• २०८३ कार्तिक २२ आइतबार
  • Sunday, 8 November, 2026

ममताको शव टुक्रा पारेर फालेको स्वीकार गरेका नरेशले बयानमा के के भने?

काठमाडौं । अमेरिकाको भर्जिनियामा ममता काफ्लेको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा–टुक्रा पारेको र फोहोरका झोलामा राखेर फालेको बिहीबार अदालतमा स्वीकार गरेका छन् । उनले ममताको हत्या गरेको आरोप भने अस्वीकार गरेका छन् । ममताले आत्महत्या गरेको उनको दाबी छ ।

प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा बयान दिँदै ३९ वर्षीय भट्टले ३० जुलाई २०२४ आसपास मानासस पार्कस्थित घरको शयनकक्षमा ममतालाई अचेत अवस्थामा फेला पारेको बताएका छन् । उनका अनुसार ममताको नजिकै चक्की मिसिएको बान्ता र कीटनाशकको खुला भाँडो थियो । ममतालाई बचाउन करिब एक घण्टासम्म प्रयास गरेको उनको भनाइ छ । त्यतिबेला आफू आत्तिएकाले प्रहरीलाई खबर नगरेको उनले तर्क गरेका छन् ।

भट्टले ममताको मृत्युको सूचना लुकाएको र त्यसको भोलिपल्टसम्म आराले शव टुक्य्राएर फोहोरका झोलामा राखी फालेको बताएका छन् । तर उनको यो बयान घटनापछि प्रहरीलाई दिएको जानकारीभन्दा फरक छ । त्यतिबेला उनले ममता घर छाडेर गएको र सम्भवतः न्युयोर्क वा टेक्सस पुगेको बताएका थिए ।

भट्टले ३० जुलाई २०२४ आसपास ममताको हत्या गरी शव टुक्रा–टुक्रा पारेको र उत्तरी भर्जिनियाका विभिन्न स्थानमा फालेको अभियोजन पक्षले दाबी गरेको छ । भट्टमाथि प्रथम श्रेणीको हत्या, मृत शरीरको अपमान र शव लुकाएको अभियोग छ । उनले तीनै अभियोगमा आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

ममताको शव अहिलेसम्म फेला परेको छैन । त्यसैले मुद्दाको मुख्य प्रश्न उनको मृत्यु आत्महत्याका कारण भएको थियो कि हत्या गरिएको थियो भन्ने बनेको छ ।

भट्टले अदालतमा के भने ?
४ नोभेम्बरमा प्रतिरक्षा पक्षका पहिलो साक्षीका रूपमा बयान दिने क्रममा भट्टले दोभासेमार्फत आफ्नो बाल्यकाल, फेसबुकबाट ममतासँग भएको चिनजान र वैवाहिक सम्बन्धबारे बताए । छोरी जन्मिएपछि ममता एक्लिन थालेको र आफूहरूबीच सम्बन्ध बिग्रँदै गएको उनको भनाइ थियो ।

झगडाका क्रममा आफूले सम्बन्धविच्छेद गर्ने र ममताले आत्महत्या गर्ने धम्की दिने गरेको उनले बताए । आफूले ममतालाई शारीरिक दुर्व्यवहार नगरेको उनको दाबी थियो । आफ्नो सरकारी जागिर जोखिममा पर्न सक्ने डरका कारण ममताले परिचयपत्र लगेको विषयमा प्रहरीमा उजुरी गर्दा आफू आक्रोशित भएको उनले बताए ।

अभियोजन पक्षले प्रस्तुत गरेको कोलम्बियन महिलासम्बन्धी सन्देशबारे पनि उनले स्पष्टीकरण दिए । नयाँ सम्बन्ध खोजेको नभई ममतालाई ईर्ष्यालु बनाउन त्यस्ता सन्देश पठाएको उनको दाबी थियो ।

५ नोभेम्बरमा अभियोजन पक्षका वकिल म्याथ्यु स्विटले प्रतिपरीक्षण सुरु गर्दै भट्टलाई झूट बोलेको आरोप लगाए । भट्टले ममताका आफन्त, साथी, छिमेकी र प्रहरीलाई झूट बोलेको स्वीकार गरे । तर हत्या गरेको अस्वीकार गरे ।

ममताले डिसेम्बर २०२३ मा भट्टलाई पठाएका चोट लागेको अनुहार र रगत देखिएको हातका तस्बिर पनि अभियोजन पक्षले प्रस्तुत गर्‍यो । ममताले ‘यो दोस्रो पटक हो’ भनेको भिडियो सुनाइयो । त्यसको जवाफमा भट्टले ‘म सम्बन्धविच्छेदका कागजमा हस्ताक्षर गर्छु, फेरि यस्तो चाहन्नँ’ लेखेका थिए ।

