सरकारका कामप्रति रवि असन्तुष्टः भन्छन् पुलिस हातमा छ भन्ने दम्भ त्याग्नुपर्छ
चितवन । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको नेतृत्वमा पुगिसकेपछि उच्च राजनीतिक चरित्र देखाउनुपर्ने बताएका छन् । निर्वाचनमार्फत जनताले मुलुकको जिम्मा रास्वपालाई लगाएको भन्दै अब पार्टीका नेता र कार्यकर्ताले उच्च राजनीतिक चरित्र देखाउनुपर्ने सभापति लामिछानेको भनाइ थियो ।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा सभापति लामिछानेले समाजले देखाएको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् । जनताले पार्टी र सरकारले गरिरेका कामको विश्लेषण गरेर धारणा राखिरहेको हुनाले सोहीअनुसार अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 'हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ । विश्लेषण गर्ने समाजमाथि जाई लाग्नु सहि बाटो हुँदैन । समाजले हामीलाई ऐना देखाएको छ, ऐनाले हाम्रो अनुहार देखाएको छ, आफ्नो अनुहार देखाएपछि ऐना देखाउने तिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,' सभापति लामिछानेले भने, 'अब हामीले त्यो राजनीतिक चरित्रबाट माथि उठ्नु पर्नेछ किनकि मुलुक हाम्रो जिम्मा जनताले लगाइसकेपछि अब हामी त्यो उच्च राजनीतिक चरित्र जुन अपेक्षा गरिएको छ, त्यो अपेक्षामा खरो उत्रिनु पर्नेछ ।'
जनताले गरेको अपेक्षाअनुसार नेतृत्व खरो उत्रिएको छ कि छैन ? भन्ने प्रश्न पनि सभापति लामिछानेले गरे । सभापति लामिछाने प्रश्न गरे, 'तर, हामी खरो उत्रिएका छौ ? जनताले १८२ सिट दिएको छ, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौ, टुप्पिएका छौ ।'
पार्टीका नेताहरू यसरी जान नहुने भन्दै सभापति लामिछानेले थपे, 'यसरी हुँदैन, यसरी हुँदैन । माथिदेखि तलसम्म हामी यति मातिएका छौं, हामी यति चढेका छौं, हामीले मान्छेलाई मान्छे गनेका छैनौं ।'
विगतमा रास्वपामा लाग्नेहरूमाथि तत्कालीन सत्ताबाट प्रताडना भएको सभापति लामिछानेको भनाइ थियो । तर त्यसको बदला लिनका लागि आजको दिनमा प्रशासन र प्रहरी दुरुपयोग गर्न नहुने उनको भनाइ थियो । प्रतिशोधको भावनाले अगाडि बढ्ने हो भने समस्या हुने उनले बताए । 'हिजो कोही नहुँदा, एक्लै घण्टी बोकेर हिँड्दा हामी माथि कति धेरै अपमान भएको थियो । हाम्रा साथीहरूलाई कयौं मुद्धाहरू लागेका छन् । सिफारिस पाएका छैनन् । व्यापार, व्यवसाय गर्ने साथीहरूको पसल बन्द गराउने, मुद्धा लगाइदिने, अनुगमनको नाममा दुःख दिने काम हिजो भएको छ,' सभापति लामिछानेले भने, 'तर, त्यसको बदला लिनको लागि आज हामीले म त घण्टीको मान्छे हुँ, म त रास्वपाको मान्छे हुँ भन्दै प्रशासन, प्रहरीलाई राजनीतिक दबाब दिने काम गर्यौं भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन । त्यसकारणले हामीले भुइँ टेक्नुपर्छ, भइँ छोड्नु हुँदैन ।
जनताले रास्वपाका गतिविधि हेरिरहेको पनि सभापति लामिछानेको भनाइ थियो । 'जनतालाई असहज लाग्ने हाम्रा गतिविधिहरू स्वीकार्य हुँदैन किनभने जनताले अत्यधिक मत दिएर पठाएको भनेको हामीलाई ठालु पल्टनका लागि होइन अझ बढी सेवा गर भन्नका लागि हो,' लामिछानेले भने ।
जनताले दिएको अभिमतलाई दुरुपयोग गर्न नहुने पनि सभापति लामिछानेको भनाइ थियो । सभापति लामिछानेले भने, 'म तपाईहरूलाई स्पष्टताका साथ के बताउन चाहन्छु भने- साथी हो, जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ । जब तपाईलाई सर्वाधिक शक्ति मिल्दछ त्यतिबेला नै तपाईंले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति, आफ्ना क्रियाकलाप सहयोग गर्न जरुरी हुन्छ, इतिहासले त्यो माग्छ। यो होइन कि आज हामी ठूलो पार्टी भयौं हाम्रा हातमै पुलिस छन्, हाम्रा हातमै सिडीओ छन्, हाम्रा हातमै सबै छन् भन्ने त्यो दम्ब त्याग्नुपर्छ ।' पार्टीभित्रको एकता कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ थियो ।






प्रतिकृया दिनुहोस