एक सातामा हर्मुज नाका खोल्ने इरानको प्रस्ताव किन गरे ट्रम्पले अस्वीकार?
एजेन्सी । अमेरिकाले हर्मुज जलमार्ग सात दिनभित्र पुनः खोल्ने इरानको नयाँ प्रस्ताव अस्वीकार गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्तावलाई अस्वीकार गरेको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले समाचार लेखेको छ।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले बिहीबार न्युयोर्कमा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष हर्मुज जलमार्ग खोल्न नयाँ सात दिने युद्धविराम प्रस्ताव अमेरिकासमक्ष राखेका थिए।
इरानले निश्चित सर्त पूरा भए सात दिनभित्र हर्मुज खोल्ने र त्यसपछि अमेरिका–इरानबीच युद्धको स्थायी समाधानका लागि व्यापक वार्ता सुरु गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको थियो।
राष्ट्रसंघको महासभाका क्रममा पत्रकार तथा प्राज्ञहरूको भेलामा अराग्चीले प्रस्ताव स्वीकार भएको भोलिपल्टदेखि सात दिनको समयसीमा सुरु हुने र त्यसपछि हर्मुज खोलिने बताएका थिए। ‘योजना एकदमै स्पष्ट छ। उनीहरूले यो योजना स्वीकार गरेको क्षणदेखि अर्को दिनबाट समयसीमा सुरु हुन सक्छ र सात दिनपछि हर्मुज खुला हुनेछ,’ अराग्चीले भनेका थिए। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्ताव स्वीकार नगरेको वाल स्ट्रिट जर्नलले जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार इरानले अमेरिकाको सर्त र माग पूरा गर्ने शंका व्यक्त गरेका छन्। बरू इरानमाथि पुनः बमबारी अभियान हुन सक्ने ट्रम्पले बताएका छन्।
इरानको नयाँ प्रस्ताव गत जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्रमा आधारित थियो। उक्त समझदारीमा अप्रिलमा भएको युद्धविरामलाई थप ६० दिन लम्ब्याउने, इरानी तेल निर्यात र ढुवानीमा अमेरिकी प्रतिबन्धबाट छुट दिने तथा हर्मुजबाट हुने समुद्री आवागमनलाई युद्धअघिको अवस्थामा क्रमशः फर्काउने व्यवस्था गरिएको थियो।
त्यस अवधिमा दुवै पक्षले दीर्घकालीन समाधानका लागि वार्ता गर्ने सहमति गरेका थिए।
समझदारीअनुसार इसराइलले लेबननमा तत्काल सैन्य कारबाही रोक्नुपर्ने तथा हर्मुजमा समुद्री आवागमनको भविष्यको व्यवस्थापन इरान र छिमेकी ओमानले तय गर्ने भनिएको थियो। तर जुलाईको सुरुवातमै उक्त समझदारी भंग भएको थियो।
ट्रम्पले यसअघि भएको समझदारीमा फर्किन पनि अस्वीकार गर्दै आएका छन्।







प्रतिकृया दिनुहोस