अभियोजन पक्षका प्रमुख प्रमाण के हुन् ?
आरा र डीएनए : होम डिपोका सुरक्षा अनुसन्धानकर्ता मार्क हर्नान्डेजका अनुसार २ जुन २०२४ मा फेयरफ्याक्सस्थित पसलबाट रयोबी ब्रान्डको आरा, ब्लेड र ब्याट्री किट खरिद गरिएको थियो । सीसीटीभीमा भट्टजस्तै देखिने व्यक्ति ती सामान बोकेर गएको देखिन्छ ।

बगैंचाको काम गर्ने जोसे बाराजास आयालाका अनुसार भट्टले १ अगस्टमा ज्यालाका रूपमा दुई अतिरिक्त ब्याट्री र चार्जरसहितको आरा दिएका थिए । उनले ती सामान ९ सेप्टेम्बरमा प्रहरीलाई बुझाएका थिए ।

अनुसन्धानकर्ताले आरामा रगतजस्तो देखिने रातो–खैरो दाग र कपालजस्ता रेसा फेला पारेका थिए । भर्जिनियाको फरेन्सिक प्रयोगशालाकी वैज्ञानिक लोअरी प्रुघका अनुसार आराको भित्री भागबाट लिइएको नमुनासहित परीक्षण गरिएका केही सामग्रीमा भेटिएको डीएनए ममताको डीएनए प्रोफाइलसँग मेल खान्छ । भट्ट र उनकी छोरीको डीएनए भने त्यसमा देखिएन ।

ममताको प्रत्यक्ष नमुना नभएकाले घरमा भेटिएको कपाल कोर्ने ब्रसबाट उनको डीएनए प्रोफाइल तयार पारिएको थियो । भट्ट पक्षले उक्त ब्रस ममताकै हो भन्ने पुष्टि नभएको तर्क गरे पनि पूर्वफरेन्सिक वैज्ञानिक क्याथरिन कोलम्बोले त्यसमा भेटिएको डीएनए दम्पतीका छोरीकी आमाको भएको सम्भावना ९९.९९९९ प्रतिशत रहेको बताइन् ।

शयनकक्षको कार्पेटमा भेटिएको दागको डीएनए परीक्षणले पनि ममता र उनकी छोरीको डीएनए मिश्रणसँग बलियो मेल देखाएको वैज्ञानिक सुसन ग्रिन्सपुनले बताइन् । तर डीएनएले कार्पेटमा रगत कसरी पुग्यो भन्ने खुलाउन नसक्ने उनको भनाइ छ । आरामा भेटिएका तीन वटा कपालको पहिचान भने खुलेको छैन ।

फोन र गाडीको विवरण : एफबीआईका विशेष एजेन्ट टिमोथी जुडाह पेन्टका अनुसार भट्टको मोबाइल र टेस्ला गाडी प्रायः एउटै स्थानमा देखिन्थे । १ अगस्टमा गाडी च्यान्टिलीस्थित लिबर्टी ग्यास स्टेसननजिक पुगेका बेला भट्टको फोन नेटवर्कबाट बाहिर थियो । त्यही समयमा ममताको फोन पनि त्यस क्षेत्रको मोबाइल टावरमा जोडिएको थियो । अभियोजन पक्षका अनुसार त्यसपछि उनको फोन नेटवर्कमा जोडिएको छैन ।

कारम्याक्सका एक प्रबन्धकले भट्टले सन् २०२४ अगस्ट १६ मा भट्ट दम्पतीको नाममा रहेको टेस्ला कार बेचेको बयान दिएका थिए । सुनुवाइको ११ औं दिन उक्त टेस्ला कारलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको थियो । तस्बिर : ७ न्युजको सौजन्य

भट्टले त्यही दिन ग्यास स्टेसननजिकको कपडा दान गर्ने स्थानमा झोला छाडेको अभियोजन पक्षले दाबी गरेको छ । प्रहरीले त्यहाँबाट बरामद गरेको एउटा झोलामा सेतो बाथ म्याट भेट्टाएको थियो । त्यसमा रगत भएको परीक्षणबाट पुष्टि भएको थियो ।

खरिद र इन्टरनेट खोजी : पसलका कर्मचारीले ३० जुलाईको बिहान भट्टले मानाससस्थित होम डिपोमा पञ्जाको मूल्य सोध्दै गरेको र लिडल स्टोरमा ४० वटा फोहोरका झोला किनेको दृश्य पहिचान गरेका थिए । ३१ जुलाईमा फेयरफ्याक्सको वालमार्टमा उनले कार्पेट सफा गर्ने सामग्री र अन्य सरसफाइका सामान किनेको देखिएको थियो ।

प्रहरीको डिजिटल अनुसन्धानमा भट्टको फोनमा ‘श्रीमती हराइन् भने के हुन्छ’ भन्ने खोजी मार्च २०२४ मै गरिएको भेटिएको थियो । ३० जुलाईमा ‘मानव मस्तिष्कको चित्र’ र ‘आफूनजिकै कुखुरा फार्म’ खोजिएको थियो । उनको सरकारी कामसम्बन्धी खाताबाट श्रीमतीको मृत्युपछि अर्को विवाह गर्न कति समय लाग्छ भन्ने खोजी पनि भएको बयान अदालतमा आएको थियो । प्रतिरक्षा पक्षले भने धेरै खोजीको समय उल्लेख नभएको तर्क गरेको छ ।

परिवार र साथीहरूले के बताए ?
ममताका भाइ महेश काफ्लेले फेब्रुअरी २०२४ मा बहिनीले अनुहारमा चोट लागेको तस्बिर पठाउँदै आफू दुई दिनदेखि भोकै रहेको र ‘म सुरक्षित छैन’ भनेको अदालतमा बताए । त्यही महिनादेखि ममता र आमाबीच भिडियो कलको सट्टा अडियो कल मात्र हुन थालेको उनको भनाइ थियो ।

पारिवारिक मित्र आशिष संग्रौलाका अनुसार भट्टले वैवाहिक सम्बन्धमा समस्या रहेको बताएका थिए । तर आफूले दम्पतीबीच हिंसा नदेखेको उनको भनाइ थियो । उनकी पत्नी दीपा ओलीका अनुसार भट्टले आफू अब उक्त सम्बन्ध अघि बढाउन नचाहेको बताएका थिए । छिमेकीहरूले पनि भट्टले सम्बन्धविच्छेदको कुरा गर्ने गरेको तर श्रीमती हराएकोबारे कहिल्यै नभनेको बयान दिएका थिए ।

अदालतमा ममताले घरेलु विवादका कारण प्रहरी बोलाएको र १४ फेब्रुअरी २०२४ मा आफ्नै बैंक खाता खोलेको विवरण पनि प्रस्तुत गरिएको थियो ।

मुद्दा कहाँ पुगेको छ ?
अभियोजन पक्षले ८० भन्दा बढी साक्षीको बयान लिएपछि सोमबार आफ्नो पक्षको सुनुवाइ टुंग्याएको थियो । त्यसपछि प्रतिरक्षा पक्षले मुद्दा खारेज गर्न माग गरे पनि न्यायाधीश किम्बर्ली इर्भिङले अस्वीकार गरिन् । अब ९ नोभेम्बरमा भट्टको थप बयान र प्रतिरक्षा पक्षका एक साक्षीको सुनुवाइ हुनेछ । त्यसपछि अभियोजन पक्षले जवाफी साक्षी प्रस्तुत गर्ने अपेक्षा छ । १० नोभेम्बरमा अन्तिम बहस र १२ नोभेम्बरसम्ममा फैसला आउने अनुमान गरिएको छ ।

प्रतिरक्षा पक्षले घटनास्थलमा प्रहरी अधिकारीहरू पञ्जा नलगाई प्रवेश गरेको, प्रयोगशालाले सबै सामग्री परीक्षण नगरेको र नेपाली भाषाका संवादको अनुवादमा त्रुटि हुन सक्ने भन्दै अभियोजन पक्षका प्रमाणमाथि प्रश्न उठाएको छ । सुरुदेखि नै उसले अभियोजन पक्षले प्रमाणभन्दा अनुमानका आधारमा मुद्दा अघि बढाएको तर्क गर्दै आएको छ ।

भट्टको बयान र अभियोजन पक्षको दाबीबीच शव टुक्य्राइएको र फोहोरका झोलामा राखिएको विषयमा समानता छ । तर ममताको मृत्युको कारण र ती झोलामा के थियो भन्नेमा दुवै पक्षको भनाइ फरक छ । अभियोजन पक्षले उनले शवका टुक्रा डम्पस्टर र फोहोर थिच्ने मेसिनमा फालेको दाबी गरेको छ भने भट्टले झोलामा ममताका सामान रहेको बताएका छन् ।

ममताको शव नभेटिएकाले मृत्युको कारणबारे चिकित्सकीय प्रमाण उपलब्ध छैन । आरामा भेटिएका कपाल कसका हुन् र कार्पेटमा डीएनए कसरी पुग्यो भन्ने प्रश्न पनि अनुत्तरित छन् । अब भट्टले नै उनको हत्या गरेको हो भन्ने कुरा अभियोजन पक्षले शंकारहित रूपमा प्रमाणित गर्न सकेको छ कि छैन भन्ने निर्णय अब न्यायाधीशले गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर