महिनामै चाैथाे पटक बढ्याे अण्डाकाे मूल्य, कति पुग्याे ?
काठमाडौँ । बर्डफ्लु संक्रमणसँगै कुखुरा अत्यधिक मात्रामा नष्ट भई अन्डा उत्पादनमा कमी आएपछि एक महिना अवधिमै अन्डाको मूल्य ४ पटक बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले साउनमा अन्डाको समर्थन मूल्य चार पटक बढाएको हो । संघले साउन सुरुमा सबैभन्दा ठूलाे अन्डाको मूल्य प्रतिक्रेट ५२५ तोकेकामा अन्तिममा ५७५ रुपैयाँ पुर्याएको छ ।
संघले ५ साउनदेखि लागू हुने गरी निर्धारण गरेको एक्सएल अन्डाको मूल्यभन्दा २९ साउनको मूल्यमा प्रतिकेट ५० रुपैयाँ बढी छ । ५ साउनमा संघले एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५२५, ठूलो अन्डा ५०० र मिडियम अन्डा ४७० रुपैयाँ तथा सानो अन्डा पेटीको २९ सय कायम गरेको थियो । २९ साउनको मूल्यसूचीअनुसार एक्सएल अन्डाको समर्थम मूल्य प्रतिक्रेट ५७५ रुपैयाँ पुगेको छ । ठूलो अन्डाको मूल्य ५६० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५२० रुपैयाँ छ । सानो अन्डाको मूल्य पनि ३ हजार २ सय रुपैयाँ पेटी पुगेको छ ।
५ साउनको तुलनामा २९ साउनमा ठूलो अन्डाको मूल्य ६० र मिडियमको मूल्य ५० रुपैयाँले बढेको छ । सानो अन्डाको मूल्य पनि प्रतिपेटी ३ सय रुपैयाँ बढेको छ । १२ साउनमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५४५, ठूलो अन्डा ५३० र मिडियम अन्डा ५०० रुपैयाँ कायम गरिएको थियो । सानो अन्डाको मूल्य भने ३ हजार रुपैयाँ पेटी तोकिएको थियो ।
संघले २५ साउनदेखि पुनः मूल्य बढाएको थियो । त्यसअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अन्डा ५४५ रुपैयाँ र मिडियम अन्डा ५०० रुपैयाँ निर्धारण गरिएको थियो । सानो अन्डाको मूल्य ३ हजार रुपैयाँ पेटी नै कायम थियो ।
संघले चितवनमा भएको भौतिक तथा भर्चुअल बैठकमा देशभरका अन्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ ।
कुखुरामा बर्डफ्लु संक्रमण फैलनुपश्चात् अन्डाको मूल्य निरन्तर बढेको संघका अध्यक्ष विनोद पोखरेलले बताए । उनका अनुसार संक्रमण फैलिनुअघि ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५३५ रुपैयाँ थियो । तर बर्डफ्लु फैलिएपश्चात् मूल्य घटेर प्रतिक्रेट ४७५ पुगेको संघका अध्यक्षले बताए । उनले बर्डफ्लुले करिब १० लाख कुखुरा नष्ट भएको र त्यसले अन्डा उत्पादनमा कमी आएको छ ।
किसानले लागत मूल्य पाऊन् भन्ने उद्देश्यले मूल्यवृद्धि गरे पनि अझै पाउन नसकेको उनले बताए ।
पशु सेवा विभागका अनुसार बर्डफ्लुबाट ४ फागुनदेखि असार मसान्तसम्म १२ जिल्लाका १६२ वटा फार्म प्रभावित भएका थिए । जसमा संक्रमणबाट ८ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । साथै १२ लाख २५ हजार ५ सय ३६ वटा अन्डा र २ लाख ६४ हजार २ सय १३ किलो दाना नष्ट गरिएको थियो ।
बजारमा माग र अभावको अवस्थालाई देखाएर व्यापारीदेखि संस्थाहरूले आफूखुसी मूल्य बढाउने गरेको उपभोक्ता अधिकारकर्मीहरूले बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारी नियमन गर्न नसक्नु, कुनै पनि मापदण्ड नराख्नु र प्रभावकारी अनुगमन नहुनुले पनि बजारमा अस्वाभाविक रूपमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्य बढ्ने गरेको बताए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार नेपालमा मूल्य निर्धारण गर्ने छुट्टै कानुनी व्यवस्था वा मापदण्ड नै छैन ।






प्रतिकृया दिनुहोस