बाढीको त्रासः कालीगण्डकीको बाढीले ६६ घर बगायो

काठमाडौं । अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको छ। थप २३ घर उच्च जोखिममा रहेका छन्। 

सशस्त्र प्रहरीका अनुसार बाढीले मान्छे बस्ने ६६ घर बगाएको हो। टहरा, गोठलगायतका संरचनासमेत जोड्दा क्षतिग्रस्त संरचनाको संख्या करिब ८० पुगेको छ। 

बाढीबाट थप २३ घर उच्च जोखिममा रहे पनि त्यहाँ रहेका सबै स्थानीयलाई समयमै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बस्ती नजिकैको उच्च स्थानमा स्थानान्तरण गरिएको छ। 

घटनामा हालसम्म मानवीय क्षति भएको छैन। उच्च जोखिममा रहेका घरका सामानसमेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। 

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। प्रहरी अधिकारी र वडा अध्यक्षसहितको टोलीले घटनास्थलमा बसेर उद्धार तथा क्षतिको अवस्थाबारे निगरानी गरिरहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर