• २०८३ कार्तिक १० सोमबार
  • Monday, 26 October, 2026

एनपिएल सुरु हुने दिनमै किन स्वदेश फर्किए पाकिस्तानी कप्तान?

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न काठमाडौं आइपुगेका पाकिस्तानको टी–२० टोलीका कप्तान साहिबजादा फरहान स्वदेश फर्कने भएका छन्।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले उनलाई फिर्ता बोलाएपछि कर्णाली याक्सबाट खेल्ने तयारीमा रहेका फरहान आजै पाकिस्तान फर्कने तयारीमा छन्।

कर्णाली याक्सका एक अफिसियलका अनुसार फरहानलाई पिसबीले इमेलमार्फत फिर्ता बोलाएको हो। उनी दुई दिनअघि मात्रै एनपिएल खेल्न नेपाल आइपुगेका थिए।

पिसिबीले फरहानसहित एनपिएलमा सहभागी हुने पाकिस्तानी खेलाडीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिन अस्वीकार गरेपछि उनीहरूको सहभागिता अन्योलमा परेको थियो।

यसअघि पिसिबीले एनओसीका लागि प्रत्येक खेलाडीसँग २५ हजार अमेरिकी डलर मागेको समाचार सार्वजनिक भएको थियो। उक्त रकम कर्णाली याक्स र फरहानका एजेन्टले आधा–आधा बेहोर्ने सहमति भएको बताइएको थियो।

तर, श्रीलंकाविरुद्धको एकदिवसीय शृंखलाका लागि पाकिस्तानी टोलीमा समावेश गरिएको भन्दै पिसिबीले इमेल पठाएपछि फरहान स्वदेश फर्कन लागेका हुन्।

कर्णाली याक्सका अफिसियलका अनुसार श्रीलंकाविरुद्धको खेलपछि फरहान पुनः नेपाल फर्कने सम्भावना पनि छ। त्यसका लागि पिसिबीसँग निरन्तर छलफल गरिनेछ।

फरहान फर्कने तयारीमा रहे पनि कर्णाली याक्सले अर्का पाकिस्तानी खेलाडी हुसेन तलातलाई भने फिर्ता पठाउन चाहेको छैन। तलातको एनपिएल सहभागिताबारे पिसिबीसँग संवाद भइरहेको कर्णालीका अफिसियलले बताएका छन्।

पिसिबीले पाकिस्तानी खेलाडीलाई एनओसी नदिने निर्णय गरेपछि एनपिएलमा उनीहरूको सहभागिताबारे प्रश्न उठेको थियो। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि एनओसीबिना विदेशी खेलाडीले प्रतियोगिता खेल्न नपाउने स्पष्ट पारेका थिए।

एनओसी रोक्नुको कारणबारे शुल्कको चर्चा रहे पनि पिसिबीले लिखित रूपमा २५ हजार डलर मागेको हो वा होइन भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

एनपिएल आजदेखि सम्म कठमाडौंमा सञ्चालन हुँदैछ। प्रतियोगितामा सहभागी हुन फरहानसहितका पाकिस्तानी खेलाडी अनुबन्ध भएका थिए। तर, पिसिबीको निर्णयले उनीहरूको सहभागितामा अनिश्चितता थपेको छ।

फरहान श्रीलंकाविरुद्धको खेलपछि नेपाल फर्कन पाउने वा नपाउने भन्ने विषय भने पिसिबीसँगको छलफलपछि मात्रै स्पष्ट हुनेछ।

एनपिएलमा सहभागी हुने पाकिस्तानी खेलाडीको सूचीमा पाकिस्तानका टी-२० कप्तान साहिबजादा फरहान र तलातसहित हैदर अली, हुनेन शाह, इफ्तिखार अहमद, हसन अली र उसामा मिर छन्।

यीमध्ये कुनै पनि खेलाडी एनपिएल सञ्चालन हुने मितिसँग जुध्ने पाकिस्तानको राष्ट्रिय टोलीको कार्यक्रममा समावेश छैनन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर