• २०८३ कार्तिक ३० सोमबार
  • Monday, 16 November, 2026

एमालेको राष्ट्रिय भेलामा ३ हजार ४ सय १४  सहभागी हुने

काठमाडाैं । नेकपा एमालेले मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीसम्मका गरी ३ हजार ४१४ जना सहभागी हुने जानकारी दिए।

भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।

एमालेका अनुसार भेलामा संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिसमेत सहभागी हुनेछन्।

भेलाको मुख्य उद्देश्य पार्टीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ कामको कार्यान्वयनबारे छलफल गर्नु रहेको छ।

भेलामा अध्यक्ष ओलीले राजनीतिक अवस्थाबारे सम्बोधन गर्नेछन् भने पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ।

उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारले प्रतिशोधात्मक ढंगले काम गरिरहेको आरोप लगाए। उनले पार्टी अध्यक्ष ओलीमाथि पनि प्रतिशोध साधिएको दाबी गरे।

पार्टी पुनर्गठनको विषयलाई सचिवालयले अपनत्व लिएको बताउँदै उनले आवश्यक समयमा कार्यान्वयन हुने जानकारी दिए। राष्ट्रिय भेलाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउने उनको भनाइ थियो।

पोखरेलले स्थानीय तहलाई एमालेले सधैँ महत्त्व दिँदै आएको उल्लेख गर्दै स्थानीय तहलाई बलियो बनाउने सुरुवात एमालेले गरेको बताए।

राष्ट्रिय भेला स्थानीय तह निर्वाचनको तयारीसँग पनि जोडिएको उनको भनाइ छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर