• २०८३ कार्तिक १७ मंगलबार
  • Tuesday, 3 November, 2026

एनपीएलमा आज दुई खेलः विराटनगर शीर्ष स्थानमा पुग्न पनि सक्छ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

जनकपुर र लुम्बिनीसँग शीर्ष स्थानमा पुग्ने अवसर रहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ । जनकपुर पहिलो ३ खेलमा २ जितका साथ शीर्ष स्थानमा रहेको छ । विराटनगरको ३ खेलमा २ हार र एक जित रहेको छ ।

जनकपुरले विराटनगरसँग खेल जित्न नसकेको खण्डमा लुम्बिनी सामु दोस्रो खेलमा शीर्ष स्थानमा पुग्ने मौका आउनेछ । लुम्बिनीको २ खेलमा ३ अंक रहेको छ । जनकपुर हारेको खण्डमा लुम्बिनीले आफ्नो खेल जित्दा ५ अंक हुनेछ र टोली कर्णाली याक्स एवं जनकपुरलाई उछिन्दै शीर्ष स्थानमा उक्लनेछ ।

जनकपुरमाथि विजय हात पारेमा तथा लुम्बिनीलाई पोखराले पराजित गरेमा विराटनगर शीर्ष स्थानमा पुग्नेछ । पोखरा पहिलो दुवै खेलमा पराजित रहेको छ ।

विराटनगर किंग्सका वेस्ट इन्डिजका खेलाडी एन्ड्रे रसेल र जनकपुर बोल्ट्सका मोइन अलीका लागि एनपीएलको यो सिजनमा अन्तिम खेल हो । दुवै जना अबुधाबी टी–१० खेल्न यूएई लाग्दै छन् । मोइनको कप्तानीमा रसेल अरेबियन एसेसमा एकै टोलीमा रहेका छन् ।

जनकपुरले मोइनको स्थानमा रायन बर्ललाई टोलीमा समावेश गरेको घोषणा गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर