• २०८३ कार्तिक २२ आइतबार
  • Sunday, 8 November, 2026

तिहारको दोस्रो दिन कुकुर पूजा र लक्ष्मीपूजा आजै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ ।

आजको दिन बिहान सबेरै नरक चतुर्दशीको स्नान गरी कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा दिई पूजा गरिन्छ भने सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिन्छ ।

आजका दिन सबै नेपालीका घरआँगनमा कुकुरलाई टीका तथा माला पहिर्‍याएर मीठा खानेकुरा दिई सम्मानपूर्वक पूजा गरिन्छ। आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने शास्त्रीय मान्यता छ ।

धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र यमलोकको द्वारपालका रूपमा लिइन्छ। आजको दिन कुकुरलाई सम्मान गर्नाले मृत्युपर्यन्त यमद्वारबाट मार्गप्रशस्त हुने पौराणिक विश्वास छ । द्वापर युगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको देहावसान भएपछि धर्मराज युधिष्ठिरलाई कुकुरले नै स्वर्गको ढोकासम्म पुर्‍याएको शास्त्रमा उल्लेख छ। ऋग्वेदमा पनि कुकुरहरूको आमा ‘समरा’ ले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु भेटाउन सहयोग गरेको प्रसङ्ग छ ।

भैरवको वाहनसमेत मानिने कुकुरलाई सुरक्षाकर्मी, आज्ञाकारी र गुनिलो जनावरका रूपमा लिइन्छ । कुकुरले सुँघेर अपराधी पत्ता लगाउने तथा विनाशकारी प्राकृतिक प्रकोप वा दैवी विपत्ति आउनु अगावै पूर्वसूचना दिने गर्दछ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । नरकबाट मुक्ति पाउनका लागि आज बिहान उज्यालो हुनुअघि शरीरमा तिलको तेल, सुगन्धित द्रव्य र चन्दन लगाएर 'तैलाभ्यङ्ग स्नान' गर्ने विधि छ । यस दिन तिलमा लक्ष्मी र जलमा गङ्गाको बास हुने भएकाले तिलको तेल दलेर स्नान गर्दा सम्पूर्ण पाप नाश भई नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता छ ।

स्नान गर्नुपूर्व ‘सीतालोष्टसमायुक्तः सकण्टकदलान्वित, हरपापमपामार्ग भ्राम्यमाणः पुनःपुन’ मन्त्र उच्चारण गर्दै अपामार्ग वनस्पतिको पातलाई पानीमा डुबाएर शिरमा घुमाउने गरिन्छ । स्नानपछि दक्षिणतर्फ फर्केर सव्य भई यमराजका १४ नाम (यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त) उच्चारण गर्दै प्रत्येक नाममा तीन-तीन अञ्जुली तिलयुक्त जलले तर्पण दिने विधान छ। यसरी तर्पण दिँदा वर्षौँदेखिका पापबाट मुक्ति मिल्ने बताइएको छ। आजको दिन मासको पातको साग खाने, नर्के नुहाउने, दीपदान गर्ने र आलसको बोट बालेर आगो ताप्ने धार्मिक चलन पनि रहेको छ ।

साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा

आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक कृष्ण औँसीको यस रातलाई 'सुखरात्रि' पनि भनिन्छ । सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने जनविश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ । साँझपख आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ। पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा बत्ती बालेर घरलाई झिलीमिली बनाइन्छ ।

दिनभर उपवास बसेर सन्ध्याकालमा स्नान गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मी गरी अष्टलक्ष्मीको आराधना गरिन्छ । यी आठ रूपले जीवनका आठ पक्ष (आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजय) लाई प्रतिनिधित्व गर्दछन् । सूर्यास्तपछि बेलुकी ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभबेला मानिएको छ ।

लक्ष्मीपूजाका लागि कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, तस्बिर, पान, सुपारी तथा रङ्गोलीका रङहरू प्रयोग गरिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर