नेकपाका शीर्ष नेता गिरफ्तार गर्ने योजना रहेको प्रचण्डको खुलासा, आन्दोलनको चेतावनी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपाका शीर्ष नेताहरु गिरफ्तार हुने खतरा औंल्याएका छन्। नेकपा बागमती प्रदेशको बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले त्यो खतराका विरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्ने उनले संकेत गरे।
विभिन्न वाहानामा नेकपाका शीर्ष नेताहरुलाई नै पक्राउ गर्ने सरकारको तयारी रहेको सूचना आफूले पाएको उनले बताएको एक सहभागिले समाचार दैनिकलाई जानकारी दिए।
‘रास्वपाको सरकार बनेपछि बेथिति धेरै बढे, हामीले आवश्यकताभन्दा बढी प्रिभिलेज दियौँ। भ्रष्टाचार बढ्दै गयो, मिडियाको मुख थुन्ने काम भयो,’ प्रचण्डले भने, ‘यसका विरुद्ध अब बोल्नुपर्छ, नत्र गणतन्त्रमाथि नै प्रहार हुन सक्छ। हामी छिट्टै आन्दोलनको अपिल गर्छौँ, यसमा सबैको सहयोग चाहिन्छ। तपाईंहरू सबै तयारी अवस्थामा बस्नुहोस्।’
उनले अर्को प्रशंगमा नेकपासँग विचार मिल्ने राजनीतिक दलहरुसँग ढिलो चाँडो एकता हुने बताएका थिए। प्रचण्डको यो संकेत नेकपा एमालेसँगको एकतातर्फक लक्षित थियो।
नेकपा (एमाले) सँग भएको तीनबुँदे सहमतिले वामपन्थीहरूबीच सहकार्यको ढोका खोले पनि केपी शर्मा ओलीको प्रवृत्ति यथावत् रहेसम्म तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे।
उनले अगाडि भने, ‘एमालेसँग भएको तीनबुँदे सहमतिले सहकार्यको ढोका खुलेको छ। तर, उहाँ (ओली) को प्रवृत्ति नहटेसम्म एकता हुँदैन। हामी दीर्घकालीन रूपमा एकता गर्ने पक्षमै छौँ। कसैलाई मन परे पनि नपरे पनि अहिलेलाई सहमति कार्यान्वयन गरेर जानुको विकल्प छैन।’
अर्काे एक प्रशंगमा ‘प्रचण्ड’ले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिए।
एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देउवाको हिन्दुबारेकाे अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवाले आइतबार इतर समूहद्वारा आयोजित भेलालाई समापन गर्ने क्रममा ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए। सो भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी निर्णयसमेत गरेको थियो।
देउवाको अभिव्यक्ति र कांग्रेस इतर समूहको पाँचबुँदे निर्णयतर्फ इङ्गित गर्दै प्रचण्डले संविधानविरोधी गतिविधि र अभिव्यक्ति नदिन सचेत गराएको जानकारी पार्टी नेता हिमाल शर्माले दिए। बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘संविधानभन्दा दायाँबायाँ लाग्नुभयो भने तपाईं आफैँ सकिनुहुन्छ र देश पनि दुर्घटनामा पर्छ। आफैँले बनाएको संविधानविपरीत निर्णय र अभिव्यक्ति नदिनुहोला।’







प्रतिकृया दिनुहोस