अमरेशकुमारले भनेः प्रधानमन्त्रीले बाेलाउँदैमा अख्तियारका अधिकारी जानु पर्दैन
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको साख गिराउने काम गरिरहेको आरोप लगाएका छन्।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री मातहतको निकाय नभएको स्मरण गराएका छन्। ‘कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा तपाईँहरू नजानुहोस्। यो समिति संसदीय निगरानी समिति भएकाले यहाँ आउन मिल्छ,’ उनले भने, ‘अख्तियार प्रधानमन्त्रीको मातहतको संस्था होइन। तपाईँहरूले त्यति हिम्मत त राख्नैपर्छ।’
प्रधानमन्त्री शाहले बोलाउँदा लिखित रुपमा माग्न उनले अख्तियारका पदाधिकारीलाई सचेत गराए। उनले अख्तियारको मर्यादा दिनप्रतिदिन खस्किँदै गएको उल्लेख गरे। यसमा प्रधानमन्त्रीको मुख्य भूमिका रहेको औंल्याए।
‘जब संस्थाको मर्यादा समाप्त हुन्छ, तब कसैले त्यसको कदर गर्दैन। प्रधानमन्त्रीकै नजरमा अख्तियारको कुनै महत्त्व छैन भने सांसदको नजरमा किन हुन्छ?,’ उनले प्रश्न गरे, ‘सांसदकै नजरमा नभएपछि आम नागरिक वा गाउँका मान्छेले यसको कदर किन गर्ने?’
प्रधानमन्त्री शाहले आफ्ना मान्छे भर्ती गर्न खोजेको आरोप लगाए। यसरी मान्छे भर्ती गराउन नमिल्ने उनको भनाइ थियो।
‘प्रधानमन्त्रीले आफ्ना मान्छे भर्ती गर्न खोज्ने वा अख्तियार प्रमुखलाई बोलाएर फलानो ठाउँमा मेरा मान्छे राख्नू भन्न मिल्छ? यो त मिल्दै मिल्दैन नि,’ सांसद सिंहले भने, ‘हामी पनि त यसको निगरानी गरिरहेका हुन्छौँ।’
उनले प्रधानमन्त्री हुँदैमा राजा नहुने जिकिर गरे। गणतन्त्रमा सबै बराबर भएको उनको भनाइ थियो। ‘प्रधानमन्त्री हुँदैमा कोही राजा हुँदैन र सांसद वा नागरिक हुँदैमा कोही रैती वा प्रजा हुँदैन,’ सांसद सिंहले थपे, ‘गणतन्त्र आइसकेपछि राजा र प्रजाको यो व्यवस्था उहिल्यै समाप्त भइसकेको छ।’
उनले अख्तियारको गरिमा जोगाइराख्न अख्तियारका पदाधिकारीलाई पनि सचेत गराए। उनले अख्तियारका पदाधिकारीलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरे।







प्रतिकृया दिनुहोस