कांग्रेसकाे १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि, देउवा जालान् त उद्घाटन गर्न?
काठमाडौँ । देशकै सबैभन्दा पुराना लाेकतान्त्रीक दल नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने कार्यक्रममा भोलिदेखि बन्दसत्र हुनेछ ।
उद्घाटनका लागि सभापति गगनकुमार थापाले पूर्व सभापति शेरबहादुर देउवालाई निम्ताे दिएपनि उनले भने अस्वीकार गरेका छन् ।
उद्घाटन कार्यक्रममा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ ।
महाधिवेशनमा करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी हुने भएका छन् । कांग्रेसको महाधिवेशनमा यो अहिलेसम्मकै धेरै प्रतिनिधिको सहभागिता हुनेछ । उनीहरूले पाँच वर्षका लागि पार्टीको नीति र नेतृत्व तय गर्दै छन् ।
कांग्रेसको पहिले पदाधिकारी संख्या १४ रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर तीन पदाधिकारी थपिएको थियो । अहिले फेरि पदाधिकारी थप्ने तयारी छ । नेतृत्वमा आकांक्षी बढेकाले पदाधिकारी संख्या बढाउने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए । अहिलेको विधानमा सभापति एक, उपसभापति र महामन्त्री दुई–दुई, आठ क्लस्टरबाट आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ । विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी तीन सहमहामन्त्री थपेको छ । मनोनयन हुने सहमहामन्त्रीमा एक महिला अनिवार्य हुने भनिएको छ ।
वैशाख २०७८ देखि बन्द गरिएको खुलामञ्चमा महाधिवेशन गरी कांग्रेसले नीति र नेतृत्व रूपान्तरण गर्न खोजेको छ । ०४६ र ०६२/०६३ को जनआन्दोलन सफल भएपछि विशाल कार्यक्रम भएको खुलामञ्चमा महाधिवेशन गरी कांग्रेसले नयाँ सन्देश दिन खोजेको छ । ०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि विशाल सभा पनि यही मञ्चमा भएको थियो ।
१ फागुन ०७३ मा नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन नेकपा माओवादीले खुलामञ्चमा महाधिवेशन उद्घाटन गरेको थियो । वैशाख ०७८ पछि कांग्रेस महाधिवेशनको मौकामा राजनीतिक कार्यक्रमका लागि खुलामञ्च खुला हुँदै छ ।
कांग्रेसको १४औं महाधिवेशनमा चार हजार सात सय ४३ प्रतिनिधि थिए । पुस अन्तिम साता भएको विशेष महाधिवेशनले १४औं महाधिवेशनका सभापति शेरबहादुर देउवालाई विस्थापित गरी गगन थापालाई सभापतिमा चयन गरेको थियो । १५औं महाधिवेशनबाट थापा सभापति हुने तयारीमा छन् ।
यही असोज २२ गतेसम्म चल्ने महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् । प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।
संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ ।







प्रतिकृया दिनुहोस