आज इरानमाथि हमला हुनसक्ने ट्रम्पकाे चेतावनी
एजेन्सी। अमेरिकाले आज इरानमाथि हमला गर्न सक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। शनिबार उनले आइतबार इरानमाथि हमला हुन सक्ने बताएका हुन्। अमेरिकाले इरानलाई कहिल्यै पनि परमाणु हतियार बनाउन नदिने सुनिश्चित गर्न चाहेको उनले बताए।
फ्लोरिडामा मध्यावधि निर्वाचनका लागि मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। उनका अनुसार इरान सम्झौता गर्न चाहन्छ, तर उसले सम्झौताका सर्तहरू पालना गर्छ भन्नेमा विश्वास गर्न सकिने अवस्था छैन।
अमेरिकाले इरानमाथि हमला गर्छ कि गर्दैन भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भने, 'के तपाईंलाई साँच्चै लाग्छ, म तपाईंलाई यो कुरा बताउँछु? सायद भोलि... हमला हुने सम्भावना छ। हामीबीच राम्रो, ठूलो र शानदार सम्झौता पनि हुन सक्छ।'
ट्रम्पले अमेरिकी सेनाको प्रशंसा गर्दै अमेरिकी सेनाले इरानका सबै लडाकु विमान खसालेको र २५९ वटा जहाज समुद्रमा डुबाएको दाबी गरेका छन्।
'हाम्रो सेना र नौसेनाले शानदार काम गरेका छन्। उनीहरूले इरानका सबै लडाकु विमान नष्ट गरेका छन्। अब इरानमा केवल कीर्तिमानी महँगी मात्रै बाँकी छ,' ट्रम्पले भने।
युद्ध अन्त्य गर्ने समयसीमाबारे ट्रम्पले यसअघि पनि फरक–फरक अभिव्यक्ति दिँदै आएका छन्। अक्टोबरको सुरुवातमा उनले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकाले इरानमाथि हमला नगर्ने बताएका थिए।
यी निर्वाचनबाट अमेरिकी संसद्का दुवै सदनमा कुन पार्टीको नियन्त्रण रहने भन्ने तय हुनेछ।
‘द न्युयोर्क टाइम्स’ ले अक्टोबर २१ मा प्रकाशित गरेको समाचारअनुसार अमेरिकी र इजरायली सेनाले मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः हमला गर्ने योजना बनाएका छन्।
इरानले अमेरिकी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र गरिरहेको अमेरिकी अधिकारीहरूले आशंका गरेका छन्। मध्यपूर्व र अमेरिकामा रहेका अधिकारीहरूलाई निशाना बनाउने तयारी भइरहेको हुन सक्ने अमेरिकी गुप्तचर अधिकारीहरूको आकलन छ।
अमेरिकी गुप्तचर निकायकी निर्देशक जे क्लेटनले अक्टोबर २३ मा विदेशमन्त्री मार्को रुबियोलाई पठाएको ज्ञापनपत्रमा इरानले अमेरिकी अधिकारीहरूलाई निशाना बनाउने प्रयास तीव्र पारेको उल्लेख गरेकी छन्।
‘द न्युयोर्क टाइम्स’ को रिपोर्टअनुसार दुई देशबीच बढ्दो तनावका कारण सानो घटनाले पनि ठूलो युद्धको रूप लिन सक्छ। अर्कोतर्फ, अमेरिकाले इजरायलसँग मिलेर आफूमाथि पुनः ठूलो हमला गर्न सक्ने डर इरानलाई पनि छ।
निर्देशक जे क्लेटनले ज्ञापनपत्रमा इरानबाट अमेरिकी नागरिकहरूको हत्या गर्ने षड्यन्त्र उन्नत चरणमा पुगेको उल्लेख गरेकी छन्। अमेरिकी अधिकारीहरूले मध्यपूर्वमा रहेका अमेरिकी राजदूत तथा अमेरिकाभित्रै रहेका अधिकारीहरूलाई इरानले निशाना बनाउन सक्ने आशंका गरेका छन्।
रिपोर्टमा इरानको ‘युनिट ८४०’ को पनि उल्लेख गरिएको छ। उक्त इकाइले विश्वका विभिन्न स्थानमा अपहरण तथा हत्या गर्ने प्रयास गरेको आरोप लाग्दै आएको छ।
यद्यपि, इरानका यस्ता केही प्रयास असफलसमेत भएका छन्। यसअघि हत्याका लागि पठाइएका केही व्यक्ति आफ्नो लक्ष्यसम्म पुग्नुअघि नै पक्राउ परेका थिए।







प्रतिकृया दिनुहोस