• २०८३ कार्तिक ६ बिहीबार
  • Thursday, 22 October, 2026

फेसबुकविरुद्ध २५ अर्ब डलर जरिवाना

एजेन्सी ।  फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी 'मेटा'लाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा हालसम्मकै ठुलो जरिवाना गरिएको छ।

बीबीसीका अनुसार अमेरिकाको न्यु मेक्सिको राज्यस्थित एक अदालतले मेटालाई डेटा गोपनीयतासम्बन्धी मुद्दामा २५ अर्ब अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको हो।

फेसबुक प्रयोगकर्ताको व्यक्तिगत डेटा गोपनीयताबारे कम्पनीले उपभोक्तालाई भ्रमित बनाएको ठहर गर्दै जुरीले दोषी ठहर गरेपछि न्यायाधीश फ्रान्सिस म्याथ्युले बुधबार उक्त जरिवानाको आदेश दिएका हुन्।

न्यु मेक्सिकोका महान्यायाधिवक्ता राउल टोरेजले यो जरिवाना अमेरिकाको इतिहासमै कुनै कम्पनीविरुद्ध लगाइएको सबैभन्दा ठुलो आर्थिक दण्डमध्ये यो एक भएको बताएका छन्। 

यो मुद्दा सन् २०१६ मा राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको अभियानसँग सम्बन्धित बेलायती राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले लाखौँ फेसबुक प्रयोगकर्ताको अनुमतिबिना व्यक्तिगत डेटा संकलन गरेको घटनासँग सम्बन्धित छ।

न्यु मेक्सिकोका महान्यायाधिवक्ताले सन् २०२१ मा मेटाविरुद्ध मुद्दा दायर गर्दै कम्पनीले राज्यका फेसबुक प्रयोगकर्तालाई उनीहरूको डेटा कसको पहुँचमा छ र कम्पनीले त्यसलाई कसरी प्रयोग गरिरहेको छ भन्नेबारे गलत जानकारी दिएको दाबी गरेका थिए।

न्यायाधीश म्याथ्युले आफ्नो आदेशमा मेटाको गलत कार्य वर्षौंसम्म व्यवस्थित रूपमा सार्वजनिक रूपमा फैलिएको र कम्पनीको मुख्य व्यावसायिक अभ्याससँग प्रत्यक्ष जोडिएको उल्लेख गरेका छन्।

राज्यको कानुनअनुसार २१९ अर्ब डलरभन्दा बढी जरिवाना उपयुक्त हुने देखिए पनि न्यायाधीशले त्यसलाई घटाएर २५ अर्ब डलर कायम गरेको रोयटर्सले उल्लेख गरेको छ। 

यसैबिच मेटाले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने भएको छ। 

मेटाका प्रमुख कानुनी अधिकृत सीजे महोनीले अदालतको निर्णयविरुद्ध कम्पनीले सफलता हासिल गर्नेमा विश्वस्त रहेको बताएका छन्।

उनले न्यु मेक्सिको राज्यले लागु गर्न खोजेको नियमले राज्यमा व्यवसाय सञ्चालन गर्न कठिन बनाउने दाबी गर्दै मुद्दाले अनलाइन अभिव्यक्तिमा नयाँ नियम लागु गर्ने प्रयास गरेको जिकिर गरेका छन्। 

तर न्यु मेक्सिकोका महान्यायाधिवक्ता टोरेजले यो फैसला प्रविधि कम्पनीहरूलाई उपभोक्ताको अधिकार र गोपनीयताप्रति जिम्मेवार बन्न स्पष्ट चेतावनी भएको बताएका छन्।

टोरेजले अल्बुकर्कमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘ठुला प्रविधि कम्पनीलाई जवाफदेही बनाउने काम लामो समयदेखि आवश्यक थियो।’

फैसलाले विगतका अभ्यासबाट स्पष्ट रूपमा नयाँ चरण सुरु भएको संकेत गरेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर