राप्रपा फुटाएर बागमती सरकार, थापालाई दल नेताबाट हटाउन थालियाे

हेटौंडा । पूर्वपञ्चहरुको पार्टी राप्रपा विभाजनको संघारमा पुगेको छ । बागमती सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा दुई भागमा विभाजित हुँदा पार्टी ने विभाजित हुने अवस्था देखिएको हो । तर बागमतीको विभाजनले केन्द्रमा कस्तो प्रभाव पार्छ भन्ने यकिन छैन । 

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमाले र नेकपाको नेतृत्वमा बन्न लागेको प्रदेश सरकारलाई आफ्नो समर्थन कायमै रहेको बताएका छन्।

तर उता राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकारमा पार्टी सहभागी नभएको भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरे पनि बिहीबार आफूहरूको शपथ ग्रहण हुने र एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन समर्थन रहने थापाले बताएका हुन्।

राप्रपाले अन्य प्रदेशमा सरकारलाई समर्थन गरिरहेको अवस्थामा बागमतीमा भने केन्द्रीय अध्यक्षले प्रदेश संसदीय दललाई निर्णय गर्ने अधिकार नदिई केन्द्रीयता लाद्न खोजेको उनको आरोप छ। प्रदेश सरकारमा सहभागी हुने विषयमा लामो समयदेखि केन्द्रलाई जानकारी गराउँदै आए पनि विभिन्न बहाना बनाएर रोकिएको उनले बताए ।

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा आफूहरू सरकारमा सहभागी भए आफ्नो पकड कमजोर हुने डरले अध्यक्ष लिङ्देनले सरकारमा सहभागी हुन रोकिरहेको उनको दाबी छ।

केन्द्रले आफूलाई कारबाही गर्न लागेको विषयमा जानकारी नभएको बताउँदै थापाले आफू संसदीय दलको नेता रहँदासम्म आज भएको सहमतिअनुसार नेकपा र एमाले नेतृत्वको सरकारलाई समर्थन जारी रहने स्पष्ट पारे।

तर थापालाई बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउने तयारी संस्थापनले गरेको छ । 

पार्टीको निर्णय विपरीत आफूखुसी निर्णय गरेको भन्दै उनलाई संसदीय दलको नेताबाट हटाउने प्रक्रिया थालेको प्रदेश सांसद कुमारी तामाङले जानकारी दिइन्।

अनुमति बिनै मुख्यमन्त्रीमा समर्थन गरेपछि पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति नरहेको बताएको थियो।

यसअघि एमालेका नेता किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपाले संयुक्त रूपमा प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेस गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर