• २०८३ असोज २६ सोमबार
  • Monday, 12 October, 2026

दीक्षान्त समाराेहमा प्रधानमन्त्री बालेनले भनेः कुनै पनि दबाब र प्रभावमा नपर्नु

काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानुनको शासन कायम गर्न निर्देशन दिएका छन्। 

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शाहले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी र अनुशासन नै मुख्य आधार भएको बताए। करिब १६ महिना लामो कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतलाई बधाई दिँदै प्रधानमन्त्री शाहले पेशागत मर्यादा र नैतिकतामा जोड दिए। 

‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु,’ शाहले भने, ‘अब प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नैतिकता, निष्ठा, इमान्दारी, अनुशासन र जवाफदेहितालाई आफ्नो कार्यसम्पादनको आधार बनाउनुहुनेछ भन्ने अपेक्षा गर्दछु।’

प्रधानमन्त्री शाहले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए। 

‘बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नु आवश्यक छ। यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,’ शाहले भने। 

प्रहरी अधिकारीलाई सङ्गठनको प्रोटोकल विपरितका व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न सचेत गराए। नागरिकको जिउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उनले आग्रह गरे। 

‘संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु,’ उनले थपे, ‘शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको हो।’

दीक्षान्त समारोह बालेनकाे सम्बोधनको पूर्ण पाठः


* यस प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उपस्थित विशिष्ट अतिथिज्यूहरू,
अन्य अतिथिज्यूहरू,
अभिभावक तथा परिवारजन,
आज दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरू,
र, सञ्चारकर्मी मित्रहरू लगायत सम्पूर्णमा नमस्कार।

* यस समारोहमा सहभागी प्रहरी निरीक्षकहरु, जो १६ महिने आधारभूत तालिम पूरा गरेर आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ। यसका लागि यहाँहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना। आफ्ना छोराछोरीलाई यो चुनौतीपूर्ण पेशामा आबद्ध हुन निरन्तर प्रेरित गर्ने आदरणीय अभिभावक र परिवारजनप्रति विशेष आभार।

* दीक्षित हुनुभएका प्रहरी निरीक्षकहरुले यस तालिममा प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्नका लागि आवश्यक ज्ञान र सीप पूर्णरुपमा हासिल गर्नुभयो भन्ने विश्वास छ। अब यसलाई व्यवहारमा उतार्न यहाँहरु पूर्ण रूपमा सक्षम हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु।

* कुनैपनि पेशागत सफलताको पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो। यो सँगै, पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डहरुको सही रुपमा पालना गर्नु/गराउनुले पनि व्यक्तिलाई पेशागत सफलता हासिल गर्न मद्दत पुग्छ। जिम्मेवारीप्रतिको जवाफदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरु लागु हुन्छन्।

* सधैं अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनैपनि संकट आउँदा नागरिकको जिउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकाले यो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनैपनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नराखी, आफ्नो कर्तव्यमा अडिग रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलता पूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास छ। र, आम नागरिकहरूलाई अनुभूत हुने गरि काम गर्न यहाँहरुलाई आग्रहसमेत गर्दछु।

* आज दीक्षित हुनुभएका प्रहरी निरीक्षक साथीहरु, यहाँहरुको असल कर्मले नै असल भविष्य निर्माण गर्नेछ। मलाई विश्वास छ - यहाँहरु कुनै पनि किसिमको दबाब र प्रभावमा पर्नुहुने छैन। आफ्नो संगठनको प्रोटोकल विपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुनेछैन।

* सूचना प्रविधिले यहाँहरुको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सहयोग गर्छ। समयको बदलाबसँगै अपराधका स्वरुप र प्रवृत्तिहरु पनि बदलिएका छन्। अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक, र प्रमाणमूखि अनुसन्धानका लागि सूचना र प्रविधिको सही सदुपयोग गर्न जरुरी छ। यसमा समग्र प्रहरी संगठन, नेतृत्व, प्रशिक्षक लगायतको पनि महत्वपूर्ण भूमिका रहन्छ। सरकार यस प्रकारको अनुसन्धानकाे लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन र यहाँहरुप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सधै प्रतिबद्ध छ।

* अन्तमा, आज दीक्षित हुनुभएका प्रहरी अधिकृतहरुलाई कार्यसफलताको शुभकामना छ। अभिभावकज्यूहरुप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु। समारोह आयोजक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर