देशको नेतृत्व फेरि कम्युनिष्टको हातमा ल्याउने काम गर्दैछौँ: वर्षमान पुन
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले मुलुकले कम्युनिष्ट शक्तिबीच एकता र लोकतान्त्रिक शक्तिबीच सहकार्य खोजेको बताएका छन्। शनिबार पार्टीको खानीखोला गाउँपालिका सम्पर्क समिति, काभ्रेको भेलालाई सम्बोधन गर्दै पुनले विचार मिल्ने शक्तिबीच एकता गरेर अघि बढ्नुपर्ने पक्षमा आफूहरू रहेको बताए।
नेकपा विभाजनले निम्त्याएको निराशाको पृष्ठभूमिमा गत भदौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंस भएको उनको भनाइ थियो। ‘नेकपा हुँदा गठबन्धन गरेर बहुमत ल्यायौँ, त्यसलाई टिकाउन सकेनौँ। नेकपाको बहुमत नटिकेकै कारण कम्युनिष्टले पनि गर्न सकेनन् भन्ने निराशा भयो। त्यसमा विभिन्न खालका चलखेल र घुसपैठ पनि भए,’ पुनले भने, ‘जुन प्वाइन्टमा गल्ती भयो, त्यही प्वाइन्टबाट अगाडि बढ्नुपर्छ।’
पुनले कम्युनिष्ट पार्टीलाई फेरि नेतृत्वदायी भूमिकामा फर्काउन सकिने दाबी गरे। उनले नेपाली कम्युनिष्ट पार्टीलाई सम्मेलन वा महाधिवेशनमार्फत पुनर्गठन र सुदृढ गर्ने तथा अन्य वाम घटकसँग एकता गर्ने विषयलाई सँगसँगै अघि बढाइने बताए। ‘नेपाली कम्युनिष्ट पार्टीलाई सुदृढ गर्नैपर्छ। हामी गर्छौँ। त्यतिले मात्र पुग्दैन। अहिलेको चुनौती सामना गर्न हामीले एजेन्डा मिल्ने विभिन्न वाम घटकसँग सहकार्य गर्ने र त्यसलाई एकतासम्म रूपान्तरण गर्ने काम गर्नुपर्छ। कम्युनिष्ट पार्टीलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न सम्भव छ, त्यो गर्न सकिन्छ,’ उनले भने।
यस्तै, संविधान र व्यवस्थामाथिको प्रहार रोक्न कांग्रेस तथा मधेसकेन्द्रित दलसहित संविधान र लोकतन्त्र पक्षधर शक्तिबीचको सहकार्यलाई पनि आफूहरूले जोड दिएको पुनले बताए। पुनले गत भदौ २३ गते सुरु भएको जेनजी आन्दोलन २४ गतेसम्म पुग्दा ‘हाइज्याक’ भएको दाबी गरे। आन्दोलनमा भूराजनीतिक चलखेल र घुसपैठसमेत भएको उनको भनाइ थियो। ‘गत भदौ २३ र २४ गते देशमा ठूलो दुर्घटना भयो। जेनजीहरूले २३ गते आन्दोलन गरे। २४ गतेसम्म जाँदा त्यो आन्दोलन हाइज्याक भयो। भूराजनीतिक चलखेल, द्वन्द्व र घुसपैठ भयो,’ पुनले भने।
पाकिस्तान, श्रीलंका र बंगलादेशका राजनीतिक घटनाक्रमसँग नेपालको घटनालाई जोड्दै उनले ठूला विश्वशक्तिबीचको भूराजनीतिक प्रतिस्पर्धाको असर नेपालमा पनि परेको बताए। बदलिँदो अन्तर्राष्ट्रिय शक्ति संघर्षमा नेपालको स्वाधीनता र राष्ट्रिय हित जोगाउन कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने उनको धारणा थियो। अमेरिका, चीन र भारतबीचको बढ्दो प्रतिस्पर्धाका कारण नेपालजस्ता साना तथा मध्यम मुलुकमाथि चुनौती थपिएको उनले बताए।
‘अमेरिका, चीन र भारत आपसमा तानातानमा छन्, आफ्नो प्रभाव क्षेत्र विस्तारमा छन्। साना वा मझौला देशको अस्तित्व आज निकै चुनौतीपूर्ण अवस्थामा छ। देशै बच्छ कि बच्दैन भन्नेजस्तो छ,’ पुनले भने। उनले इरान, भेनेजुयला, युक्रेन र प्यालेस्टाइनका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै विश्व राजनीति शक्ति संघर्षमा केन्द्रित भएको बताए।
‘ठूला देशहरूबीचको लडाइँमा युक्रेन मिचिइराखेको छ। प्यालेस्टाइनमा ठूला देशको लडाइँ छ, जनता चेपुवामा परेका छन्। विश्वभर जसको शक्ति उसको भक्ति जस्तो छ। विश्व राजनीति कुनै नियममा चलेको छैन,’ उनले भने। संसारभर विभिन्न खालका क्षेत्रीय गठबन्धन बन्ने क्रम देखिएको भन्दै पुनले आफ्नो सुरक्षाका लागि नेपालले पनि त्यसतर्फ काम गर्नुपर्ने बताए। कूटनीतिक सन्तुलन कायम गर्दै आफ्नो ‘पोजिसन’ स्पष्ट गरेर नेपालले स्वाधीनता जोगाउनुपर्ने उनको भनाइ थियो।‘देश रह्यो भने आन्तरिक राजनीतिक प्रतिस्पर्धा त गर्दै गरौँला नि,’ उनले भने।यद्यपि, भूराजनीतिक प्रभावको कुरा गरेर मात्र आफ्ना कमजोरीबाट उम्किन नहुने पुनले बताए।
पुनले पछिल्लो पुस्तासँग स्थापित पार्टीहरूको सम्बन्ध कमजोर भएको स्वीकार गर्दै युवालाई केवल मतदाताका रूपमा हेर्ने प्रवृत्ति बदल्नुपर्ने बताए।







प्रतिकृया दिनुहोस