एनपीएलः पाेखराकाे सान्त्वना जित, काठमान्डु ५५ रनले पराजित
काठमाडाैं । एनपीएल क्रिकेटकाे जारी सिजनबाट बाहिरिएकाे पाेखरा एभेन्जर्सले विशाल स्काेरसहितकाे जित निकालेकाे छ ।
२२५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको काठमान्डु गोर्खाज ५५ रनले पराजित भएको छ । काठमान्डु १६९ रनमै समेटियो । पोखरा एभेन्जर्सविरुद्धको यो खेल जितेको भए १० अंक लिएर काठमान्डु क्वालिफायरमा पुग्ने थियो ।
सुदूरपश्चिम रोयल्ससँग समान १० अंक पुग्दा राम्रो रनरेटमा काठमान्डु अगाडि बढ्ने थियो । तर हारले ८ अंक लिएर तेस्रो स्थानमै रहेको काठमान्डुले प्लेअफमा चितवन राइनोजविरुद्ध खेल्नुपर्नेछ ।
टस जितेर पहिले ब्याटिङका लागि ओर्लेको पोखराले २० ओभरमा ३ विकेट मात्र गुमाएर २ सय २४ रन बनाएको थियाे । प्रतियोगिताको इतिहासमै यो कुनै पनि टिमले खडा गरेको सबैभन्दा ठूलो स्कोर हो ।
यसअघि दोस्रो सिजन विराटनगर किंग्सले पोखराविरुद्ध नै ६ विकेटमा २ सय २० रन बनाएको थियो । यसपल्ट कुशल भुर्तेल शतक बनाउनबाट एक रनले मात्र चुके ।
उनी ९९ रनमा करण केसीकाे बलमा विकेट पछाडि समातिए । कुशलले ५१ बलमा आठ चौका र आठ छक्का प्रहार गरे । प्रतियोगितामा नेपाली ब्याटरको यो सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो । उनी पहिलो शतक बनाउने नेपाली खेलाडी हुनबाट चुके । उनलाई करण केसीले आउट गरे ।
यसअघि लुम्बिनी लायन्सका रोहित पौडेलले पहिलो सिजन ९५ रन बनाएका थिए । कुशलले ओपनर युवराज सामरासँग मिलेर दोस्रो विकेटका लागि १ सय ८६ रनको साझेदारी गरे । युवराज पनि ८९ रन बनाएर आउट भए । उनले भने ५५ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे । धनन्जय लक्षण २ र चामिका करुणारत्ने १९ रन अविजित रहे । काठमान्डुबाट करणले दुई र जहान्दाद खानले १ विकेट लिएका थिए ।
चितवन पनि आजको पहिलो खेलमा कर्णाली याक्ससँग २४ रनले पराजित भएको थियो ।






प्रतिकृया दिनुहोस