बिचाैलियाले रास्वपाका सांसद,प्रधानन्यायाधीश र न्यायाधीशसँग साँठगाँठ गरेकाे भेटियाे
काठमाडौँ । थुनामा रहेका ईनम सापकोटासँग सर्वोच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश हरिप्रसाद फुयालसँग सम्बन्ध र कारोबार देखिने विवरण सार्वजनिक भएका छन् । रास्वपा सांसद विश्व पोखरेलसमेत उक्त विवादमा जोडिएको विवरण सार्वजनिक भएका छन् । बिचौलिया सापकोटाको बहालवाला न्यायाधीश फुयालसँग सर्वोच्चमा विचाराधीन एक मुद्दाका विषयमा कुराकानी भएको सार्वजनिक विवरणमा उल्लेख छ ।
नयाँ पत्रिका दैनिकले बिहीबार फुयालसँगको कुराकानीको विवरण सार्वजनिक गरेको छ । फुयाल र सापकोटाबीचको ह्वाट्सएप म्यासेज विवरण सार्वजनिक गरेको हो । उक्त संवादमा सुरुमा सापकोटाले रोहित अग्रवालको बन्दीप्रत्यक्षीकरणको निवेदनको स्क्रिनसट पठाएको देखिन्छ । त्यसपछि उनले गुड मर्निङ भन्दै ‘यसलाई रोक्नु है हजुर, यसमा प्रधानमन्त्रीको पनि चासो छ, खारेज नै गर्दिनु होला’ भनेर म्यासेज गरेका छन् । लगत्तै उनले ह्वाट्सएपमा फोन गरेका छन् ।
उक्त फोन नउठेपछि फुयालले जवाफी सन्देश लेखेको देखिन्छ । सापकोटाको ‘मिस्ड कल’को जवाफ दिँदै न्यायाधीश फुयालले लेखेका छन्, ‘मैले यो ढिलो देखेँ । उनलाई (रोहित गुप्ता) छाड्नुपर्ने आधारै रहेछ । हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ । गोल्छालाई (शेखर गोल्छा) एक करोड मागिएको रहेछ ।’ गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्चको वेबसाइटको लिंक पनि उनले सापकोटालाई म्यासेज गरेका छन् । त्यसपछि फुयालले भोलिपल्ट हिमालयन होटलमा भेट्ने प्रस्ताव गरेका छन् । जवाफमा सापकोटाले ‘हुन्छ’ भनेका छन् ।
यो विवाद विशेष अदालत हुँदै सर्वोच्च पुगेको थियो । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले फिक्सर दीपक भट्ट समूहविरुद्ध मुद्दा दायर गरेको थियो । विशेषले साउन २८ गते गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । लगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च पुगेको थियो । विशेष अदालतको निर्णय उल्ट्याउँदै फुयाल र अर्का न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले १७ भदौमा गुप्तालाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।
उक्त विवरण सार्वजनिक भएपछि बिहीबार बिहान सम्पर्कमा आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले भने फुयालले कुराकानी गरेको स्वीकार गरेका छन्, तर रकम लेनदेन भएको बारे उनीहरूले बिना प्रमाण टिप्पणी गर्न नमिल्ने बताए । ‘सापकोटाले प्रस्ताव गरेअनुसार सर्वोच्चको संयुक्त इजलासले रिट खारेज गरेको देखिँदैन । दुई करोड धरौटी लिएको देखिएकाले सापकोटाले भनेअनुसारको काम फुयालले गरेको देखिँदैन,’ एक न्यायाधीशले भने, ‘तर सार्वजनिक भएको विवरणअनुसार विवादास्पद व्यक्ति सापकोटा र न्यायाधीश फुयालबीच कुराकानी भने हुँदो रहेछ भन्ने स्पष्ट देखिन्छ ।’
फुयाल र सापकोटाबीचको कुराकानी बाहिरिएसँगै प्रधानन्यायाधीश शर्माको नाममा रकम जम्मा भएको अर्को एउटा विवरण पनि सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरणअनुसार प्रधानन्यायाधीश शर्मा र रास्वपाका सांसद तथा तत्कालीन नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको नाममा अमेरिका र नेपालका बैंकमा घुस रकम जम्मा भएको देखिन्छ । जनवरी, नोभेम्बर र डिसेम्बर तीन महिनाको गरेर जम्मा १ लाख ९८ हजार ३ सय ३३ रकम उल्लेख छ ।
रकमको तलतिर मनोजकुमार शर्मा (चिफ जस्टिस), ओखलढुंगाबाट निर्वाचित सांसद तथा पूर्वएआईजी विश्वराज पोखरेल (ओखलढुंगा) र सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालको नाम उल्लेख छ । ईनमसँगको सूचना आदानप्रदान गरेको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सरकारले बर्खास्तसमेत गरिसकेको छ । पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएका बेला दाहाल राति नै भेट्न पुगेका थिए ।
प्रधानन्यायाधीश शर्मा, सांसद पोखरेल र एआईजी दाहाललाई जम्मा गर्ने भनिएको उक्त रकम अमेरिकामा रहेका ईनम सापकोटाका आफन्त नीराजन पाण्डेको नाममा रहेको बैंक अफ अमेरिकाको खातामा जम्मा गर्नु भनेर खाता नम्बरसमेत उपलब्ध गराइएको देखिन्छ । ईनमले उक्त रकम जम्मा गर्न भनी पठाएको सन्देशमा नेपालमा जम्मा गर्नुपर्ने भए ईनमकी श्रीमती कविता पाण्डेको सानिमा बैंकको खातामा जम्मा गर्नुपर्ने विकल्पसमेत दिइएको उल्लेख छ । उक्त सन्देशमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबको सरकारी छापसमेत लगाइएको देखिन्छ ।
यी विवरण सार्वजनिक भएलगत्तै न्यायाधीशहरू फेरि विवादमा तानिएका छन् भने अन्यत्र पनि यसको तरंग देखिएको छ । हालसम्म दुवै न्यायाधीशले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । बिचौलिया सापकोटा भने थुनामा छन् । यी दुवै विवरण सापकोटाको मोबाइल नियन्त्रणमा लिएपछि सार्वजनिक भएको देखिन्छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा दिने भन्दै ११ असोजमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएपछि न्यायालयभित्र विभिन्न विवाद देखिएका छन् । बिचौलिया ईनम सापकोटालाई पनि ११ असोजमा पक्राउ गरिएको थियो । सापकोटा र उच्चपदस्थ अधिकारीहरूबीच भएको कुराकानीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।







प्रतिकृया दिनुहोस