• २०८३ असोज २० मंगलबार
  • Tuesday, 6 October, 2026

कांग्रेस महाधिवेशनः गगनकाे जित पक्का, अन्य पदमा तिब्र प्रतिस्पर्धा

काठमाडौँ । कांग्रेसको १५औं महाधिवेशनको पहिलो दिन आइतबारसम्मको स्थितिमा सभापतिमा गगन थापा नै निश्चितप्रायः देखिएका छन् । तर, अन्य पदाधिकारीमा भने उम्मेदवार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ ।

सभापतिका लागि थापासँग नेविसंघका पूर्वअध्यक्षसमेत रहेका तत्कालीन सहमहामन्त्री किशोरसिंह राठोरले प्रतिस्पर्धा गर्ने घोषणा केही दिनअघि नै गरे पनि उनी आइतबार साँझसम्म पनि बर्दियाबाट क्षेत्रीय प्रतिनिधि भएर काठमाडौं आउन सकेका छैनन् । स्थानीय विवादका कारण बर्दियाका दुवै निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधिको चुनाव हुन सकेको छैन । विवाद मिलाउन केन्द्रबाटै प्रतिनिधि तोकेर छलफल जारी छ ।

सभापतिबाहेकका अन्य पदाधिकारीमा संख्या बढाउन खोजिएपछि प्रतिस्पर्धी झनै बढेका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दुई उपसभापति पद थप गर्ने सिफारिस गरेको छ । अब वरिष्ठसहित उपसभापतिको संख्या चार पुग्नेछ । महिलाका लागि महामन्त्रीमा पनि आरक्षण गर्न खोजिएको छ । विधान मस्यौदा समितिले दुई खुला महामन्त्री रहेकामा एक महामन्त्री महिलाका लागि थप्ने प्रस्ताव गरेको छ । मस्यौदा समितिका सदस्य जीवन परियारले तल्लो तहमा रहेको दलित समुदायलाई पनि नेतृत्वमा ल्याउनका लागि एक महामन्त्रीको आरक्षण गरिनुपर्ने भन्दै फरक मत राखेका छन् ।

यसअघि आठ वटा क्लस्टरबाट एक/एक जना सहमहामन्त्री आउने व्यवस्था थियो । जसअनुसार खसआर्य, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारू र पिछडिएको क्षेत्रबाट सहमहामन्त्री हुने व्यवस्था छ । विशेष महाधिवेशनबाट एक महिलासहित दुई जनालाई सभापतिले मनोनयन गर्ने गरी थपिएको छ । त्यससहित ११ सहमहामन्त्री थिए । यस पटक थप २ खुला र १ अल्पसंख्यकका लागि सहमहामन्त्री थप्ने प्रस्ताव छ । अब सहमहामन्त्रीको संख्या १४ पुग्नेछ ।

यस्तै केन्द्रीय सदस्यको संख्या पनि बढाउने प्रस्ताव छ । खुलातर्फ ३५ जनाको ठाउँमा ४५ जना र महिला खुलातर्फ ९ जनाको ठाउँमा १७ जना पुर्‍याइँदै छ । योसहित केन्द्रीय समितिको आकार २ सय ४५ हुने महामन्त्री प्रदीप पौडेलले बताए । वर्तमान उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । अर्की नेतृ पुष्पा भुसालले महिला उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । प्रस्तावित वरिष्ठ उपसभापतिमा शर्माबाहेक अन्यको दाबी देखिएको छैन ।

मस्यौदा समितिले सिफारिस गरेको पदाधिकारी संख्या बढाउने प्रस्ताव केन्द्रीय कार्यसमितिले निर्णय गरेर महाधिवेशनमा लैजानुपर्छ । त्यसका लागि सोमबार बिहान खुलामञ्चमा नै केन्द्रीय कार्यसमिति बैठक डाकिएको छ ।

