मेची–महाकाली यात्राका लागि रविले गरे डा.अमरेशलाई बिदाइ
जनकपुरधाम । मेची–महाकाली यात्राका लागि निस्केका रास्वपाका सांसद डा अमरेशकुमार सिंहलाई पार्टी सभापति रवि लामिछानेले बिदाइ गरेका छन् । जानकी मन्दीर परिसरबाट रविले अमरेशकुमारलाई बिदा गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।
डा. अमरेशकुमारले आजदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्रा गर्न लागेका हुन् ।
त्यस क्रममा सभापति लामिछानेले नागरिकका समस्या बुझ्ने, आवश्यकता पहिचान गर्ने र नीतिगत समाधानको आधार तयार गर्ने कुरामा ध्यान दिन अनुराेध गरेका छन् ।
अमियानले विभिन्न १० बुंदे लक्ष राखेकाे र नागरिकका कुरा सुनेर नागरिककै आवश्यकताका आधारमा नीति बनाउनु रहेकाे नेता सिंहले बताएका छन् । 'मेरो अपेक्षा: यो यात्रा नागरिकलाई भाषण सुनाउनेभन्दा नागरिकका कुरा सुन्ने यात्रा । नागरिकका समस्या नागरिकसँगै बसेर पहिचान गर्ने र समाधानका लागि संसद्, सरकार तथा नीतिनिर्माणको तहसम्म पुर्याउने अभियान बनोस्' उनले भने ।
१. कम बोल्नु, धेरै सुन्नु।
यात्राका क्रममा पर्ने प्रत्येक बस्तीमा नागरिकसँग प्रत्यक्ष संवाद गर्नु। आफ्ना कुरा कम राखेर नागरिकका गुनासा, अनुभव र अपेक्षालाई प्राथमिकता दिनु।
२. उत्पादन, बजारीकरण र आर्थिक समृद्धिमा ध्यान दिनु।
स्थानीय नागरिकले के उत्पादन गर्छन्? उत्पादनको बजारीकरणमा के समस्या छ? स्थानीय अर्थतन्त्र बलियो बनाउन के गर्नुपर्छ? समाधानका उपाय नागरिकसँगै खोज्नुहोस्। उनीहरूको आवश्यकताको पहिचान (Need Assessment) गरी नीतिगत सहयोगका लागि दस्तावेज तयार गर्नु।
३. नागरिकका न्याय र कानुनी समस्याको अभिलेखीकरण गर्नु।
लामो समयदेखि जेल जीवन बिताइरहेका, अन्यायमा परेका वा राजनीतिक तथा प्रशासनिक दबाबका कारण पीडित भएका नागरिकका गुनासा सुन्नुहोस्। तथ्य संकलन गरी कानुनी तथा नीतिगत सुधारका लागि पहल गर्नु।
४. जनजीवनमा प्रभाव पार्ने नीतिगत र सरकारी निर्णय पहिचान गर्नु।
नागरिकको दैनिक जीवन सहज बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले के गर्नुपर्छ? क्याबिनेटबाट कस्ता निर्णय आवश्यक छन्? समाधानका उपाय नागरिकसँगै खोजेर संसद् र सरकारसम्म पुर्याउनु।
५. सीमा क्षेत्रका वास्तविक सामाजिक हिरोहरूलाई सम्मान गर्न।
नेपालको सीमा र सीमावर्ती समाजको संरक्षणमा योगदान पुर्याएका स्थानीय व्यक्ति तथा समुदायको पहिचान गरी सम्मान गर्नुहोस्। सीमामा हुने अवाञ्छित गतिविधिका कारण नेपाली नागरिकले भोग्नुपरेका समस्या पनि अभिलेखीकरण।
६. स्थानीय जीवनशैली र संस्कृतिसँग जोडिनु।
जहाँ पुग्नुहुन्छ, त्यहीँका नागरिकले खाने खाना खानुहोस्, स्थानीय परिवेशमै बस्नु र उनीहरूको जीवनशैली बुझ्नुहोस्। स्थानीय व्यवसाय र समुदायलाई प्राथमिकता दिनु।
७. हिमाल, पहाड र तराईलाई जोड्ने सन्देश दिनु।
भाषण र व्यवहार दुवैबाट भौगोलिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश प्रवाह गर्नुहोस्। विविधताभित्रको एकता र राष्ट्रिय एकतालाई बलियो बनाउनु।
८. प्रहरी प्रशासन र सुरक्षाकर्मीका समस्या बुझ्नु।
विशेषगरी ग्रामीण तथा अस्थायी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीको आवास, सुरक्षा, स्रोतसाधन र मनोबलको अवस्था बुझ्नुहोस्। आफैँ असुरक्षित अवस्थामा रहेका सुरक्षाकर्मीबाट प्रभावकारी सुरक्षा सेवा अपेक्षा गर्न सकिँदैन। उनीहरूको अवस्था सुधार्ने व्यावहारिक योजना तयार गर्नु।
९. महिला, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका आवाज सुन्नु।
राज्यको पहुँचबाट टाढा रहेका नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई प्राथमिकताका साथ अभिलेखीकरण गर्नु। उनीहरूलाई राज्यले अपनत्व र भरोसा दिएको अनुभूति गराउनु।
१०. सम्पूर्ण यात्राको तथ्यगत दस्तावेज तयार गर्नु।
प्रत्येक बस्तीका समस्या, नागरिकका गुनासा, स्थानीय सुझाव, सम्भावना र समाधानका उपायलाई सूक्ष्म रूपमा अभिलेखीकरण गर्नु। काठमाडौं फर्किएपछि ती तथ्य र नागरिकका आवाज संसद् तथा नीतिनिर्माणको तहमा प्रस्तुत गर्नु। काठमाडौं केन्द्रित एलिट वर्गलाई पनि वास्तविक नागरिकका आवश्यकता र भूगोलको यथार्थ बुझाउनु।







प्रतिकृया दिनुहोस