यो गर्या छ, उ गर्या छ । के निकाल्न खोज्या ? के बरामद गर्न खोज्या ?’
उनी अझै थप्छन्– पल्टाई पल्टाइकन छाम्छ, के भेटिन्छ भनेर हो । यसो… यसो… गरेर छाम्छ सबै । के छाम्या हो यिनले मेरो शरीरमा ? हिजो पनि भएको थियो भद्रपुरमा । आजै पो हो क्यारे । काठमाडौँमा छाम्छ, यता छाम्छ, उ त्यहाँ परै छाम्छ । त्यहाँबाट अलि भित्र आए त्यहाँ छाम्छ, अलि भित्र आए त्यहाँ छाम्छ ।
के छाम्या हो ? मेटल डिटेक्टर लाउँछ- ट्याक ट्याक ट्याक ट्याक । फेरि एउटा ढोकाबाट छिराउँछ– त्यहाँ पनि ट्याक ट्याक ट्याक ट्याक । उधुमै गर्यो ! एक ठाउँ जाँचेपछि त पुग्नु पर्ने, फेरि अर्को ठाउँ जाँच्छ । भद्रपुर आउँछु, त्यहाँ पनि जाँच्छ, फेरि मेटल यसो यसो गर्छ, यसो यसो गर्छ । तमासा !
म न गँजडी, न जड्याहा, न ड्रगिस्ट, न के । के खोज्या हो ? न मसँग १९० तोला सुन, न कतै लुकाएको केही छ । अनि के छाम्या हो, के छाम्या । यिनको काम यस्तै हो, गर्नुपर्ने ठाउँमा गर्दैनन् ।
ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ । एअरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लाउँछ । गेटबाट छिराउँछ, ग्याँ ग्याँ बनाउँछ, अनि त्यति गर्दा नपुगेर छाम्छ के । मालिस गर्न थाल्या हो कि के गर्या हो ?
एयरपोर्टमा गरिएको चेकिङप्रति ओलीले दोस्रोपटक सार्वजनिकरुपमा गुनासो गरेका हुन् । गत माघमा पनि उनले आफूलाई सुन तस्करजस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाएका थिए ।





प्रतिकृया दिनुहोस