पाेखरा ओख्लेमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाउने ५ पुगे
पोखरा । कास्कीकाे पाेखरा महानगरपालिका–२८ ओख्लेमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा ४ विद्यार्थी र एक स्थानीयले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा कालिका बोर्डिङका विद्यार्थी, बस चालक र अन्य यात्रुसमेत घाइते भएका छन् । माझठानाको सौर्य क्षेत्रबाट विद्यार्थी लिएर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको बस सडकबाट करिब ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेकाहरूको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा राखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै अस्पताल ल्याउने क्रममा पाँच जनाको निधन भइसकेको जनाएको छ । जसमा १५ वर्षिया ममता तिवारी, १५ वर्षिया सुवेच्छा तिवारी र परिचय नखुलेकी अर्की छात्रा रहेकी छन् भने १३ वर्षिय असिम कँडेल र ६५ वर्षिय बाबुराम तिवारी रहेको अस्पतालले जनाएको छ । थप २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा–२८ का बाबुराम उपचारका लागि लिफ्ट मागेर बसमा चढेका थिए ।प्रहरीले मृतकको पहिचान तथा दुर्घटनामा मृत्यु हुने सबैको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालयबाट थप उद्धारका लागि बिहान ७ : ४० बजे प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र जिल्ला प्रहरी प्रमुख नवीन कार्कीको कमान्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालमा उपचाररत बिरामीसम्बन्धी विवरणमा उल्लेख छ ।
जीएमसीमा उपचाररत विद्यार्थी सृष्टि तिवारी, शिसन थापा मगर र सौगात तिमिल्सिनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरू तीनै जना कक्षा १० मा अध्ययनरत १६ वर्षका विद्यार्थी हुन् ।
दुर्घटनामा बस चालक तुलबहादुर गुरुङ घाइते भएका छन् । उद्धारका क्रममा प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन् । उनको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







प्रतिकृया दिनुहोस