अन्य उपसभापतिका आकांक्षीमा ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङदेम्बे, गोविन्द भट्टराई, जीवन परियार देखिएका छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका कार्की पार्टीमा भने केन्द्रीय सदस्यभन्दा माथि आएका छैनन् । आङदेम्बे तत्कालीन देउवा नेतृत्वको कार्यसमितिमा पूर्वसहमहामन्त्री हुन् भने हाल प्रमुख प्रतिपक्ष दलका नेता हुन् । त्यसैगरी भट्टराई नेविसंघकै पूर्वअध्यक्ष हुन् । उनी पनि केन्द्रीय सदस्यभन्दा माथि उक्लिएका छैनन् ।

सबैभन्दा बढी प्रतिस्पर्धा महामन्त्रीमा देखिँदै छ । महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पनि महामन्त्री नै दोर्‍याउने तयारीमा छन् । यसबाहेक अहिलेसम्म घोषणा गरेकामा उदयशमशेर राणा, मधु आचार्य, नैनसिंह महर, सुनील शर्मा, अमर पुन र शंकर तिवारी छन् । राणा वर्तमान कार्यसमितिमा सहमहामन्त्री हुन् । शर्मा तत्कालीन सांसद तथा केन्द्रीय सदस्य हुन् । पुन लुम्बिनी प्रदेश कार्यसमितिका सभापति हुन् । तिवारीले एक पटक केन्द्रीय सदस्यसमेत नभई एकैचोटि महामन्त्रीमा दाबी गरेका हुन् ।

सहमहामन्त्रीका लागि मीन विश्वकर्मा, जीवनबहादुर शाही, रामहरि खतिवडा, प्रतिमा गौतम, मनोजमणि आचार्य, योगेश गौचन, डिला संग्रौला, प्रकाश स्नेही, फरमुल्लाह मन्सुर, सीता गुरुङ, ओमबहादुर घर्ती, अजयबाबु शिवाकोटी, योगेन्द्र चौधरी, विकास कोइराला, मुक्ताकुमारी यादव, अभिषेकप्रताप शाहले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि कांग्रेसमा पदाधिकारी संख्या बढाउनुको मुख्य कारण गुटगत व्यवस्थापन हुने गरेको थियो । नेताहरूले आफ्नो प्यानल र गुटका आकांक्षीलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या बढाउने अभ्यास गर्दै आएका थिए । तर, यस पटक सभापति थापाले त्यस्तो प्यानल नबनाउने बताएका छन् ।

कांग्रेसमा अहिले चार पुस्ताको प्रतिनिधित्व छ । तर, दोस्रो, तेस्रो र चौथो पुस्ताबीचको प्रतिस्पर्धा तीव्र छ । पहिलो पुस्ताको प्रतिनिधित्व गर्ने पूर्वसभापति शेरबहादुर देउवा र उनका समकालीन नेताहरू करिब पाखा लागिसकेका छन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशशरण महत, एनपी साउदसहितका नेताहरू पनि यस महाधिवेशनमा सहभागी छैनन् ।

अहिले पार्टी नेतृत्व तेस्रो पुस्ता अर्थात् सभापति थापाको उमेर समूहका नेताहरूको हातमा छ । थापामाथि विगतमा जस्तो बलियो गुटगत चुनौती छैन । त्यसैले पदाधिकारी थपिनुको प्रमुख कारण गुट व्यवस्थापनभन्दा पार्टीभित्रको सबै पुस्तागत आकांक्षा व्यवस्थापन गरेर जानुपर्ने अवस्था भएको महामन्त्री पौडेल बताउँछन् । नयाँ पुस्ताको प्रवेशसँगै पुराना पुस्ताको अनुभवलाई समेत जोडेर पार्टी हाँक्नुपर्ने भएकाले नेतृत्व संरचनालाई फराकिलो बनाइएको उनले बताए ।

थापापछिको पुस्ताका कम्तीमा २१ जना नेताहरू एकै पटक केन्द्रीय सदस्य बन्दै छन् । नयाँ पुस्ताका नेताहरूले पनि पदाधिकारीमा पुग्ने आकांक्षा राखिरहेका छन् । अर्कोतर्फ महिलालाई तलदेखि नेतृत्व तहमा ल्याउने गरी विधानमा संशोधन गरिएको छ । कांग्रेसले हरेक तहमा पदाधिकारीसहित महिलाको सहभागिता कम्तीमा एकतिहाइ हुने व्यवस्था गरिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर