जनकपुरको दोस्रो जित, पोखराको दोस्रो हार
काठमाडौं । ओपनर तृतराज दासको अर्धशतक र मोइन अलीको घातक बलिङमा जनकपुरले बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ।
आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा भने काठमाडौँलाई ८ विकेटले हराएको थियो।
तीन खेलमध्य १ मा हार र २ जित निकालेको जनकपुरले अंक तालिकामा ४ अंक जोडेको छ।
जनकपुरले दोस्रो जित निकालेको दिन पोखराले भने लगातार दोस्रो हार व्यहोरो छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको हो।
जनकपुरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३८ रन मात्र बनाउन सक्यो।
पोखरालाई कम स्कोरमा रोक्न जनकपुरका मोइन अलीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र १३ रन खर्चेर ३ विकेट लिए।
सैफ हसन र हरमित सिहंले समान २ विकेट लिए। जिम्मी निसम र ललित राजवंशीले समान एक विकेट लिए। पोखराविरुद्धको खेलमा राहुल यादव भने विकेट विहिन रहे।
कप्तान कुशल भुर्तेलले बनाएको ३५ रन नै पोखराका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा ५ चौका सहयोगमा ३५ रन बनाउँदा ललितको बलमा अविशेक तिवारीको हातबाट क्याच आउट भए।
५ बलमा २ चौका र १ छक्का हानेका किरण ठगुन्ना १५ रन बनाउँदा हरमितको बलमा एलबीडब्लु धरापमा परे।
चमिका करुनारत्ने ४ रन बनाउँदा हरमित सिंहको बलमा कट एण्ड बोल्ड भए। सकिब अल हसनले ९, मेहदी हसनले ८, अजुर्न घर्ति ७ रन बनाउँदै पेभेलियन फर्के। ओपनर दिनेश खरेल ३, मोहम्म्द सैफुद्दिन शुन्य रनमा नै आउट भए।
विपिन आचार्य र विपिन खत्रीले पोखराको इनिङ्स सम्हाल्ने प्रयास गरेपनि टोलीको हार टार्न सकेनन्। विपिन आचार्य २० रन बनाउँदा जिम्मी निसमको बलमा क्याच आउट भए। खत्री १६ रनमा अविजित रहे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको थियो।
जनकपुरका लागि ओपनर तृतराजले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र २ छक्का हान्दा मेहदी हसनको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। उनले ४९ बलमा ६ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।
एनपीएलमा तृतराजले हानेको यो छैटौँ अर्धशतक हो। यसअघि सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्दसिंह ऐरि र लोकेश बमले अर्धशतक हानेका थिए।
अर्का ओपनर मोइन अली २१ रन बनाउँदा सकिब अल हसनको बलमा क्याच आउट भए। उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
जिम्मी निसम ११ रनमा क्याच आउट भए। कप्तान हरमित सिंह र अनिल शाह समान ९ र सैफ हसनले १ रन थप्दै पेभेलियन फर्के। अविशेक तिवारी २४ रनमा अविजित रहे।
पोखराका लागि सकिबले ३ विकेट लिए। मौहम्मद सैफुदिन र चमिका करुणारत्नेले समान एक विकेट आफ्नो नाममा गरे। मेहदी हसनले आफ्नो स्पेलमा १ मेडन राख्दै २४ रन खर्चेर १ विकेट लिए।
एनपीएलमा सोमबार २ खेल हुनेछ। दिनको पहिलो खेलमा काठमाडौँ गोखार्ज र कर्णाली याक्स खेल्नेछन्। सो खेल मध्यान्ह साढे १२ बजे सुरु हुनेछ।
दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्ने तालिका छ। सो खेल साँझ ५ बजे सुरु हुनेछ।







प्रतिकृया दिनुहोस