साउदीका लागि सिफारिस सुनारलाई नेता पुनकाे सुझावः नाम फिर्ता लिनुस्
काठमाडाैं । सरकारले साउदी अरबको राजदूतमा प्रस्ताव गरेका गिरीबहादुर सुनारलाई संसदीय सुनुवाइ समितिका सांसदले नाम फिर्ता लिन सुझाव दिएका छन् । बुधबार संसदीय सुनुवाइका लागि बोलाइएका सुनारलाई राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा व्यवस्था गरिएको उच्च नैतिक चरित्र भएको हुनुपर्ने भन्ने योग्यतालाई उल्लेख गर्दै सांसदहरूले नाम फिर्ता लिन सुझाव दिएका छन् ।
नेकपाका सांसद वर्षमान पुनसँगै रास्वपाका सांसदहरू दीपक बोहरा, गजला समीम मिकरानी र पुनम अग्रवालले उक्त सुझाव दिएका हुन् । प्रस्तावित राजदूतका सम्बन्धमा समितिमा आएका उजुरी र राजदूत नियुक्तिका लागि तय योग्यता हेर्दा सुनारले नाम फिर्ता लिन राम्रो हुने सुझाव पुनले दिएका थिए । 'हामीकहाँ आएको उजुरी, उजुरीकर्ताको कुरा लाइभ नै सुनेको हो । उहाँको कुरा सुन्न सकिने थिएन,' पुनले भने, 'यस्तो गलत कुरामा अडिन राम्रो हुँदैन । मैले तपाईंको जवाफ पनि मागिरहेको छैन । तपाईं नाम फिर्ता लिनुस् भन्ने सुझाव हो ।'
राजदूतमा प्रस्तावित भए पनि सुनुवाइ चलिरहेका बेला नाम फिर्ता लिएमा समितिले अयोग्य भन्ने अवस्था नआउने पुनको भनाइ थियो । जवाफमा सुनारले भने आफूमाथि पनि जातीय हिंसा भएको तथा ती महिलासँग फोनमा झगडा भएकाले आफ्नो गल्ती नरहेको जिकिर गरेका थिए । 'पुरुषमाथि पनि हिंसा भएको छ । जातीय हिंसा भएको पनि छ । मैले महिला हिंसा गरेको छैन । दलित हिंसा भएको छ,' सुनारले भनेका थिए, 'रुँदैमा पनि ठिक हुन्छ भन्ने हुँदैन, यो पनि प्रमाण होइन । जोख्दाखेरि समान हुनुपर्छ । महिला रुँदैमा राजदूतमा अस्वीकार्य भएमा म मान्दिनँ ।'
रास्वपा सांसद दीपक बोहराले पनि नाम फिर्ता लिन सुझाव दिएका थिए । पीडित महिला र प्रस्तावित व्यक्तिको कुरा सुनेपछि नाम फिर्ता लिन उनले सुझाव दिएका हुन् । 'वर्षमानजीले भन्नुभयो क्वीट गरिदिनुस्, म त्योभन्दा अगाडि भन्छु, यस्ता कुरा आउँछन् भन्ने थाहा पाउँदापाउँदै किन एप्लाइ गरेको हो ? एप्लाइ नै नगरेको भए हुन्थ्यो,' बोहराले भने ।
रास्वपा सांसद मिकरानीले भने सांसद पुनले दिएको सुझावमा सोच्न भनेकी थिइन् । 'वर्षमान पुनले दिएको सुझाव लाई मानेर अगाडि बढेर जानुहुन्छ भने समय लिनुस्,' उनले भनिन् । महिलामाथि भएको हिंसा गम्भीर रहेको उनको भनाइ थियो । रास्वपाकै सांसद पुनम अग्रवालले पनि विवाहित हुँदाहुँदै अर्को महिलासँग प्रेममा थिए भनेर समितिमा नै भनेको कुराले पनि आफ्नो श्रीमतीमाथि समेत हिंसा गरेको पुष्टि भएको बताइन् । उनले पनि नाम फिर्ता लिन सुझाव दिँदै भनिन्, 'अझै पनि सोच्न समय लिनुहुन्छ भने लिनुस् तर जुन किसिमका गम्भीर उजुरी
अडियो भिडियो सबै छन् यो कतैबाट पनि उच्च नैतिकता भएको जस्टिफाइ हुँदैन ।'
एमाले सांसद पद्मा अर्यालले राजदूतमा उच्च नैतिक चरित्र भएको व्यक्तिलाई मात्रै पठाउनुपर्ने बताइन् । 'अर्काको परिवार बिखण्डन गर्न खोज्ने, परस्त्रीमाथि आँखा लगाउने, अनुचित खालको आर्थिक लेनदेनमा संलग्न हुने उजुरी आएका छन्,' अर्यालले भनिन्, 'यस्तो मान्छे नेपालको प्रतिनिधित्व गर्दै साउदी अरबको राजदूत कसरी नियुक्ति हुन्छ ? घरमा श्रीमती भएकोले अर्को महिलासँग प्रेम सम्बन्ध भएको भन्ने । मानवता यै हो, अधिकारकर्मी अभियन्ताको ?'







प्रतिकृया दिनुहोस